Logo

जाडो बढेसँगै सर्वसाधारणले बढाए विजुलीको खपत, भारततर्फ निर्यात रोकेर आयात गर्दै नेपाल

जाडो बढेसँगै सर्वसाधारणले बढाए विजुलीको खपत, भारततर्फ निर्यात रोकेर आयात गर्दै नेपाल



काठमाडौं । सुक्खायाम अर्थात हिउँद सुरु भएसँगै नेपालमा बिजुलीको मागमा वृद्धि भएको छ । सर्वसाधारणले जाडो भगाउन एसी, हिटरलगायतका उपकरणको उपयोग बढाएसँगै नेपालमा बिजुलीको माग पनि बढेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार करिव १ हप्ता अघिसम्म मात्रै १५ सय मेगावाट आसपास पुगेको नेपालको बिजुलीको उच्चतम माग हालै बढेर १७ सय बढी पुगेको छ । अर्थात नेपालमा विजुलीको उच्चतम माग १ हप्तामै २ सय मेगावाट बढीले वृद्धि भएको हो ।

laxmi

पछिल्लो समय सर्वसाधारणले घरघरमा हिटरलगायतका उपकरणहरु प्रयोग बढाउँदा यसका असर बिजुलीको पिक डिमाण्डमा देखिएको प्राधिकरणका प्रवक्ता शुरेसबहादुर भट्टराई बताउँछन् । ‘हुन त पछिल्लो समय नेपालमा विद्युतीय सामग्रीको प्रयोग उच्चतम बढेकै छ,’ उनले भने, ‘तर, पछिल्लो समय भने जाडो बढेपछि प्रणालीमा झन धेरै लोड थपिएको हो ।’

यसरी वृद्धि भएको बिजुलीको जोहो गर्न प्राधिकरणले हाल भारतबाट बिजुली आयात गरिरहेको छ । केहि समयअघिसम्म मात्रै नेपालले भारतमा बिजुली पठाइरहेकोमा अघिल्लो हप्ताको शुक्रबारदेखि पुनः नेपालमा भारतबाट बिजुली आयात हुन थालेको हो । अर्थात नेपालमा बर्खायाममा खोलानालाहरुमा प्रशस्त पानी हुनेभएपछि बिजुलीको उत्पादन पनि सोहीअनुसार वृद्धि हुन्छ र नेपालमा उत्पादन भएको सबै बिजुली नेपालमै खपत भने हुँदैन । यसो हुँदा नेपालले बर्खायामका करिव ५ महिनामा उत्पादन गरेको बिजुली भारत निर्यात गर्ने गरेको छ । जसअनुसार नेपाले यो बर्षमात्रै करिव १५ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको थियो । तर, बर्खायाममा बढेका खोलानाला सुकेसँगै नेपालमा बिजुलीको उत्पादन घट्छ ।

यसरी बिजुलीको उत्पादन घटेपछि नेपाललाई आवश्यक बिजुली नै भारतबाट आयात गर्नुपर्ने अवस्था आउँछ । सोहीअनुसार यो बर्ष पनि नेपालले भारतबाट बिजुली आयात सुरु गरिसकेको छ । प्राधिकरणलाई नै आधार मान्दा हाल नेपालले दैनिकजसो ३ हजारदेखि ४ हजार मेगावाट आवर बिजुली आयात गर्दै आएको छ । हाल नेपालको विद्युत प्रणालीमा ३१ हजार ६ सय ९५ मेगावाट आवर बिजुलीको आवश्यकता छ । तर, आयातित बिजुली, नेपालमा उत्पादितलगायत सबै गरेर जम्मा ३१ हजार ६ सय २५ मेगावाट आवर बिजुली मात्रै पुग्छ । यसरी प्रणालीमा झण्डै अझै पनि ७० मेगावाट आवर बिजुली अपुग छ । हाल नेपालका प्रणालीमा करिव ४ हजार मेगावाट आवर बढी बिजुली आयातित छ भने बाँकी नेपालमा उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL