Logo

नेपालको ऋण २३ खर्ब ५७ अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८० हजार बढी ऋण

नेपालको ऋण २३ खर्ब ५७ अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८० हजार बढी ऋण



काठमाडौं । नेपालले आन्तरिक र बाह्य गरी दुई शिर्षकमा २३ खर्ब ५७ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न बाँकी रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म उक्त बराबरको ऋण नेपालले भुक्तानी गर्न बाँकी रहेको देखिएको हो । यो कार्तिक मसान्तसम्मको तथ्यांक हो ।

laxmi

यसअवधिसम्म नेपालले ११ खर्ब ८३ अर्ब रुपैयाँ आन्तरिक र ११ खर्ब ७३ अर्ब रुपैयाँ बाह्य ऋण भुक्तानी गर्न बाँकी रहेको हो । यसमा चालु आर्थिक बर्षको पहिलो ४ महिनामा मात्रै नेपालले आन्तरिक र बाह्य गरेर १ खर्ब १३ अर्ब १६ करोड रुपैयाँ ऋण थपेको कार्यालयले जानकारी दिएको छ । चालु आवको ४ महिनामा नेपालले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र १५ अर्ब ८५ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो ।

यसै अवधिमा नेपालले जम्मा आन्तरि र बाह्य गरेर ५५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न सकेको छ । जसमा आन्तरिकतर्फ ४२ अर्ब ८४ करोड र बाह्यतर्फ १२ अर्ब ६० करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो । पछिल्लो समय नेपालमा आर्थिक मन्दी र यसले निम्त्याएको अभावका कारण सरकारले ऋण उठौतिलाई प्राथमिकता दिएको छ । जसका कारण चालु आवको ४ महिनामै खुद ऋण मात्रै ५७ अर्ब ७१ करोड रुपैयाँले थपिएको हो ।

नेपालले हालसम्म तिर्न बाँकी ऋणलाई नेपालको जनसंख्यासँग भाग गर्दा प्रत्येक नेपालीको टाउकोमा औसतमा ८० हजार ९ सय ९८ रुपैयाँ पर्न आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL