Logo

दशैंका लागि यी सात गन्तब्य, परिवार र साथीसँग घुम्नका लागि हुनसक्छन उपयुक्त

दशैंका लागि यी सात गन्तब्य, परिवार र साथीसँग घुम्नका लागि हुनसक्छन उपयुक्त



काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैं सबैका लागि उत्साह र उमंगको पर्व हो । दशैं बिदामा अहिले विभिन्न ठाउँहरुमा परिवारसहित घुम्न जानेको संख्या पछिल्लो समय उल्लेखियन रुपमा बढ्दो छ । दशैंको बेला सबै कामबाट फुर्सद निकालेर परिवारसहित घुम्न जाने र रमाईलो गर्ने चलन बढेसँगै देशभर विभिन्न गन्तब्यमा दशैंलाई नै लक्ष्य गरेर विभिन्न आकर्षक अफरहरु पनि सार्वजनिक भइरहेका छन् । यो दशैंमा पनि तपाई वा तपाईको परिवार कहाँ घुम्न जाने भनेर योजना बनाउादै हुनुहुन्छ होला । यहाँ हामीले यो दशैंमा घुम्नका लागि उपयुक्त हुनसक्ने केही गन्तब्यका बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

laxmi

पोखरा

पोखरा सबै मौसम र सबैलागि सदाबहार गन्तब्यका रुपमा स्थापित गन्तब्य हो । नेपालको पश्चिमक्षेत्र तर्फ कास्की जिल्लामा रहेको पोखरा विश्वभरकै पर्यटकका लागि आर्कषण क्षेत्र हो । काठमाडौं तथा अन्य विभिन्न ठाउँबाट पनि सहजै रुपमा घुम्न जाने उपयुक्त ठाउँ हो पोखरा । सडक, हवाईयातयात, होटललगायत सहज पहुँच भएको ठाउँमा घुम्न जाने सोच्दै हुन्हुहुन्छ भने पोखरा तपाईंको लागि उपयुक्त गन्तब्य हुन सक्छ । पोखरालाई घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ । पोखरामा आफ्नो बजेटअनुसार पाँचतारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सकिन्छ । पोखराबाट हिमालको मनमोहक अवलोकलन पनि गर्न सकिन्छ । पोखरा भित्र सारङकोट, धम्पुस, घान्द्रुक, शान्ति–स्तुपा लगायतका विभिन्न ठाउँ एक दिनमा नै घुम्न सकिन्छ । पोखरा गएर साहासिक खेलहरुका लागि पनि सबैभन्दा उपयुक्त गन्तब्य हो । प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङलगायतका साहासिक खेलहरु खेल्न सकिन्छ । पोखराका लागि आफ्नो समयअनुसार ३ दिनदेखि ७ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

इलाम

नेपालको पूर्वमा रहेको इलाम पहिलेदेखिनै पर्यटको लागि आर्कषक गन्तब्यको रुपमा रहेको छ । सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिन्छ । मनमोहक चियाबगानसँगै इलामममा विभिन्न दर्शनीय स्थलहरु छन् । इलाम जाँदा घुम्न सकिने सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी, लारूम्बा (माङसेबुङ) आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि ठाउँहरु छन । नौ कुना भएको माई पोखरी तथा टोड्के झरना पनि जान सकिन्छ । यसैगरी, कन्यामको हरियाली युक्त चियाबारीको पनि अबलोकन गर्न सन्छिन्छ । यहाँ जानको लागि पर्यटनहरुले सहजै यातयात तथा होटलहरुको सुबिधा पाउछन । इलामका लागि आफ्नो समयअनुसार ३ दिनदेखि ७ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

सौराहा

दशैं बिदामा घुम्न जान चाहाने पर्यटनको लागि चितवनको सौराहा पनि एक उपयुक्त गन्तब्य हो । वाइल्डलाइफ सफारीका लागि विश्वमै सुप्रसिद्ध यो ठाउँमा पर्यटकले हात्ती राइड र जंगल सफारी, जिप सफारी, क्यानोनिङलगायतका विभिन्न गतिविधिरु गर्न सक्छन । यसैगरी, यहाँको राप्ती नदिमा बोटिङ पनि गर्न सकिन्छ । साँझ थारु संस्कृति, नाचगान र आतिथ्यले भ्रमण लगायतका कार्यक्रमको अवलोकन पनि गर्न पाईन्छ । बाघ अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्न सकिन्छ भने नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावरहरु पनि अवलोकन गर्न सकिन्छ । सौराहका लागि आफ्नो समयअनुसार ३ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

घलेगाउँ

विशेष गरि होमस्टे तथा आतिथ्य पर्यटनले ख्याति कमाएको लमजुङ जिल्लाको गुरुङ तथा घले जातिको बाहुल्य रहेको ठाउँ घले गाउँपनि दशैं बिदामा घुम्न जाने उपयुक्त गनत्व्य हुन सक्छ । लमजुङ जिल्लालाई साहसी, वीर तथा वीरङ्गनाहरूको राज्यका रूपमा चिनिन्छ । यहाँबाट मनमोहक हिमाली दृश्यसँगै स्थानीय घाटु नाचलगायतका कुराहरुको अवलोकन गर्न सकिन्छ । घले गाउँकालागि आफ्नो समयअनुसार ३ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

मुक्तिनाथ

धार्मिक रुपमा विशेष महत्व बोकेको मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि महत्वपूर्ण तिर्थस्थल हो । यहाँ दसैं बिदामा घुम्न जानको लागि योजना बनाउन सकिन्छ । समुद्र सतहदेखि ३ हजार ७ सय १० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । यहाँ जानको लागि यातायातको मार्ग केही कठिन भएतापनि घुम्न जाने पर्यटनको रोजाईमध्ये पर्ने यो पनि एउटा गन्तब्य हो । मुक्तिनाथका लागि आफ्नो समयअनुसार ३ दिनदेखि ७ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

रारा

यस पटकको दसैंमा बिदामा नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल रारा ताल पनि एउटा गन्तबय हुन सक्छ । समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाईंमा अवस्थित रहेको यो ताल मुगु सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि पुग्नसकिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । हाल घुम्न जाने आन्तीरक तथा विदेशी पर्यटकको लागि उपयुक्त रोजाईको ठाउँ राराताल पनि बनेको छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सडकयात्रा कठिन रहेको यहँ पुग्न हवाई माध्यम उपयुक्त हुन सक्छ । राराका लागि आफ्नो समयअनुसार ७ दिनदेखि १० दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

लुम्बिनी

दशैं बिदामा घुम्नजाने अर्को उपयुक्त ठाउँ कपिलबस्तु जिल्लामा रहेको बुद्ध जन्मस्थल लुम्बिनी पनि हो । लुम्बिनी एक ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । सडक, हवाई दुवै माधयमबाट सहजै पुग्न सकिने लुम्बिनी विश्वकै पर्यटकहरुको लागि आकर्षक गन्तब्य हो । यहाँ विभिन्न चैत्य तथा मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका गुम्बा, मन्दिरहरूले सजिएको लुम्बिनी पछिल्लो समय आन्तरिक पर्यटकको लागि रोजाई ठाउँ बनेको छ । यहाँ मायादेवी मन्दिर र उत्खनन गरेर राखेका बिभिन्न ऐतिहासिक वस्तुहरू हेर्न सकिन्छ । लुम्बिनीका लागि आफ्नो समयअनुसार ३ दिनदेखि ५ दिनसम्मको प्याकेज बनाउन उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL