काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेदेखि सुकिला वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै केन्द्रीय बैंकले सुकिला नोट वितरण गर्न लागेको हो । सर्वसाधारणले असोज १० गतेसम्म सुकिला नोट साट्न पाउने केन्द्रीय बैंकले जनाएको छ ।
पुगेसम्म सुकिला नोटमात्रै वितरण गर्ने तर, पाँच रुपैयाँको नोट कम भएकाले सो दरको नोट भने नयाँ पनि वितरण हुनसक्ने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताएका छन् ।
केन्द्रीय बैंकले गत वर्षदेखि नयाँ नोट सटही गरेको छैन । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।