Logo

चक्रपथ विस्तार गर्न एक वर्षपछि निर्माणस्थलमा काम शुरु हुने, मुख्य सडक आठ लेनको बन्ने

चक्रपथ विस्तार गर्न एक वर्षपछि निर्माणस्थलमा काम शुरु हुने, मुख्य सडक आठ लेनको बन्ने



काठमाडौं । चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

laxmi

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डिपिआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए । अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्को छ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए । उनले भने, “सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ ।”
अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उनले बताए । गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए । चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताए । मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौंले काम गरिरहेको उनले बताए ।

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक÷एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो । बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ ।

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो । चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ ।

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो । सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई/दुई गरी जम्मा चार लेन रहेको छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौं गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौंमा मात्रै रहेको छ ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL