Logo

डलर बलियो हुँदा सुनको मूल्य ओरालो बाटोमा, नेपाली बजारमा एक हप्तामै प्रतितोला २९ सयको गिरावट

डलर बलियो हुँदा सुनको मूल्य ओरालो बाटोमा, नेपाली बजारमा एक हप्तामै प्रतितोला २९ सयको गिरावट



काठमाडौं । नेपाली बजारमा पछिल्लो हप्तायता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत हप्ताको बिहीबारसम्म प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा सीमित भएको छ ।

laxmi

यसरी नेपाली बजारमा एक हप्तामै करिव ३ हजार रुपैयाँले घटेको सुनको मूल्य प्रवृत्ति अन्तरराष्ट्रिय बजारमा पनि ओरालो बाटोमा छ । सुनको मूल्यको आधिकारिक तथ्यांक प्रकाशक गोल्ड प्राइसका अनुसार अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य एक हप्तामै ५१.८४ डलर प्रतिऔंसले घटेको छ । गत हप्ताको बिहीबार प्रतिऔंस १ हजार ९ सय २९.४८ डलरमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर १ हजार ८ सय ७७ डलरको आसपासमा पुगेको छ ।

खासगरी पहेँलो धातुलाई धेरैजसोले आफ्नो सम्पत्तिको रुपमा बैंकमै राखेका हुन्छन् । यसरी राखेको सुनको मूल्यांकन बढ्दै गएको खण्डमा मूल्य पनि बढ्ने र मूल्यांकन घट्दै गएको अवस्थामा मूल्य पनि घट्ने गर्दछ । तर, पछिल्लो समय अमेरिकी फेडरल रिजर्भ बैंक (फेड)ले विश्वबजारमा डलरको वर्चस्व कायम राखिराख्न आफ्नो ब्याजदर बढाएपछि यसको असर सुनको मूल्यमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय मात्रै फेडले ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । खासगरी हाल विश्वबजारमै अमेरिकी डलरको दवदवाको अन्त्य गर्नका लागि ठूला देशहरु लागिपरेकाले यसबाट उम्किन फेडले बैंक ब्याजदर बढाएको हो । यसरी बैंक ब्याजदर बढ्दा सुनको भन्दा डलरको रिटर्न बढी हुनेभएपछि सुनको मागमा नै संकुचन आयो र मूल्यांकन खुम्चियो । यसको असर सुनको मूल्यमा पनि पर्यो ।

खासगरी फेडले सन २०२२ को मार्चयता मात्रै ११ पटक आफ्नो ब्याजदरमा घटबढ गरेको छ । यसरी ब्याजदर घटबढ हुँदा एक बर्षको अवधिमा ब्याजदर ०.२५ प्रतिशतले बढेर हाल ५.५० प्रतिशत पुगेको छ । यसअघि फेडको ब्याजदर ५.२५ प्रतिशत थियो । केहि क्षणिक समयको लागि सुनको मूल्य ओरालो लागेकोजस्तो देखिएपनि कालान्तरमा रुस युक्रेन युद्ध र विश्वव्यापारमा देखिएको नयाँ आयामले सुनको मूल्य अझै उकालो लाग्ने शाक्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL