काठमाडौं । हालै भदौ २३ र २४ गते जन–जेड समूहको अगुवाइमा भएको आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ भने यस क्रममा दर्जनौं नागरिकले ज्यान गुमाएका छन् । मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्य लाभको कामना गर्दै इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा आएका भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा जन–जेडका अगुवा सुदन गुरुङसँग आफ्नो सम्बन्धलाई लिएर केही सञ्चारमाध्यमले प्रकाशन–प्रसारण गरेका समाचार कपोलकल्पित भएको दाबी गरिएको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको समयमा ‘हामी नेपाल’ संस्थामार्फत् मात्र सहयोग गरेका थियौं । त्यसयता गुरुङ वा उनको संस्थासँग हाम्रो कुनै सहकार्य भएको छैन । उनीहरूको राजनीतिक वा संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार छैन ।’
यसका साथै, विज्ञप्तिमा आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठानहरूमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको उल्लेख छ । विशेषगरी जगदम्बा हस्पिटालिटी समूह अन्तर्गत सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा आगजनी हुँदा ठूलो भौतिक क्षति पुगेको समूहले जनाएको छ ।
‘यो होटल हाम्रो मात्र होइन, सम्पूर्ण नेपालीहरूको गौरवसँग जोडिएको धरोहर थियो । तर भ्रामक समाचार र कुत्सित मनसायका कारण अहिले यो खरानी बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर पनि दुवै संस्थाले आफूहरू विचलित नभएको बताउँदै पुनः व्यवसायलाई नयाँ शिराबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन् । साथै, सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन–छापामा आएका भ्रामक समाचारमा विश्वास नगर्न आम जनतालाई अपिल गरिएको छ ।