Logo

चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन सहजीकरण गर्दै खाद्य : सुपथ मूल्य पसल संचालन तथा खसीबोका, च्यांग्रा ल्याउँदै

चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन सहजीकरण गर्दै खाद्य : सुपथ मूल्य पसल संचालन तथा खसीबोका, च्यांग्रा ल्याउँदै



काठमाडौं । दशैं, तिहार छठलगायतका पर्वको सम्मुखमा भारतले चामलको निर्यातमा प्रतिवन्ध लगाईदिएपछि चाडपर्वमै खाद्यान्नको अभाव र मूल्यवृद्धि हुनसक्ने आँकलन गरिएको छ । तर, चाडपर्वलाई आवश्यक सबैजसो खाद्यान्नको परिमाण उच्च भएकाले यसको चिन्ता नरहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

laxmi

हाल कम्पनीसँग कुल १ लाख ६३ हजा क्विन्टल खाद्यान्न संचित छ । जसमा काठमाडौं उपत्यका र तराईका जिल्लाहरुमा करिव ४२ हजार क्विन्टल र दूर्गम जिल्लाहरुमा १४ हजार क्विन्टल चामल संचित रहेको कमपनीले जानकारी दिएको छ । यसले दशैं तिहार र छठसम्मलाई खपत पर्याप्त हुने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन।

‘हामीसँग हालसम्म भएको खाद्यान्न संचितिको परिमाणले आगामी दशैं, तिहार र छठसम्मलाई पुग्नेगरी खाद्यान्न संचित रहेको देखाउँछ,’ उनले भनिन्, ‘त्यसपश्चातका लागि भने थप खाद्यान्न नयाँ ठेक्कामार्फत हामीले प्राप्त गर्दै जानेछौं ।’ हाल कम्पनीले हाल खुल्ला बजारबाट बोलपत्रको माध्यमबाट पनि करिव ६६ हजार क्विन्टल चामल आपुर्ति गरिरहेको छ । यसरी सरकारी कम्पनीसँग मात्रै कुल १ लाख २३ हजार क्विन्टल चामल मौज्दात छ ।

तर, अघिल्लो बर्षका चाडपर्वलाई आधार मान्दा यो अवस्थामा देशभर २५ देखि ३० हजार क्विन्टल चामलको माग हुने गरेको छ । तर, माग हुनेभन्दा अत्याधिक धेरै चामल सरकारी कम्पनीसँग मात्रै भएकाले यो बर्षको चाडपर्वमा खाद्यान्न अभाव नहुने कम्पनीका अधिकारीहरु बताउँछन् । यस्तै कम्पनीसँग ४ हजार क्विन्टल धान, ३४ हजार क्विन्टल गहुँ भारतबाट आयात भईरहेको, ४३ क्विन्टल दाल, १ हजार क्विन्टल खानेतेललगायत संचित छ ।

सुपथ मूल्य पसल संचालन गरिँदै

यस्तै कम्पनीले चाडपर्वकै लागि भन्दै देशभरका विभिन्न स्थानहरुमा सुपथ मूल्य पसल पनि संचालनमा ल्याउन लागेको छ । कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानको समन्वयमा काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

असोज २१ देखि संचालमा आउने यस्ता पसलहरुमा चामल, दाल, गहुँ, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै कर्णालीको सिमी गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ । दुग्ध विकास संस्थानका एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा दुग्धजन्य पदार्थ छुटमा बिक्री हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्नेछ । साथै कर्पोरेसनले घुम्ती पसलमार्फत पनि घरघरमा उपभोग्य वस्तु पु¥याउने जनाएको छ ।

उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । यसका साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।
दुग्ध विकास संस्थानले विराटनगर, जनकपुर, ढल्केवर, हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी, बुटवल गरी ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने र एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने जनाएको छ ।

२ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याईँदै

यस्तै कम्पनीले काठमाडौं उपत्याकाका लागि भन्दै सुपठ मूल्यमा विक्री वितरणका लागि २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने भएको छ । दशैंमा आवश्यक मासुका लागि हरेक बर्षजसो कम्पनीले यस्ता खसीबोका र च्यांग्रा खरिद गरेर ल्याउने गरेको छ । यो बर्षको दशैंमा पनि उक्त संख्यामा खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन । तर, उक्त खसीबोका र च्यांग्रा कहाँबाट, कसरी र कहिले ल्याउने भन्ने कुरा भने छलफलमै रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL