Logo

बेगखोलाको मोटरेबल पुल सञ्चालन, आठ करोड ३० लाख लागतमा डिजाइन एण्ड बिल्ड मोडलमा निर्माण

बेगखोलाको मोटरेबल पुल सञ्चालन, आठ करोड ३० लाख लागतमा डिजाइन एण्ड बिल्ड मोडलमा निर्माण



काठमाडौँ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।

laxmi

सात वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्नुपर्ने समस्या थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको जानकारी दिए । ‘पुलसम्म पुग्ने दुईतर्फको पहुँचमार्ग निर्माणलाई अन्तिम रुप दिन बाँकी भए पनि यातायात सञ्चालन गरिएको छ’, उनले भने, ‘बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ ।’

सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो । ११ मिटर चौडाइ भएको पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअगावै निर्माण सम्पन्न हुन लागेको सडक विभागको पश्चिम सेक्टर कार्यालयका इन्जिनियर आशिक रिजालले बताए ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलीब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । मोटरेबल पुल पुनःनिर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झन्झट हटेको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभिर र पोखरबगरस्थित कालीगण्डकीमा यसअघि दुईवटा मोटरेबल पुल निर्माण गरेको छ ।

१९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण भएको हो । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा आठवटा पक्की र तीनवटा बेलीब्रिज निर्माण सकिएका छन् ।

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र वटा मोटरेबल पुल निर्माणाधीन रहेको योजना प्रमुख जगत प्रजापतिले बताए । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL