Logo

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब मासिक १७,३०० पाउने

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब मासिक १७,३०० पाउने



काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पु¥याएको छ । विहीबार मन्त्रालयले लागु गरेको यो निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

laxmi

मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पु¥याइएको हो ।

यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो । त्यसैगरी श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

त्यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो । प्रतिघण्टाका हिसावले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ । यो रकम ५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL