Logo

अटेरीमाथिको जर्बजस्तीले मिलेको सफलता ! तार व्यवस्थापनले सुन्दर बन्यो काठमाडौं

अटेरीमाथिको जर्बजस्तीले मिलेको सफलता ! तार व्यवस्थापनले सुन्दर बन्यो काठमाडौं



काठमाडौं । ‘शहरी सौन्दर्य’ पछिल्ला वर्षहरुमा देशको संघीय राजधानी काठमाडौंमा सघन रुपमा उठेको विषय हो । काठमाडौं महानगरपालिकामा हरेक ५ बर्षमा परिवर्तन हुने नेतृत्वले यो विषयलाई लामो समयदेखि मुद्दा बनाउँदै आएका थिए । सबैजसो नयाँ नेतृत्वको शहरी सौन्दर्य वृद्धि गर्ने साझा एजेण्डा बनिरहेको भएपनि पछिल्ला दिनमा भने काठमाडौं शहरमा महसुस हुनेगरि परिवर्तन देखिएको छ । शहरी सौन्दर्यताका मुद्दामा सबैभन्दा प्रमुख पाटोको रुपमा रहेको असरल्ल अवस्थाको तार व्यवस्थापनले काठमाडौं चिटिक्क देखिन थालेको हो ।

laxmi

बर्षाेंदेखि बिजुलीका पोलहरुमा एकपछि अर्काे गर्दै थपिँदै गएका इन्टरनेट, टेलिभिजन, सिसीटीभी, टेलिफोनलगायतका तारले सहरको सुन्दरतामा नै ह्रास ल्याएको अवस्था थियो । त्यस्ता तार व्यवस्थापनका लागि भन्दै दूरसंचार क्षेत्रको नियामकिय निकाय नेपाल दूरसंचार प्राधिकरणले सबै तारहरुलाई भूमिगत गर्ने भन्दै योजना बनाएको भएपनि त्यसले मूर्तरुप लिन नसक्दा काठमाडौं शहर जेलिएका तारहरुको शहरका रुपमा परिणत बन्दै गएको थियो । जसले काठमाडौं शहरलाई नै गिज्याइरहेको देखिन्थ्यो । विदेशीले समेत काठमाडांैंको तार अव्यवस्थाको तस्वीर खिचेर सामाजिक सञ्जालमा मजाकको विषय बनाउने गर्थे ।

कसरी भयो व्यवस्थापन सम्भव ?

तर पछिल्लो समय काठमाडौं महानरपालिका आफै एक्सनमा उत्रेपछि भने तार व्यवस्थापनमा उल्लेख्य उपलब्धि हासिल भएको छ । तार व्यवस्थापनका लागि भन्दै काठमाडौं महानगरपालिका नगर प्रहरीले विभिन्न ४ टोलीलाई खटाई काम अघि बढाएको छ । ती चारै टोलीले इन्टरनेट सेवाप्रदायक र नेपाल दूरसंचार प्राधिकरणको समन्वयमा पोलमा रहेका अनावश्यक केबलहरुलाई हटाउने र लत्रिएका तारहरुलाई बन्डलिङ गर्ने काम गरिरहेको छ । हाल त्रिपुरेश्वरदेखि कालिमाटीसम्म, रत्नपार्कदेखि पानीपोखरीसम्म, असन, माईतिघरदेखि तिनकुनेसम्मको मुख्य सडकहरुमा रहेको तार व्यवस्थापन भइसकेको छ ।

धेरैजसो केबल व्यवसायीहरु र इन्टरनेट सेवाप्रदायकहरुले दैनिकजसो पोलमा तार तानिरहेका हुन्छन् । कसैले सेवा नलिएमा पुराना केबल पनि त्यहिँ हुन्छन । पोलमा बाँकी आवश्यक र अनावश्यक केबल र उपकरणले पोलमै कहिले आगलागी हुने, सडकमै अनावश्यक तारहरु लत्रिँदा सडक दूर्घटना हुनेलगायतका समस्या देखिँदै आएका थिए । अब भने महानगर प्रहरीले पोलमा बाँकी रहेका पुराना र अनावश्यक तारहरु सबै तानेर आवश्यक तारलाई पनि जथाभावी लत्रिन नदिने उपाय अवलम्बन गरिहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन् ।

काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख बालेन्द्र शाह (बालेन) आएपछि उनले बलजफ्ती गरेरै भएपनि सकारात्मक काम गरेरै छोड्ने नीति लिए । अर्थात सार्वजनिक जग्गा मिचेका घरटहरामा डोजर लगाउने, फुटपाथमा व्यापार गर्न नदिने, अन्डरग्राउन्ड पार्किङहरु खुलाउन आफै लागिपर्नेलगायतका क्रियाकलापले उनलाई बोलेको कुरा गरिछाड्ने व्यक्तिका रुपमा चिनायो । अघिल्ला प्रमुखहरुले एक कुरा बोल्ने, घोषणा गर्ने र सोहीअनुसार काम नगर्ने प्रवृत्तिमा ब्रेक लगाउँदै उनले बोलेको वा घोषणा गरेको कुरालाई गरेरै छाड्ने प्रवृत्तिमा बदलेपछि त्यसको असर इन्टरनेट सेवाप्रदायकमा पनि देखियो ।

सोहीअनुसार महानगरपालिकाका मेयर बालेनले नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकलाई महानगरपालिकामा बोलाएरै तार व्यवस्थापनका तत्कालीन र दीर्घकालिन उपाय मागेका थिए । यसको अल्पकालिन उपायका रुपमा अनावश्यक तार हटाउनुपर्ने र लत्रिएका ताहरु बन्डलिङ गर्नुपर्ने उपाय निस्कियो । तर, त्यसो गर्दा कतिपय स्थानमा इन्टरनेट सेवामा केहि समयका लागि अवरोध सिर्जना हुने देखियो । त्यसपश्चात पुनः महानगरपालिकाले आफ्नो तार व्यवस्थापनको निर्णयमा इन्टरनेट सेवाप्रदायकसँग पनि समन्वय गर्ने प्रक्रिया अघि बढायो । जसका कारण यो सम्भव भएको महानगर प्रहरी प्रमुख पाण्डे बताउँछन् । ‘हामीले इन्टरनेट सेवाप्रदायकसँगको सहकार्य र सहजीकरणमा तार व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘हामीले अनावश्यक तार हटाउन र बन्डलिङ नगरे तार काटिदिने चेतावनीसमेत दिएका थियौं ।’

उनले तार काटिदिने चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरु पनि तार व्यवस्थापनको निर्णय मान्न तयार भएको बताए । सोहीअनुसार महानगरपालिकाको प्रहरीका ४ टोलीले बैशाख २५ गतेदेखि तार हटाउने प्रक्रिया सुरु गरेको हो । त्यसयता महानगरपालिकाले ६० देखि १ सय गाडी तार व्यवस्थापन गरिसकेको छ । हाल विभिन्न पोलबाट निस्किएको तार प्रतिदिन २ गाडीसम्म टेकुमा जम्मा हुन्छ । यसरी महानगरपालिकाले तार व्यव्स्थापन गरिदिँदा काठमाडौंका सडकमा प्राय असरल्ल तार देखिँदैनन् । पहिले झुन्डिएका तारहरु अहिले मिलेको देखिन्छन, जसका कारण शहर पनि चिटिक्क देखिएको छ ।

विद्युतका तार भूमिगत गर्दै प्राधिकरण

यता नेपाल विद्युत प्राधिकरणले पनि आफ्ना बिजुलीका तारहरु सबै भूमिगत गर्ने योजनाअनुरुप काठमाडौंका धेरैजसो स्थानमा तार भूमिगत गरिसकेको छ । प्राधिकरणको भूमिगत तार प्रणालीबाट विद्युत प्रवाह सुरु भए पोलमा भएका बिजुलीका तार व्यवस्थापन् हुनेछन् । प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने बेलामै अन्य सेवा प्रदायकहरुका लागि समेत भन्दै एउटा छुट्टै डक्टसमेत राखिदिएको छ । अहिले इन्टरनेट सेवाप्रदायकहरु यसमा जान अझै मानिरहेका छैनन् । जसका कारण इन्टरनेट, टेलिफोन, टेलिभिजनलगायतका केबलहरुको तार पोलमा रहनेछन ।

सेवाप्रदायककै अटेरीले विगतमा विद्युत प्राधिकरणले तार व्यवस्थापन गर्न सकेको थिएन भनेन दूरसंचार प्राधिकरण पनि यसमा असफल भएको थियो । नेपाल विद्युत प्राधिकरणले असरल्ल छाडिएका तारहरु काटिदिने धम्की दिँदै आएपनि दूरसंचार ऐनमा रहेको दूरसंचार सेवामा अवरोध सिर्जना गरे दण्डनीय हुने बुँदालाई देखाएर पन्छिने गरेका थिए । धेरैपटक धेरै निकायले कोशिस गर्दा पनि व्यवस्थापन हुन नसकेको तारको विषय विद्युत प्राधिकरणले भूमिगत गरेपछि र सेवा प्रदायकहरुले पनि थप व्यवस्थापन गरेपछि छिट्टै समाधान हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL