Logo

ललिता निवास प्रकरणको ‘चेन इफेक्ट’ सेयर बजारमा, यसकारण दैनिक ओरालो लाग्दैछ नेप्से

ललिता निवास प्रकरणको ‘चेन इफेक्ट’ सेयर बजारमा, यसकारण दैनिक ओरालो लाग्दैछ नेप्से



काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा प्रकरणको श्रृङखलाबद्ध असर (चेन इफेक्ट) सेयर बजारमा देखिएको छ । विशेषगरी उक्त प्रक्ररणमा ठूला व्यवसायीहरु नै संलग्न रहेको भन्दै सीआईवीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अघि बढाएको छ । सीआईवीले उक्त घटनामा संलग्न पूर्व सचिवलगायत अन्य पूर्व कर्मचारी तथा केही व्यापारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त घटनामा आफ्नो नाम मुछिएपछि कतिपय ठूला घरनाका उद्योगी व्यवसायी भने देश छाडेर भागेका छन् ।

laxmi

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले ६ पूर्वमन्त्री, २ पूर्व मुख्य सचिव, १ दर्जन पूर्व सचिव र १ बहालवाला सचिवसहित सार्वजनिक पदधारण गरेका डेढ सयभन्दा बढी कर्मचारीको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले पञ्चायतकालमै मुआब्जा दिएर तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारबाट अधिग्रहण गरी सरकारका नाममा ल्याइएको मध्ये १ सय ४३ रोपनीभन्दा बढी जग्गा ०४९ देखि ०६९ को अवधिमा भूमाफियाले हडपेको अनुसन्धानको निष्कर्ष छ । साथै सर्वोच्च अदालतले उक्त घटनामा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानविन गर्न आदेश दिएको छ । उक्त आदेशलगत्तै पूर्व प्रधानमन्त्री नेपालले देश छाडिसकेका छन् ।

उक्त प्रकरणमा तत्कालीन समयमा प्रायःजसो ठूला व्यापारिक घरनाको संलग्नता रहेको भन्दै छानविन अघि बढाएपछि मारवाडी समुदायका धेरैजसो व्यापारीहरुले देश छाडेर भागेको सीआईवी स्रोतले जानकारी दिएको छ । सीईवीले छानविन अघि बढाएसँगै सो जग्गा भाटभटेनीका साहु मीनबहादुर गुरुङलगायत अन्य भुमाफियाको नामबाट अन्य व्यवसायीलाई बिक्री गराउन संलग्न रहेको भनिएका श्रवण गोयल भूमिगत छन् । धेरैजसो मारवाडी समुदायलाई या्गले आफै संलग्न भएर जग्गा किनाएको उक्त अनुसन्धानले देखाएको छ । यसैगरी सीआइबी स्रोतका अनुसार सन्दीप सारडा, शिवरत्न सारडालगायत उनको परिवार नै हाल भूमिगत अवस्थामा छन् भने मनोज केडिया, गोविन्दलाल संघाई, कैलाश गोयल, संगीता बोथरा पनि फरार रहेका छन् । यस्तै सय किलो सुन तस्करी प्रकरणमा जाडिएका पात्र राकेश अडुकिया पनि फरार रहेका छन् । उनीपनि सेयर बजारका ठूला खेलाडी मान्छिन् ।

हाल सीआईवीले उक्त घटनामा संलग्न सबै व्यापारीको नाम सार्वजनिक नगरिसकेको तर भित्री सूचनाका आधारमा धेरै व्यवसायीहरु भूमिगत अवस्थामा रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । नेपालको सेयर कारोबारमा तीनै ठूलो व्यवसायीको संलग्नता रहेको र हाल उनीहरु ललिता निवास प्रकरणका कारण फरार रहेका कारण बजारमा दैनिक रुपमा ठूलो गिरावट आएको सेयर बजारमा ठूला लगानीकर्ताले जानकारी दिए । ‘सेयर बजारमा पछिल्लो समय मारवाडी समुदायका साथै ठूला व्यापारिक घरनाको पकड छ,’ ती लगानीकर्ताले भने, ‘ललिता निवास प्रकरण व्यँुतिएसँगै त्यस्ता व्यापारीहरु भूमिगत रहेका कारण बजार दैनिक रुपमा उच्च अंकले ओरालो लाग्दै आएको छ ।’

उक्त घटनामा संलग्न कतिपय ठूला व्यापारीहरु देश छाडेर भागेका छन् । हाल उनीहरु संयुक्त अरब इमिरेट्स (दुवई) देखि सिंगापुर पुगेको सम्बद्ध स्रोतको दावी छ । ललिता निवास प्रकरणमा जोडिएका धेरै त्यस्ता व्यवसायीले आफुले असुरक्षित महशुस गर्दै सेयर बिक्री गर्न थालेपछि दैनिक रुपमा सेलिङ प्रेसर आउन थालेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘ललिता निवास प्रकरणका सीआईवीको सूचीमा रहेका कतिपय व्यवसायीहरुले असुरक्षित महशुस गर्दै सेयर बजारबाट आफ्नो लगानी झिकिरहेका छन् भने कतिपयले अहिलेको अवस्थामा खर्च जुटाउनका लागि पनि सस्तो मूल्यमा बिक्री गर्दै आएका छन्,’ ती लगानीकर्ताले भने, ‘ललिता निवास प्रकणमा मध्ययमदेखि ठूला गरी सयौं व्यवसायीको संलग्नता रहेको भन्दै सीआईवीले सूची तयार पारेको र उनीहरु भूमिगत रहँदा सेयर बजारमा ठूलो असर परेको देखियो ।’

हाल ललिता निवास प्रकरणमा संलग्न भनिएका कतिपय ठूला व्यापारीले इन्भेष्टमेन्ट कम्पनी नै खडा गरेर सेयर बजारमा लगानी गर्दै आएका छन् भने उनीहरुसँग मध्ययम खालका धेरै व्यापारीहरु जोडिएका छन् । ललिता निवास प्रकरणले तीनै ठूला व्यापारी फरार रहँदा उनीहरुसँग जोडिएका मध्यम खालका लगानीकर्ताहरु समेत मारमा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL