Logo

धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति चेम्बरको आपत्ति, अर्थमन्त्री महतको ध्यानाकर्षण

धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति चेम्बरको आपत्ति, अर्थमन्त्री महतको ध्यानाकर्षण



काठमाडौं । सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । यस्तो व्यवस्थाप्रति चेम्बरले अर्थमन्त्री डा. प्रकाश शरण महतको ध्यानाकर्षण गराएको छ ।

laxmi

सिंहदरबारमा अर्थमन्त्री डा.महतलाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो । चेम्बरद्वारा अर्थमन्त्री डा. महतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचिकृत एवं सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने” व्यवस्था व्यवसाय अनुकूल छैन।’

कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । बोर्डको निर्णयले व्यवसायीहरूलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाई छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले आग्रह गरेको छ । बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाई छ ।

आफूसँग भएको सेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बरको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षण प्रति आफू सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL