Logo

लम्बिदै फाइभजीको प्रतिक्षा : परीक्षणमै अल्झियो टेलिकम, सञ्चालनको अझै टुंगो छैन

लम्बिदै फाइभजीको प्रतिक्षा : परीक्षणमै अल्झियो टेलिकम, सञ्चालनको अझै टुंगो छैन



काठमाडौं । नेपाल टेलिकमले नेपालमा पाँचौ पुस्ताको फाइभजी प्रविधि परीक्षण गर्न थालेको ५ महिना पुगेको छ । तर, यो अवधिमा पनि फाइभजी सञ्चालनका लागि उल्लेख्य नतिजा भने प्राप्त हुन सकेको छैन् । अघिल्लो बर्ष पुसको अन्त्यमै काठमाडौंका सुन्धारा र बबरमहलबाट सुरु गरिएको परीक्षण पोखरा र वीरगंजमा पनि भइरहेको छ ।

laxmi

तर, पाँच महिनादेखि टेलिकमले परीक्षण गरिएको भन्दै बताइरहेपनि फाइभजी सञ्चालनका लागि कति उपयुक्त या अनुपयुक्त भन्नेबारे टेलिकमले केही जानकारी सार्वजनिक गरेको छैन् । टेलिकमले व्यवसायिक रुपमा फाइभजी सञ्चालन फिजिवल वा ननफिजिबल भनेर एकिन टुंगो नलगाउँदा उपभोक्ताले कहिलेदेखि फाइभजी उपयोग गर्न पाउँछन भन्ने अन्यौल देखिएको छ ।

सन २०१९ अर्थात आजभन्दा ५ बर्षअघि विश्वका केही देशबाट सुरु भएको पाँचौ पुस्ताको फाइभ–जी प्रविधि हाल धेरै देशले उपयोग गरिरहेका छन् । नेपालमा पनि यो प्रविधि सञ्चालनमा ल्याउनका लागि सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमलाई सरकारले अनुमति दिएको थियो ।

कम्पनीले अनुमति पाएकै २ बर्ष पुग्न लाग्दा पनि यसको जडान, परीक्षण र नतिजा दिन सकेको छैन । हुन त नेपाल टेलिकमले २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परीक्षणको लागि नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति पाएको थियो । प्राधिकरणले टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परीक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परीक्षण गर्न निर्देशन दिएको थियो ।

तर, टेलिकमले विभिन्न बहाना बनाउँदै हालसम्म पनि प्रभावकारी रुपमा फाइभ–जीको परीक्षण गर्न नसकेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । बबरमहल र सुन्धारा केन्द्रबाट टेलिकमले गत बर्षको पुसमै फाइभ–जीको परीक्षण गरेको घोषणा गरेको थियो । काठमाडौंकै दुई स्थानबाट गरिएको भनिएको फाइभजीको परीक्षणको नतिजा के आयो र कस्तो छ भन्ने कुराको जानकारी हालसम्म नभएको टेलिकमका सह प्रवक्ता परमात्मा भट्टराई बताउँछन् ।

उनका अनुसार हालसम्म विभिन्न कारणले फाइभ–जी प्रविधिका उपकरणको आयातमै ढिलाई हुँदा यसको परीक्षणको अवधि लम्बिएको थियो । तर, गत पुसदेखि काठबाडौंबाट सुरु गरिएको परीक्षण हाल वीरगंज र पोखरामा पनि विस्तार गरिएको छ । तर, यसको उचित परिणामका बारेमा हाल भन्न नसकिने उनले बताए ।

टेलिकमले २०७८ कात्तिकमा २६ सय मेगाहर्ज ब्याण्डमा फाइभ–जी परीक्षणका लागि नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति पाएको थियो । कम्पनीले हाल नेपालका विभिन्न ४ स्थानबाट फाइभ–जी परीक्षणको तयारी गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभ जी परीक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले यसको कार्यविधिसमेत बनाएको थियो । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभ–जी परीक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परीक्षण नै गरिसक्नुपर्ने उल्लेख छ ।

नेपाल टेलिकमले पनि सोही कार्यविधि अनुसार २०७८ माघभित्रै उपकरण आयात गरी परीक्षण गरिसक्नुपर्ने थियो । यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभजी परीक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । सोहीअनुसार दुई कम्पनीहरुले काठमाडौं पोखरा र वीरगंजमा उपकरण जडान गरी परीक्षण गरिरहेको टेलिकमले जानकारी दिएको छ । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभ–जी परीक्षण गरिदिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL