Logo

विद्युत उत्पादन न्यून : उद्योगीले मागे लोडसोडिङ तालिका, कुलमान भन्छन-राजनीतिक स्टन्ट

विद्युत उत्पादन न्यून : उद्योगीले मागे लोडसोडिङ तालिका, कुलमान भन्छन-राजनीतिक स्टन्ट



काठमाडौं । पछिल्लो समय भनेजति र भनेको समयमा विजुली नपाएको भन्दै पूर्वका उद्योगी विद्युत प्राधिकरणसँग रुष्ट छन् । तर, विद्युत प्राधिकरणले यो बर्ष आवश्यक मात्रामा पानी नपरेपछि विजुली भनेजति उत्पादन नभएको र आयात पनि आवश्यकजति गर्न नसकेको बताउँदै आएको छ । त्यसैको फाईदा उठाउँदै उद्योगी व्यवसायीहरुले लोडसेडिङको तालिकासमेत माग गरिरहेका छन् । बेलाबेलामा एक्कासी बिजुली गएपछि चलिरहेका मेशिन खराव हुनसक्जे भन्दै उद्योगी व्यवसायीले तालिका पाएको खण्डमा तालिकाअनुसार उद्योग संचालन गर्न सकिने र उपकरणहरु खराब हुनबाट बच्ने बताउँदै आएका छन् ।

laxmi

यसपल्ट हिउँदभरी पानी परेन त्यसको असर त छँदैछ । हिउँद ढल्किँदा पनि भनेबमोजिम पानी नपर्दा बिजुली उत्पादन न्यून भएको प्राधिकरण स्वीकार्छ । नेपालका धेरैजसो जलविद्युत आयोजना नदी प्रवाही (रन अफ रिभर)मा आधारित छन् । यसैका कारण नदीको प्रवाह र वेग अनुसार बिजुलीको उत्पादन घटबढ हुन्छ ।

यो बर्ष हिउँदमा पानी परेन, हिमालमा हिउँ पनि परेन र नदीको प्रवाह पनि सोहीअनुसार बढेन । जसका कारण बिजुली उत्पादन न्यून हुँदा यो बर्ष प्रणालीमा विद्युत अपुग ३१ लाख युनिटसम्म पुगेको थियो । त्यसैबेला भारतबाट आयात हुने बिजुली पनि आवश्यकजति आयात हुन नसकेपछि केहि समय प्रणालीमा बिद्युत अपुग भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

तर, पछिल्ला केहिदिनदेखि नेपालभर बर्षा भईरहेको भएपनि यसले बिजुली उत्पादनमा खासै योगदान नपुगेको प्राधिकरणले जानकारी दिएको छ । पानी परेपनि नेपालका ठुला जलविद्युत आयोजनाको हेडवक्र्सभन्दा माथी नपरेर नदीको प्रवाह नबढेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘धेरै स्थानमा पानी त पर्याे तर, हामीलाई चाहिने स्थानमा भनेजति परेको छैन,’ उनले भने, ‘पानी पर्याे भने बिजुली उत्पादन बढ्ला तर हाल लोड पनि केहि घटेकाले बिजुली पुगेकै छ ।’

तराईका जिल्लामा पानी परेर गर्मी कम भएपछि तराईमा हुने लोड घटेको उनको भनाई छ । सोही लोड घटेका कारण पूर्वका उद्योगहरुमा पनि बिजुली दिन सकेको उनको भनाई छ । उनले केहि दिनअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि अबको १५ दिनपछि पानी पर्ने सम्भावना रहेको र त्यसपछि बिजुली उत्पादन बढी भनेजति बिजुली दिन सकिने बताएका थिए ।

तर, पूर्वका उद्योगीहरु भने आवश्यक परेको बेलामामा विद्युत आपुर्ति नभएको भन्दै लोडसेडिङको तालिका मागिरहेकै छन् । त्यसैका लागि भन्दै केहिदिन अघि उद्योगीहरुले विरोधको कार्यक्रमसमेत आयोजना गरेका थिए । यता प्राधिकरण भने लोडसेडिङको तालिका दिन तयार छैन । यदि प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरे करिव ५ बर्षअघि नै नेपालबाट लोडसेडिङको अन्त्य भएको घोषणा गरेका कुलमान घिसिङलाई ठूलो नैतिक संकट उत्पन्न हुने देखिन्छ । यसैका कारण पनि प्राधिकरण बरु आयात गरेरै भएपनि बिजुलीको आपुर्ति सकेसम्म गर्ने तर, बिजुली अभाव भएको बेलामा पनि लोडसेडिङको तालिका दिन नहुने पक्षमा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने उद्योगीले लोडसेडिङको तालिका माग्नु राजनीति गरिएको मान्छन् । ‘हामीले भएको बेलामा आवश्यक जति बिजुली दिएकै छौं, कहिलेकाँही प्रणालीमा खरावी आउँदा पनि बिजुली जान सक्छ,’ उनले भने, ‘यसैको फाईदा उठाएर केहि उद्योगी व्यवसायीले राजनीति स्टन्ट गर्नुुभयो ।’

हाल नेपालको विद्युत प्रणालीमा ३४ हजार ८ सय ७५ मेगावाट आवर बिजुलीको आवश्यकता छ । तर, आयात, नेपालमा उत्पादनलगायत सबै गरेर जम्मा ३२ हजार ९ सय ७५ मेगावाट आवर बिजुली मात्रै पुग्छ । यसरी प्रणालीमा झण्डै अझै पनि १९ सय मेगावाट आवर बिजुली अपुग छ । हाल नेपालका प्रणालीमा १३ हजार मेगावाट आवर बढी बिजुली आयातित छ, बाँकी नेपालमा उत्पादन हुन्छ ।

तर, नेपालमा उत्पादन हुने बिजुली न्युन हुँदा आयातित बिजुलीले पनि प्रणालीको माग धान्न नपुगेको देखिन्छ । नेपालमा प्रिमनसुनमै पानी पर्दा पनि जेठसम्म बिजुली उत्पदन आवश्यकभन्दा बढी भएर निर्यात गर्नुपर्ने अवस्था आउँथ्यो । तर प्रिमसुन मानिने फागुन १५ देखि जेठ १५ सम्मको अवधिमा पनि पानी नपरेपछि केहि अप्ठ्यारो भने पक्कै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL