Logo

विदेशमा पानी बेचेर कमाउँदै नेपाल, नौ महिनामा पानी निर्यातबाट साढे ३७ करोड आम्दानी

विदेशमा पानी बेचेर कमाउँदै नेपाल, नौ महिनामा पानी निर्यातबाट साढे ३७ करोड आम्दानी



काठमाडौं । जलस्रोतमा विश्वकै धनी देशका रुपमा चिनिदै आएको नेपालले पानी निर्यातबाट ठूलो रकम आर्जन गर्नसक्ने देखिएको छ । विदेशमा पानी निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सक्ने सम्भावना रहेको चर्चा चलिरहँदा नेपालले चालु आर्थिक बर्षको ९ महिनामै ५९ लाख ५० हजार ८ सय ८३ लिटर खानेपानी विदेश निर्यात गरेको छ । खानेपानी निर्यातको प्रचुर सम्भावना भएको नेपालले चालु आर्थिक बर्षको साउनदेखि चैतसम्म उक्त पानी निर्यात गरेर ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको हो ।

laxmi

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले यस अवधिमा जर्मनी, भुटान, भारत, जापानलगायतका देशहरुमा पानी निर्यात गरेको हो । यतिमात्रै होईन नेपालबाट यस अवधिमा अष्ट्रेलियासम्म पानी पुर्याएको छ । हुन त पछिल्लो समय विश्वबजारमै स्वच्छ खानेपानीको माग बढ्दो छ । नेपालका नदीनालाहरुमा अविरल बगिरहने प्राकृतिक पानी निर्यात गरेर अथाह आम्दानी गर्न सकिने सम्भावना रहेको बहस डेढ दशक अघिदेखि नै हुँदै आएको छ । तर, यस क्षेत्रका सरोकारवालाहरुले खासै चासो नदिँदा र सरकारले पनि उचित व्यवस्था नगरिदिँदा नेपालको पानी विभिन्न देशमा पुग्न नसकेको निर्यातकर्ताहरु बताउँछन् ।

विश्व व्यापारको तथ्यांक राख्ने ट्रेडम्यापका अनुसार विश्वका विभिन्न देशहरुले बर्षेनी १८ अर्ब अमेरिकी डलर बराबरको पानीको आयात गर्छन । यस्ता देशहरुले खासगरी तेस्रो मुलुकबाट पानी आयात गर्ने गरेको उक्त तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी पानी आयात गरेर खपत गर्ने देश भने अमेरिका हो । अमेरिकाले मात्रै बर्षेनी १ अर्ब डलर बढीको खानेपानी आयात गरेर खपत गर्ने गरेको छ । यस्तो पानी आयात गरेर खपत गर्ने देशको सूचीमा हंगकंग, जर्मनी, नेदरल्याण्ड, चीन, बेलायत, फ्रान्स, जापानलगायतका देशहरु छन् । यी प्रत्येक देशहरुले बार्षिक ५० करोड अमेरिकी डलर माथिको पानी आयात गरी खपत गर्ने गरेको तथ्यांकमा देखिन्छ ।

यसरी विश्वका ठुला देशहरुले पानी आयात गरेर खपत गरिरहेको मौकालाई छोप्दै अथाह सम्भावना भएको नेपालले पनि पानी निर्यातमा अग्रसरता देखाउनुपर्ने देखिन्छ । यता विश्वबजारमा पानी पानीको माग भइरहेबमोजिम नेपालको पानीको गुणस्तरलाई ध्यानमा राखी निर्यात बढाउन सकिए अर्थतन्त्रलाई ठुलो टेवा पुग्ने नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुब गौतम बताउँछन् । ‘अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष पानीको निर्यात केही बढेको छ,’ उनले भने, ‘यसै बेलामा सरकारले पानी निर्यातकर्ताहरुका लागि सहज रुपमा जग्गा उपलब्ध गराउने, नीति बनाउनेलगायतमा सहजीकरण गरिदिनुपर्छ ।’

हाल नेपालको गोसाईँकुण्ड, ककनी, लेलेलगायतका स्थानको पानीको गुणस्तर विश्वबजारका बजारको पानीको तुलनामा बढी छ । यहि पानीलाई निर्यात गर्न सकेको अवस्थामा अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने उनले बताए । उनले अब सरकारले नै जलविद्युत उत्पादनलाई प्राथमिकता दिएजसरी नै खानेपानीको उत्पादन र निर्यातलाई प्रश्रय दिनुपर्ने बताए । हाल नेपालले हंगकंगलगायत खाडी मुलुक र युरोपमासमेत पानी निर्यात गर्न थालेको उनको भनाई छ । विश्व बजारमा पानी निर्यात गर्ने देशलाई हेर्दा सबैभन्दा बढी निर्यात गर्ने देशको पहिलो सूचीमा फ्रान्स छ । फ्रान्सले बार्षिक १ अर्ब बढीको पानी विदेशमा निर्यात गर्ने गरेको ट्रेडम्यापको तथ्यांकमा उल्लेख छ । यसपछि चीन, इटाली, बेल्जियमलगायतका देशहरुले तेस्रो मुलुकमा बढी पानी निर्यात गर्ने गरेका छन् ।

यता नेपालको गुणस्तर तथा नापतौल विभागले सोमबार मात्रै नेपालको पानी विदेश निर्यात गर्न सहजीकरण हुनेगरी पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । यसले पनि नेपालको पानी निर्यातलाई केहि सहजीकरण हुने देखिन्छ । नेपालले पानी निर्यात मात्रै होईन आयात पनि गर्नेगरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पछिल्लो ९ महिनामा नेपालले ७९ लाख ३७ हजार रुपैयाँ बराबरको ५९ हजार ३ सय ९९ लिटर खानेपानी आयात गरेको छ । यसमार्फत नेपालले ४६ लाख १७ हजार रुपैयाँ बढी राजस्व उठाएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो पनि पढनुहोस

प्रतिक्रिया दिनुहोस्
MBL