Logo

साउनमा हरिया चुराको बढ्दो ट्रेन्ड : व्यापारी व्यस्त, चुरा आयातमै वार्षिक २ अर्ब बाहिरिदै

साउनमा हरिया चुराको बढ्दो ट्रेन्ड : व्यापारी व्यस्त, चुरा आयातमै वार्षिक २ अर्ब बाहिरिदै



काठमाडौं । साउन लागेसँगै नेपालमा चुराको माग ह्वात्तै बढ्छ । यो महिना विशेषगरि महिलाहरुले हरियो चुरा लगाउने ट्रेन्ड नै विकास भएपछि नेपालमा साउनमा व्यापारीहरु हरियो चुराको व्यापारमा व्यस्त छन् । साउनलगत्तै नेपाली हिन्दु नारीहरुको चाड मानिने तीजको रमझम शुरु हुने भएकाले र अन्य चाडपर्व पनि क्रमश आउने भएकाले चुराको व्यापार ह्वात्तै बढन थाल्छ । चुराको माग उच्च हुने भएकाले आयात पनि सोहीअनुसार बढ्छ ।

काँचका चुरा विशेषगरी भारत र चीनबाट ठूलो संख्यामा आयात हुने गरेको उद्योगीहरु बताउँछन् । अझ साउनका लागि चुराको आयात असारमा बढी हुने न्युरोडको असनस्थित एक चुरा व्यापारी बताउँछन् । यस्तै, प्लास्टिक र धातुका चुरा पनि भारत र चीनबाट आउने गरेको भन्सार विभागले जानकारी दिएको छ । तर, नेपालमा चुरा उत्पादनको अवस्था भने कमजोर छ । स्थानीयरूपमा काँचका चुरा केही मात्रामा बन्दै आए पनि ठूलो माग धान्न नसक्ने भएकाले चुरा आयात बढेको छ । कच्चा पदार्थको अभाव र आधुनिक प्रविधिको कमीले स्वदेशी उत्पादन सीमित भएका आएको देखिन्छ । यदि स्वदेशमा चुरा उत्पादन बढाउन सकियो भने विदेशी मुद्रा बाहिरिने क्रम कम हुने र रोजगारी सिर्जना हुने सम्भावना रहेको व्यापारीहरु बताउँछन् ।

यहि अनुसार गत आर्थिक बर्ष २०८१÷८२ मा नेपालले झण्डै २ अर्ब रूपैयाँ बराबरका चुरा आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा काँच, प्लास्टिक र धातुका चुरा आयात भएको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा १ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरका चुरा विदेशबाट आयात भएका छन् । यो अवधिमा नेपालमा ७६ करोड २४ लाख रुपैयाँ बराबरको काँचका, ७ करोड ८६ लाख रुपैयाँ बराबरका प्लास्टिकका, ५३ करोड ९९ लाख रुपैयाँ बराबरका सुनका र ६१ करोड ३१ लाख रुपैयाँ बराबरका अन्य धातुका चुराहरु आयात भएको देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार हार्माेनी कोड ७०१८१०१० मा काँचका चुरा र बेड्सको आयात सबैभन्दा बढी देखिएको छ, जसको परिमाण ३४ लाख ३० हजार ५०१ ग्रो, यस्तै, एसचएस कोड ३९२६९०१० मा प्लास्टिकका चुराको आयात ४ लाख २२ हजार ३०३ ग्रो र एचएस कोड ७११७१९०० मा धातुका चुराको आयात ७९ हजार ५२५ किलोग्राम भएको देखिन्छ । कुल मिलाउँदा गत आवको एक वर्षमा नेपालले चुरा आयातबाट ४२ करोड ४४ लाख २३ हजार रूपैयाँ राजस्व संकलन गरेको देखिन्छ । यद्यपि, यो रकमले आयातको ठूलो हिस्सा विदेशी मुद्रामा बाहिरिँदै आएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्