Logo

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो, औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो, औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो



काठमाडौं । कोरोना संक्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको संख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनी बताउँछन् ।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन् । उनी भन्छन्, ‘आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ ।’ धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७-७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८-७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष २०७९-८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिनुभयो । सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मंसिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन् ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा. सरोजकुमार रायले जानकारी दिए । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनी बताउँछन् ।

पछिल्लो समय दैनिक ३०-३५ बिरामी औषधालयमा आउने गरेको डा. रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उनले बताए । उनी भन्छन्, ‘अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।’ जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL