Logo

डण्डी उत्पादनमा बढ्दो भ्यालु एड, स्पञ्ज आयात १११ प्रतिशतले बढ्दा एमएस ब्लेट ६६ प्रतिशतले घट्यो

डण्डी उत्पादनमा बढ्दो भ्यालु एड, स्पञ्ज आयात १११ प्रतिशतले बढ्दा एमएस ब्लेट ६६ प्रतिशतले घट्यो



काठमाडौं । सरकारले डण्डी उत्पादनका लागि आवश्यक कच्चा पदार्थको भन्सार शुल्कमा फरक दर कायम गरेसँगै नेपालमा उत्पादन हुने डण्डीमा भ्यालु एड बढेको छ । स्पञ्ज आइरन (बिलेट बनाउने कच्चा पदार्थ) र एमएस ब्लेटको भन्सार शुल्क एउटै हुँदा नेपालका डण्डी उद्योगहरुले एमएस ब्लेट (तयारी फलाम) ल्याएर डण्डी बनाउँदै आएका थिए । तर, पछिल्लो समय एमएस ब्लेटको भन्दा स्पञ्ज आइरनको भन्सार शुल्क कम गर्दा डण्डी उद्योगीहरुले स्पञ्ज आईरन आयात गरी नेपालमै एमएस ब्लेट बनाएर डण्डी उत्पादन गर्ने क्रम बढेको हो ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत स्पञ्ज आइरन र एमएस ब्लेटको भन्सार शुल्क फरक कायम गरी स्पञ्ज आईरन आयातलाई प्राथमिकता दिएका थिए । जसको प्रभाव स्वरुप पछिल्लो समय एमएस ब्लेट आयातमा उच्च गिरावट आउँदा स्पञ्ज आइरन आयात भने ह्वात्तै बढ्न पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एमएस ब्लेट आयात ६६ प्रतिशतले घट्दै ८ अर्ब ९० करोड रुपैयाँको मात्रै आयात भएको छ । तर, सोही अबधिमा स्पञ्ज आइरन आयात भने १११ प्रतिशतले बढेर ११ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ ।

सरकारले एमएस ब्लेटको भन्दा स्पञ्ज आईरनको भन्सार शुल्क घटाएसँगै लगातार रुपमा एमएस ब्लेट आयात घट्दै आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आब २०७७।७८ मा ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस ब्लेट आयात भएको थियो भने सोही अबधिमा ७ अर्ब ८७ करोड रुपैयाँको मात्रै स्पञ्ज आइरन भित्रिएको थियो ।

तर, आब २०७८।७९ मा एसएस ब्लेट आयात ११ प्रतिशतले घट्दै ५१ अर्ब ३३ करोड रुपैयाँको भित्रिएको थियो भने स्पञ्ज आयात २ सय प्रतिशतले बढेर २३ अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो । सरकारले फरक भन्सार शुल्क लगाउने निर्णय गरेसँगै नेपाली उद्योगीहरुले एमएस ब्लेट उत्पादन गर्ने उद्योग लगाउँदा चालू आर्थिक वर्षमा स्पञ्ज आयात उच्च हुँदा ब्लेट आयातमा ठूलो गिरावट आएको सम्बद्ध उद्योगीहरु बताउँछन् ।

एक प्रकारले एमएस ब्लेट भनेको तयारी वस्तु (फलाम) हो । एमएस ब्यलेट ल्याएर रड बनाउँदा त्यसमा एकदमै कम भ्यालु एड हुन्छ । तर रड बनाउने वास्तविक कच्चापदार्थ स्पञ्ज आईरन ल्याएर त्यसबाट रड बनाउँदा त्यसमा भ्यालु एड बढी हुने सम्बद्ध उद्योगीहरु बताउँछन् । ‘हामीले एमएस ब्लेट आयात गरेर डण्डी बनाउँदा त्यसमा १० प्रतिशत पनि भ्यालु एड हुन कठिन थियो,’ ती उद्योगीले भने, ‘तर स्पन्ज आईरन आयात गरेर नेपालमै स्टिल विलेट उत्पादन गरेर रड उत्पादन गर्दा ५० प्रतिशतभन्दा भ्यालु एड हुन्छ ।’

स्पन्ज आइरन ल्याएर विलेट बनाउँदा प्रतिकिलो खर्च १६ देखि १८ रुपैयाँ पर्न आउँछ । जसमा विद्युत खर्च सबैभन्दा बढी हुन्छ भने सोही अनुरुप श्रमिक ज्याला तथा अन्य खर्च हुने छ । जसबाट नेपालमा उत्पादित विजुलीको उच्च खपत हुनुका साथै नेपाली श्रमिकले समेत रोजगारी पाउनेछन् । देशमा स्पञ्ज आईरन ल्याएर रड उत्पादन गर्ने क्रम बढेसँगै त्यस्ता उद्योगबाट विद्युतको मागसमेत उच्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL