Logo

आयातमा कडाईपछि पेट्रोलियम पदार्थको आयात : परिमाण घट्यो, रकम बढ्यो

आयातमा कडाईपछि पेट्रोलियम पदार्थको आयात : परिमाण घट्यो, रकम बढ्यो



काठमाडौं । चालु आवको पहिलो चार महिनामा पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा सोही अवधिमा आयात परिमाण घटेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार यस अवधिम डिजेल पेट्रोल, खाना पकाउने ग्याँसलगायतको आयात परिमाण घटेको हो ।

नेपालले पछिल्लो समय पेट्रोलियम पदार्थको खपत घटाउन गरेका विभिन्न कदमले यसको आयातमा केही असर गरेको तथ्यांकमा देख्न सकिन्छ । २ दिन विदा दिने, जोरविजोर गाडी संचालनमा ल्याउने, विद्युतीय सवारीसाधन र चुलो प्रयोगमा जोड दिनेलगायतका क्रियाकलापले चालु आवमा पेट्रोलियमको खपत पनि गत आवको तुलनामा घटेको नेपाल आयल निगमले जानकारी दिएको छ । यसरी नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दा त्यसको प्रत्यक्ष असर डिजेल, पेट्रोल र ग्याँसको आयातमा देखिएको छ ।

यद्यपि पेट्रोलियम पदार्थको आयात परिमाण घटेपनि विश्व बजारमा यसको मूल्यवृद्धिका कारण रकम भने बढेको विभागको तथ्यांकमा उल्लेख छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो ४ महिनामा नेपालले ३४ करोड ८ लाख लिटर डिजेल आयात गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा करिव साढे १२ करोड लिटर कम हो । अर्थात गत आवको पहिलो ४ महिनामा नेपालले ४६ करोड ४५ लाख लिटर डिजेल आयात गरेको थियो ।

परिमाणमा डिजेल आयात घटेपनि आयात रकममा भने गत आवको तुलनामा वृद्धि भएको देखिन्छ । नेपालले चालु आवको पहिलो ४ महिनामा डिजेल खरिदमा मात्रै ४४ अर्ब २८ करोड रुपैयाँ बढी खर्च गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिव १० अर्बले बढि हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालले डिजेल आयातमा ३४ अर्ब ३३ करोड रुपैयाँ बराबर खर्च गरेको थियो ।

यस्तै पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात उच्च घटेसँगै पेट्रोल र खाना पकाउने ग्याँसको आयातमा समेत सोहीअनुसारको गिरावट आएको देखिएको छ । भन्सार विभागका अनुसार चालु आवको ४ महिनामा पेट्रोल २२ करोड ९१ लाख लिटर आयात हुँदा १७ करोड ७१ लाख किलो ग्याँस आयात भएको छ । यो तथ्यांक गत आवको तुलनामा क्रमशः २४ करोड लिटर र १ करोड किलोले कम हो । गत आवको पहिलो ४ महिनामा नेपालमा पेट्रोल २४ करोड २१ लाख लिटर र खाना पकाउने ग्याँस १७ करोड १२ लाख किलो आयात भएको थियो ।

यता मूल्यमा कुरा गर्दा दुबै वस्तुको आयात भने उच्च वृद्धि भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक बर्षको पहिलो ४ महिनामा पेट्रोल आयातमा १८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो । उक्त रकम चालु आवको सोही अवधिमा बढेर २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस्तै खाना पकाउने ग्याँस आयातमा पनि गत आवको पहिलो ४ महिनामा १७ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको थियो । उक्त रकम यो बर्ष बढेर १९ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

यसरी पेट्रोलियम पदार्थको खपत घटाएर नेपालले व्यापारघाटामा केही सहयोग पुग्नुपर्नेमा त्यसो हुन सकेको छैन । गत आर्थिक बर्षको पहिलो चौमासिक वरीपरी विश्वबजारमा पेट्रोलियम पदार्थ प्रतिव्यारल ६० देखि ७० डलरको आसपासमा खरिदविक्री भईरहेको थियो । तर, यो बर्ष यो मूल्य बढेर प्रतिव्यारल ८० देखि ९० डलर बढि पुगेपछि नेपालमा आउने पेट्रोलियम पदार्थको परिमाणको तुलनामा मूल्य बढि हुन पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL