Logo

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा



काठमाडौं । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् ।

त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरुले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै लगेका छन् । कुचोको उचित मूल्य प्राप्त गर्न नसक्दा आफूहरू मर्कामा परेको त्रियुगा नगरपालिका–१४ साउनेका देवराज लुङ्गेली मगर बताउनुहुन्छ । ‘लामो समयदेखि अम्रिसो खेती गरी कुचो बनाउँदै आएका छौँ, तर उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भने ।

रौतामाई गाउँपालिका मुर्कुचीका लोकबहादुर पुलामी पनि अम्रिसोको कुचोले उचि मूल्य पाउन नसकेको गुनासो गर्छन् । ‘सात वर्षदेखि अम्रिसो उत्पादन गर्दैआएको छु, मूल्य भने कहिल्यै बढेन’, उनले भने । पुलामीका अनुसार सात वर्षदेखि अम्रिसोको कुचो खरिदकर्ताले प्रतिकुचो न्यूनतम ४० र अधिकतम् ५० रुपैयाँ सम्ममा मात्र खरिद गर्दैआएका छन् । बजारमा व्यापारीले प्रतिकुचो ८० देखि १ सय रुपैयाँका दरले बिक्री गर्दैआएका छन् ।

यस क्षेत्रमा उत्पादन हुने अम्रिसोको कुचो सदरमुकाम गाईघाटका खरिदकर्ताले जिल्ला बाहिर सप्तरी, सिरहा, राजविराज, धनुषा, सर्लाही, इटहरी र विराटनगरसम्म लगेर बिक्री गर्ने गरेका छन् । अम्रिसोको कुचोले उचित मूल्य प्राप्त गर्न नक्दा घाटा सहनु परेको उदयपुरगढी डुम्रेका खगेन्द्र राउत बताउँछन्। ‘खरिदकर्ताले सस्तोमा किन्ने गर्छन्, दोब्बर मूल्यमा अरुलाई बिक्री गर्छन्’, उनले भने ।

गाईघाटका व्यापारी सुरेन्द्र साह बाहिरी जिल्लामा बिक्री गर्न लैजाँदा ढुवानी भाडाका कारण कुचो महङ्गो हुने गरेको बताउँछन् । बेलका नगरपालिकाको पहाडी क्षेत्रको बबला, मैनामैनी, चौदण्डीगढी नगपालिकाको चौदण्डी, सिद्धिपुर क्षेत्रमा अम्रिसो खेती हुँदै आएको छ । यस्तै त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको मुर्कुची, पोखरे, सल्ले, भुटारसहित उदयपुरगढीको भलायाडाँडा, डुम्रे क्षेत्रमा पर्याप्त मात्रामा अम्रिसो उत्पादन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL