Logo

अर्बौको अम्रिसो र कुचो निर्यात गर्दै नेपाल, व्यापार विविधिकरण र निर्यातमा योगदान बढ्दो

अर्बौको अम्रिसो र कुचो निर्यात गर्दै नेपाल, व्यापार विविधिकरण र निर्यातमा योगदान बढ्दो



काठमाडौं । नेपालको कुल निर्यात व्यापारमै उच्च हिस्सा बनाएको खानेतेलको निर्यात भारतीय नीतिका कारण अप्रत्यासित रुपमा एकाएक बन्द भयो । कुल निर्यातको करिव ६८ प्रतिशतसम्म हिस्सा ओगटिसकेको यसको निर्यातकै कारण गत आर्थिक बर्ष नेपालको कुल बार्षिक निर्यात झण्डै २ खर्ब बढी पुगेको थियो । तर, भारतले यसको आयातमा उच्च कर लगाएपछि नेपालबाट भारतमा जाने खानेतेलको निर्यात रोकियो र हाल खानेतेलको यसको निर्यात सूचीको पुछारमा पुगेको छ ।

laxmi

यसरी नेपालको निर्यात व्यापारमा उत्साह थपिदिएको खानेतेलको निर्यात ठप्प हुँदा पहिले विज्ञहरुले भनेझैं नेपालको कुल निर्यात व्यापारमै ठूलो धक्का लाग्यो । विज्ञहरुले एकै वस्तु एकै देशमा अप्रत्यासित रुपमा ठूलो मात्रामा निर्यात हुँदा पछि त्यो वस्तुमाथि उक्त देशले सानो नीति परिवर्तन गरिदिए निर्यात व्यापारमै धक्का पुग्ने बताएका थिए । यसैका कारण पनि नेपालको निर्यात व्यापारमा विविधिकरण ल्याउनुपर्ने विज्ञहरुको सुझाव थियो । जसमा नेपालको निर्यात तेलमुखी मात्रै नबनाएर अन्य वस्तुहरुलाई पनि प्राथमिकता दिनुपनर्,े भारतमुखी मात्रै नभई अन्य देशमा पनि वस्तु निर्यातको सम्भावना खोज्नुपर्नेलगायतका सुझावहरु उनीहरुका थिए ।

शतप्रतिशत नेपाली वस्तु र त्यसैको निर्यात प्रवद्र्धन गर्न सकेपनि नेपालको निर्यात व्यापारमा ठूलो फड्को मार्न सकिने अवस्था देखिएको विज्ञहरुको भनाई थियो । गत बर्षसम्म नेपालको निकासी व्यापार खाने तेलकेन्द्रित भएर उकालो लागेपनि नेपालका धेरैजसो वस्तुहरु निकासी गर्ने ठूलो अवसर भने रहँदै आएको छ । नेपालको निकासी व्यापार भारतकेन्द्रित मात्रै हुँदा कालान्तरमा ठुलो संंकट व्यहोर्नुपर्ने संकेत विज्ञहरुले दिइरहँदा नयाँ वस्तु र नयाँ देशमा व्यापार विस्तार गर्न सकिने सम्भावना पनि उत्तिकै बढ्दैछन् ।

जसमा अम्रिसो पनि एक हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा प्रशस्तै पाइने डालेघाँस जातको बनस्पति अम्रिसोले नेपालको व्यापारघाटामा नयाँ आयाम थप्ने देखिन्छ । पछिल्लो समय बढिरहेको यसको उत्पादन र व्यापारले आगामी दिनमा यसको सम्भावना राम्रो भएको देखाउँछ । गत आर्थिक बर्षभर अर्थात आव २०७९/८० मा नेपालबाट अम्रिसो र यसबाट बनेको कुचोमात्रै १ अर्ब ८८ लाख रुपैयाँ बराबरको १ करोड ४९ लाख ७८ हजार किलो निर्यात भएको देखिन्छ । नेपालमा प्रशस्तै मात्रामा पाइने यो वनस्पतिबाट बन्ने कुचोहरु भारत, बंगलादेशदेखि चीनसम्म पुग्छन् ।

यता पछिल्लो ५ बर्षको तथ्यांकलाई हेर्दा पनि नेपालबाट निर्यात हुने अम्रिसोको परिमाण बढिरहेको देख्न सकिन्छ । जसअनुसार आव २०७५/७६ मा नेपालले ४० करोड ५७ लाख ३८ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेकोमा त्यसको पछिल्लो बर्ष आव २०७६/७७ मा ५५ करोड ७४ लाख ७७ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको थियो । त्यस्तै आव २०७७/७८ मा नेपालले ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेकोमा आव २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको थियो । त्यो परिमाण गत बर्ष झन बढेर १ अर्ब माथि पुगेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

अम्रिसोको बजार छिमेकिी देश भारतमा मात्रै नभई चीन, पाकिस्तान, बंगलादेश अमेरिकालगायतका देशहरुमा पनि छ । तर, नेपालले भनेजति उत्पादन गर्न नसक्दा बजारमा पुर्याउन हम्मेहम्मे नै हुनेगरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक कृष्ण बजगाईँ बताउँछन् । उनका अुनसार नेपालका हरेक बाँझा क्षेत्रहरुमा अम्रिसो लगाउने हो भनेपनि नेपालले बार्षिक अर्वाैँको अम्रिसो निर्यात गर्ने अवसर पाउँछ ।

तथ्यांक अनुसार चालु आर्थिक बर्षको ५ महिना अर्थात गएको साउनदेखि मंसिरसम्ममा मात्रै नेपालले ५४ करोड ९० लाख रुपैयाँ बराबरको ४५ लाख ७६ हजार किलो बढि अम्रिसोको कुचो बेचिसकेको छ । यसरी नेपालबाट विक्री हुने अम्रिसो विदेशका विभिन्न देशमा जानुपूर्व विभिन्न चरण पार गरेको हुन्छ । पूर्वी नेपालका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरी क्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ ।

कृषकबाट कच्चा मालका रूपमा अम्रिसो थोक मुल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरिन्छ । त्यहाँका व्यापारीहरूले थप ब्रान्डिङ, प्याकेजिङ गर्ने र ५० किलोको बन्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । अम्रिसोको बोटबाट फूल थुतेर १ हप्ता सुकाएपछि यो विक्रीका लागि तयार हुन्छ । भीर पाखामा समेत लगाउने सकिने अम्रिसो भूक्षय नियन्त्रणका लागि राम्रो वनस्पति मानिन्छ ।

चालु आर्थिक बर्षको ५ महिनामा नेपालबाट भारत, बंगलादेश, चीनलगायतका देशमा अम्रिसोको कुचो गएको देखिन्छ । यसरी अम्रीसोको निर्यात बढेसँगै नेपालमा पनि यसको उत्पादन बढाउनुपर्ने अवस्था आएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । उनका अनुसार पछिल्लो समय भारतले पनि यसको उत्पादन बढाएको छ । यसरी भारतले उत्पादन बढाउँदा नेपालमा भने यसको मूल्य घटिरहेको अवस्था छ । खास नेपाली अम्रिसोको मुख्य बजार नै भारत भएपनि त्यहाँ यसको उत्पादन बढ्दा नेपाली अम्रिसोको मूल्यमा केही दबाव परेको उनी बताउँछन् ।

यस्तै उनी अब अम्रिसोको बजार भारतबाहेकका देशमा पनि खोज्नुपर्ने बेला आएको बताउँछन् । ‘अम्रिसो नेपालमा उत्पादन हुने एक मात्रै त्यस्तो वस्तु हो जसले नेपालमा आयात हुने प्लास्टिकको कुचो आयातलाई प्रतिश्थापन गर्ने र नेपालको निर्यातलाई बढाउने काम गरेको छ,’ उनले भने, ‘यस्तो वस्तुको उत्पादन बढाउने र बजार विस्तारमा ध्यान दिने काम हामीले प्राथमिकताका साथ गर्नुपर्नेछ ।’

प्रत्येक बर्ष अम्रिसोको निर्यात र व्यापार हुने सिजन माघदेखि सुरु हुन्छ । यसरी सिजन सुरु भएपछि यसको निर्यात झन धेरै बढ्ने सम्भावना रहेको संघका उपाध्यक्ष रविन्द्र खड्का बताउँछन् । ‘यो बर्ष अझै सिजन सुरु भएको छैन, यसको सिजन पछि झन धेरै निर्यात हुने देखिएको छ,’ उनले भने, ‘यसरी प्रत्येक बर्ष नै नेपालबाट यसको निर्यात बढिरहँदा विदेशमा यसको थप बजार भने विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ उनले नेपालले विदेशमा यसको माग अनुसार आपुर्ति नै गर्न नसकिएको बताए ।

व्यापार विविधिकरणमा सहयोग

पछिल्लो समय नेपालका रैथाने उत्पादनले पनि विश्वबजारमा व्यापार पाउँदा एकातर्फ नेपालको निर्यात व्यापार फस्टाएको छ भने अर्कातर्फ यसले नेपालको उत्पादकत्व बढाउनसमेत सहयोग पुर्याएको छ । यस्तै नेपाल कुनै एक वस्तु र एक देशमा मात्रै निर्यातको व्यापार गर्ने प्रवृत्तिबाटसमेत बाहिर आउन सक्ने विज्ञहरु बताउँछन् ।

हाल नेपालले गर्ने कुल निर्यात व्यापारको ६० देखि ८० प्रतिशत हिस्सा भारतको छ । त्यसमा पनि विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधनसँगै केही भ्यालु एड गरिने केहि वस्तुको निर्यात यस्तो व्यापारमा उल्लेख्य देखिन्छ । यसरी केहि सीमित वस्तुले नेपालको निर्यात व्यापारको ठुलो हिस्सा ओगटेका वस्तुमा भारतले नयाँ व्यवस्था ल्याएको खण्डमा नेपालबाट यस्ता वस्तुको निर्यात नै बन्द हुने र हाल भइरहेको व्यापारमा उल्लेख्य गिरावट आउने देखिन्छ ।

यसरी एकै वस्तु र देशमा केन्द्रित वस्तुहरुलाई घटाई वस्तु र देशमा निर्यात विकेन्द्रिकरण गर्दा निर्यात व्यापारमा दिर्घकालिन फड्को मार्न सकिने देखिन्छ । जसमा नेपालका रैथाने उत्पादनहरुलाई विशेष जोड दिन जरुरीसमेत छ । पछिल्लो समय यहि प्रवृत्तिलाई निरन्तरता दिन नेपालबाट प्लाईउड, जुस, धागो, अम्रिसोलगायतका वस्तुहरुको व्यापार बढेको देखिन्छ । पछिल्लो समय बढिरहेको अम्रिसोको निर्यातले नेपालको निर्यात व्यापारलाई विविधिकरण हुने देखिन्छ ।

के छ विश्वबजारमा ?

विश्वबजारको कुरा गर्दा कुचोको बजार मात्रै बार्षिक ९ अर्ब ७० करोड डलरको पुगेको बताईन्छ । विश्वमा सबैभन्दा धेरै कुचो निर्यात गर्ने देश चीन हो भने आयात गर्ने देश अमेरिका हो । सन २०२२ मा चीनले ४ अर्ब ५१ करोड डलर बराबरको कुलो बेच्दा अमेरिकाले मात्रै १ अर्ब ७० करोड रुपैयाँ बराबरको कुचो आयात गरेको देखिन्छ । यसलाई विश्वबजारमा सन २०२२ मा सबैभन्दा धेरै विक्री हुने वस्तुको सूचीको ३२४ औं स्थानमा राखिएको छ ।

यस्तै उक्त बर्ष जर्मनीले १ अर्ब १३ करोड, अमेरिकाले ४२ करोड ३० लाख, इटालीले २४ करोड डलर मुल्य बराबरका कुचोको निर्यात गरेको तथ्यांकमा उल्लेख छ । यस्तै यसको उच्च आयात गर्ने देशको सूचीमा भने क्रमशः अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र जापान छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL