Logo

अर्थतन्त्र चलायमान बनाउने पर्व दसैँ, देशभरिकै बजारमा चहलपहल

अर्थतन्त्र चलायमान बनाउने पर्व दसैँ, देशभरिकै बजारमा चहलपहल



काठमाडौं । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ ।

दसैँले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।

दसैँ र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैँमा उपभोग हुने अनुमान गरिन्छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दसैँ पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् ।

जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आउनु भएका उज्ज्वल दाहाल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउछन् । उनले उद्योगी व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गरेको बताए।

“दसैँको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ भन्छन् । टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तालाई दसैँको बेला दिइने छुट नै पर्खेर बस्ने बानी लागिसकेको उनको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैँ लक्षित प्याकेज बिक्री गर्न थालेका छन् ।

दसैँले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैँ केन्द्रित किनमेलको चाप बढ्दो छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको दाहाल बताउछन् ।

रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरु पनि दसैँ मनाउन आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् ।

यसले पनि दसैँमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ । सरकारले दसैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दसैँलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।

दसैँ तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । “पहिले पनि दसैँं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो ।

पहिले दसैँं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, अर्थशास्त्री डा लाभले भने ।

पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार औषतमा दसैँताका करिब रु १०÷१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।

अर्थविद्हरुका अनुसार दसैँअघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैँ, तिहार र छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ ।

दसैँंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहको भनाइ छ । उनको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ । यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दसैँंको निकै चहलपहल बढेको छ ।

जनकपुरका मुख्य बजारहरु शिवचोक, रामचोक, मुरलीचोक, जानकीचोकलगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ ।

जनकपुरधाममा असोज १० गते घटस्थापनादेखि शुरु भएको दसैँ बजार असोज १७ गते महाअष्टमीसम्म सञ्चालन हुने गर्दछ । सस्ता बजारको नाममा चिनिने यस बजारको जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा सहकार्यमा शुरु भएको दसैँ बजारले स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने विश्वास धनुषाका प्रमुख जिल्ला अधिकारी एवं मेला व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलको रहेको छ ।

मेलामा खाद्यान्न सामाग्रीहरू, साबुन, अगरबत्ती, चाउँचाउँ, बिस्कुट, प्लास्टिकका भाडा वर्तन, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामाग्रीहरू सहितका अन्य दैनिक उपभोग्य सामाग्रीहरू सहित ९४ वटा बिक्री कक्षमा राखिएको वाणिज्य सङ्घले जनाएको छ ।

विगतमा कोरोना महामारीका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र बनाएर सहुलियत दरमा सामानको बिक्री वितरण गर्ने काम भइरहेकाले यसले आम तथा निम्न वर्गका उपभोक्तालाई राहत पुग्ने विश्वास गरिएको छ ।

जनकपुरधामको ऐतिहासिक गोपाल धर्मशालामा शुरु भएको दसैँ बजार विगत वर्षहरुमा कोरोना महामारीका कारणले नलागे पनि यसपटक धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दसैँ बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

सस्तो बजारको रुपमा रहेको दसैँ बजारको मूल्यमा नै जनकपुरधामको केही पसलमा मूल्यसूची राखेर उपभोग्यका सामानहरू छठसम्म बिक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दसैँ बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीहरूले पनि खरिद गरेर लाने भएकाले यसमा करोडौंको कारोबार हुने गरेको छ ।

सोझै कम्पनीबाट नै सामानहरू जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सामानहरू सस्तो पर्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्
MBL