Logo

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै



काठमाडौं । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ ।

पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ । मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ ।

च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उनले जानकारी दिए । उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन् । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आर्किषत बनेको देखिन्छ । ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ । सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ ।

पोखरामा घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ । भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ । मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताए । “हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडा तथा च्याङ्ग्रामा चाँडै नै स्वासप्रश्वासमा समस्या आउने गर्दछ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पु¥याउन सकिन्छ”, उनले भने, “हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउनेजस्ता समस्या पनि नभएका भने होइनन् ।”

मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिए । विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पु¥याउन गाह्रो हुने देखिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए ।

अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

पोखरामा च्याङ्ग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ । तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्याङ्ग्रा पनि ल्याउने गरेको पाइन्छ । तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्याङ्ग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रौबरबाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बूढापाका बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL