Logo

आयातको सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनमा : साउनमा पेट्रोल, डिजेल, ग्यासका लागि २१ अर्ब रकम बाहिरियो

आयातको सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनमा : साउनमा पेट्रोल, डिजेल, ग्यासका लागि २१ अर्ब रकम बाहिरियो



काठमाडौं । नेपालले विदेशबाट गर्ने आयातमा सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनले ओगटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना अर्थात साउनको विवरण अनुसार कुल आयातमा सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनले ओगटेको देखिएको हो ।

laxmi

नेपालले साउनमा विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले गत साउनमा ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ भने ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ । यस्तै साउनमा मात्रै ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ । यी वस्ुतको आयातमा मात्रै नेपालले करीब २१ अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ ।

यस्तै नेपालले साउन महिनामा मात्र ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ भने ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । यी दुई तेलको आयातमा मात्र नेपालले १० अर्ब बढी रकम विदेश पठाएको छ ।

यस्तै साउन महिनामा ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँको स्टील, ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँको फलाम र २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँको खोप आयात भएको छ । यसैगरि साउनमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल फोन र २ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँको युरिया मल नेपालले आयात गरेको विभागको तथ्यांकमा छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो महिना गत आवको सोही अवधिको तुलनामा निर्यातको व्यापार २८ प्रतिशतले घटेको छ । वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आर्थिक बर्षको साउनमा नेपालले गर्ने निर्यात घटेको हो । तथ्यांक अनुसार गत आवको साउन महिनामा नेपालले २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । तर, चालु आवको साउनमा उक्त आयात घट्दै १४ अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।

यस्तै यस अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने गत आवको तुलनामा बढेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउनमा गत आवको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २।.४ प्रतिशतले बढेको हो । गत आवमा यस्तो हिस्सा ८७.८९ प्रतिशत थियो भने चालु आवमा यो बढेर ८९.८६ प्रतिशत पुगेको हो ।

भन्सार विभागका अनुसार चालु आवको पहिलो महिनामा नेपालले १ खर्ब ३१ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा भने कम हो । गत आर्थिक बर्षको पहिलो महिना नेपालले १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो ।

यसरी वैदेशिक व्यापारलाई हेर्दा गत आवको पहिलो महिनाको तुलनामा व्यापारघाटा पनि घटाएको छ । गत आर्थिक बर्षको साउनमा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको मा यो बर्षको साउनमा १० प्रतिशतले घटेर १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL