Logo

आज रक्षाबन्धन, जनैपूर्णिमा र गाइजात्रा पर्व

आज रक्षाबन्धन, जनैपूर्णिमा र गाइजात्रा पर्व



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

laxmi

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

क्वाँटीको परम्पररा

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लाग्छ ।

यसैगरि प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

‘रक्षाबन्धन, जनैपूर्णिमा शास्त्रसम्मत’

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।

“धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखा सूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन २६ गते सूर्योदयको दुई घडीपछि पूर्णिमा तिथि लाग्छ । साउन २७ गते चार घडीभन्दा कम पूर्णिमा तिथि छ । पूर्णिमा तिथि टुटेको समितिले जनाएको छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाले भ्रममा नपरी त्यसै अनुरुप पर्व मनाउन समितिले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL