Logo

३० कम्पनीका ६ अर्ब ६४ करोडको आइपीओ पाइपलाइनमा : हाइड्रो, डिसहोमदेखि सिमेन्ट र लघुवित्तसम्म वेटिङमा

३० कम्पनीका ६ अर्ब ६४ करोडको आइपीओ पाइपलाइनमा : हाइड्रो, डिसहोमदेखि सिमेन्ट र लघुवित्तसम्म वेटिङमा



काठमाडौं । धितोपत्र बजारमा प्रथामिक सेयर निष्काशन (आइपीओ)का लागि ३० कम्पनी पाइपलाइनमा छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म विभिन्न ३० कम्पनीले ६ अर्ब ६४ करोड ६५ लाख ५१ हजार रुपैयाँ बराबरको ६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता आइपीओका लागि बोर्डमा आवेदन दिएका छन् ।

जसमध्ये ४ कम्पनीको सबै डकुमेन्ट रिभ्यु गरी टिप्पणी पठाइसकिएको छ भने, ७ कम्पनीको डकुमेन्ट रिभ्यु गरी नपुगेको डकुमेन्ट मागेर फेरी आएको डकुमेन्ट पनि रिभ्युको चरणमा रहेको बोर्डले जानकारी दिएको छ ।

आइपीओ जारी गर्नका लागि आवेदन दिएका मध्ये जलविद्युतसम्बन्धी १६ ओटा र लघुवित्त, अतिरिक्त र उत्पादनमुलक समुहका ३÷३ कम्पनीले आइपीओका लागि आवेदन दिएका छन् । यस्तै होटल तथा पर्यटन र बीमा समुहका २÷२ कम्पनीले आइपीओका लागि आवेदन दिँदा अतिरिक्त समुहको १ कम्पनीले आईपीओका लागि आवेदन दिएको बोर्डले जानकारी दिएको छ । आवेदन दिने जलविद्युत कम्पनीमध्ये धेरैजसोले प्रभावित क्षेत्रका लागि आइपीओ छुट्याएका छन् ।

बोर्डले जानकारी दिए अनुसार घोराही सिमेन्टले पनि आइपीओ निश्काशनका लागि आवेदन दिएको छ । कम्पनीले प्रिमियम मुल्य जोडेर प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय ३५ रुपैयाँ तोकेर आइपीओ निश्काशन गर्नेगरी बोर्डमा आवेदन दिएको हो । कम्पनीले साउन ९ गते मात्रै आइपीओ निश्काषनका लागि बोर्डमा आवेदन दिएको थियो ।

यस्तै सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल र अपर स्यांगे जलविद्युत कम्पनीले गत असार मसान्तकै दिन बोर्डमा आवेदन दिएका थिए । जसमा सर्वोत्तम र रिलायन्स मिलले बुक विल्डिङ विधिबाट आइपीओ निश्काषन गर्ने अनुमति मागेको छ । बोर्डले दिएको जानकारी अनुसार सर्वोत्तमको बुकविल्डिङ रेञ्ज प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँसम्म छ भने रिलायन्सको प्रतिकित्ता मुल्य ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म रहेको छ ।

यता लघुवित्ततर्फ बीपीडब्लु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाले पनि आइपीओ निश्काषनका लागि बोर्डसमक्ष आवेदन पेश गरेका छन् । यी कम्पनीहरुले क्रमशः ९७ हजार, २ लाख ३ हजार र ३ लाख ९३ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि छुट्याएका छन् ।

यस्तै डिस मिडियो नेटवर्क र आइएमई लाईफ इन्स्योरेन्सले आइपीओका लागि अघिल्लो बर्ष र गत बर्ष नै आवेदन दिएको भएपनि हालसम्म स्वीकृत भईसकेको छैन ।

कुनै पनि कम्पनीले आईपीओ जारी गर्नका लागि बोर्डको अनुमति लिनुपर्छ । त्यसका लागि आवश्यक कागजातहरु बोर्डसमक्ष पेश गरी स्वीकृत भएपछि मात्रै आइपीओ निश्काषन गर्न पाईने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL