Logo

बागमतीमा सार्वजनिक सवारीसाधनको भाडा बढाउँदै प्रदेश सरकार, कहिलेदेखि बढ्छ ?

बागमतीमा सार्वजनिक सवारीसाधनको भाडा बढाउँदै प्रदेश सरकार, कहिलेदेखि बढ्छ ?



काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवरीसाधनको भाडा वृद्धि गर्ने भएको छ । प्रदेश सरकारले गत बर्षको कात्तिक महिनामा अन्तिमपटक काठमाडौं उपत्यकालगायत बागमती प्रदेशभित्र चल्ने गाडीको भाडा भढाएको थियो । त्यसबेला प्रदेश सरकारले साविकको भाडादरमा २ देखि ३ रुपैयाँले बढाउँदै चढ्नेवित्तिकै १५ लिईँदै आएको भाडा बढाएर १८, २० लिने ठाउँमा २२, २५ को ठाउँमा २८ र ३० को ३२ रुपैयाँ तोकेको थियो । पछि पुनः नेपाली रुपैयाँको नोटभन्दा सानो भाडादर लागु हुँदा यातायात व्यवसायीले बाँकी रहेको चानचुन पैसा यात्रुलाई फिर्ता नदिएको भन्दै गुनासो आएपछि फागुनमा भाडादर समायोजन गरिएको थियो ।

laxmi

पछिल्लो पटक भाडा बढेदेखि हालसम्म ७ पटक इन्धनको मूल्य बृद्धि भएको भन्दै यातायात व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । यसै सन्दर्भमा प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाउने निश्चित भएको छ । प्रदेश सरकारले खुद्राको लफडा भएको भन्दै ट्याक्सीको भाडा समायोजन गर्ने बेलामा प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर न्युनतम २० रुपैयाँदेखि क्रमशः २५, ३०, ३५ रुपैयाँसम्म पुर्र्याएको थियो ।

त्यसयता तेलको मूल्य उच्च रुपमा बढेपनि हालसम्म प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर नबढेको नेपाल यातायात व्यवसायी केन्द्रीय महासंघले जानकारी दिएको छ । सरकारले खासगरी प्रदेशमा चल्ने सवारीसाधनको भाडादर गत बर्षको कात्तिकमै बढाएको थियो । पेट्रोलियमको मूल्य घटबढ भएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर ७ पटकसम्म समायोजन गरिसकेको छ ।

यसयता मात्रै तेलको मूल्यको आधारमा भाडा बढाउनुपर्दा साविकको भाडादरमा १८ देखि २० प्रतिशतसम्मले बढाउनुपर्ने व्यवसायीको माग छ । सोहीअनुसारको सुझाव बागमती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रायलमा पठाएको महासंघका महासचिव भरत नेपाल बताउँछन् । ‘पछिल्लो पटक भाडा बढाएयता तेलको मूल्य १८ देखि २० प्रतिशतले बढेको छ हामीले भाडा पनि सोही अनुसार बढाउन सुझाव दिएका छौं,’ उनले भने, ‘हाम्रो माग र सुझाव १८ देखि २० प्रतिशतको भएपनि १५ देखि १६ प्रतिशतले भाडा बढ्नेमा हामी निश्चिन्त छौं ।’

प्रदेश सरकारले गाडीभाडा १५ देखि १६ प्रतिशतले बढाएमा हाल चढ्नेवित्तिकै लाग्ने गाडी भाडामा २ देखि ३ रुपैयाँ थपिएर २२ देखि २३ रुपैयाँ पुग्नेछ भने १० किलोमिटरसम्मको भाडा २८ रुपैयाँ १५ किलोमिटरसम्म ३२ रुपैयाँ र २० किलोमिटरसम्म ३७ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै २० किलोमिटरदेखि माथिका लागि भने ४० रुपैयाँ तिर्नुपर्ने छ ।

गाडी भाडा वृद्धिका लागि प्रदेश मन्त्रालयले रायसुझावसहितको कार्यविधि मुख्यमन्त्रीको कार्यालयमा पठाईसकेको मन्त्रालयका सहसचिव हरिहर पोख्रेल बताउँछन् । उनका अनुसार यति प्रतिशतले गाडीभाडा बढ्दैछ भनेर अहिलै भन्न नसकिएपनि मुख्यमन्त्री कार्यालयबाट कार्यविधि पास भएर आएपछि करिव १ हप्ताभित्रै प्रदेशभित्र चल्ने गाडीको भाडा समायोजन हुनेछ । हाल प्रदेशभित्र चल्ने सार्वजनिक यातायातमा चढ्नेवित्तीकै ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ लाग्ने गरेको छ ।

व्यवसायीले आफै बढाए भाडा

यता प्रदेश सरकारले गाडीभाडा बढाउने तयारी अन्तिम चरणमा पुर्याउँदै गर्दा काठमाडौंमा चल्ने केहि सार्वजनिक यातायात व्यवसायीले भने एक हप्ता अगावैदेखि आफै भाडा बढाएर यात्रुसँग असुलिरहेका छन् । काठमाडौंमा चल्ने कीर्तिपुर यातायात, नेपाल यातायात, बुढानीलकण्ठ यातायातलगायतले यात्रुसँग हाल २ देखि ३ रुपैयाँसम्म बढाएर भाडा लिईरहेको एक यातायात व्यवासायीले नै बताए ।
भाडा बढाएर लिने ३५ सवारीसाधनलाई बुधबार कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजीव शर्मा दासले बताए । उनका अनुसार सरकारले भाडा नबढाएकै यात्रुसँग बढी भाडा असुल्ने गाडीलाई तत्कालै कारबाही गर्ने गरिएको छ । यात्रुले बढी भाडा लिने बसको नम्बर १०३ मा फोन गरेर टिपाउन उनले अनुरोध गरेका छन् । हाल उल्लेखित यातायात व्यवसायीहरुले चढ्नेवित्तीकै ५ किलोमिटरसम्म २२ रुपैयाँ, १० किलोमिटरसम्म २८ रुपैयाँ, १५ किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरसम्म ३७ रुपैयाँ यात्रुसँग असुलीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL