काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४३ (खुला र बन्दमुखी) म्युचुअल फन्डहरु मुद्दती निक्षेपमा लगानी घटाएर सेयर बजारमा बढाएका छन् । जेठ महिनाको तुलनामा असारमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी २ अर्ब ४६ करोड ९ लाख रुपैयाँले बढेको छ ।
यता, मुद्दती निक्षेपमा लगानी भने २ करोड ११ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । सेयर बजार बढेसँगै फन्डहरुको सेयर बजारमा लगानी बढेको हो । फन्डहरुको अधिकांश लगानी सेयर बजारमा हुन्छ । त्यसैले बजार घट्दा वा बढ्दा त्यसको सकारात्मक वा नकारात्मक प्रभाव फन्डहरुको प्रमुख सूचकमा पर्छ ।
विगत केही समयदेखि साइडवेजमा रहेको सेयर विस्तारै सकारात्मक बन्दै गएको छ । यसले फन्डहरुलाई लगानी बढ्न र थप्नमा प्रोत्साहन पुगेको हो । एक महिनाको अवधिमा समग्रमा म्युचुअल फन्डहरुको न्याभ औसतमा ०।५७ रुपैयाँ बढेर ११ रुपैयाँ ६६ पैसा पुगेको छ । जेठ महिनामा औसत न्याभ ११ रुपैयाँ १० पैसा थियो । यसअवधिमा कुल नाफा ३ अर्ब १८ करोड ४० लाख रुपैयाँले बढेर ५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
न्याभमा प्रभु स्मार्ट फन्डको अग्रता
असार मसान्तसम्म आइपुग्दा प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै देखिएको छ । यसको न्याभ अघिल्लो महिनाको तुलनामा ७५ पैसाले बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । त्यस्तै, प्रभु सेलेक्ट फन्ड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र हिमालयन ८०–२० को न्याभ पनि १३ रुपैयाँभन्दा धेरै रहेको छ ।
सेयर बजारमा सबैभन्दा धेरै लगानी गर्नेमा एनआइबिएल सहभागिता फन्ड
असार मसान्तसम्म सबैभन्दा धेरै सेयर बजारमा लगानी गर्नेमा एनआइबिएल सहभागिता फन्ड रहेको छ । यसअवधिमा यसले सेयर बजारमा ४ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, एनएमबि सरल बचत फन्ड ईले सेयर बजारमा ३ अर्ब ११ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । यसअवधिमा ४३ म्युचुअल फन्डले कुल ४४ अर्ब ५३ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन् ।
मुद्दती निक्षेपमा लगानी २ करोड रुपैयाँले घट्यो
जेठ महिनाको तुलनामा असारमा फन्डहरुको मुद्दती निक्षेपमा लगानी २ अर्ब ११ करोड रुपैयाँले घटेर १ अर्ब ६२ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । जेठमा यी फन्डहरुले मुद्दती निक्षेपमा १ अर्ब ६४ करोड २४ लाख रुपैयाँ लगानी गरेका थिए । यसअवधिमा धेरै फन्डहरुले मुद्दती निक्षेपमा लगानी गरेका छैनन् ।
म्युचुअल फन्डहरुको कुल नाफा ३ अर्ब रुपैयाँले बढ्यो
एक महिनाको अवधिमा फन्डहरुको कुल नाफा ३ अर्ब १८ करोड ४० लाख रुपैयाँले बढेर ५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । जेठ महिनामा यी फन्डहरुले कुल २ अर्ब ७५ करोड नाफा कमाएका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा एनएमबि सरल बचत फन्ड ई रहेको छ । यसले ३७ करोड ७३ लाख नाफा कमाएको छ ।