Logo

भाषणमै सीमिति पुँजीगत खर्च परिचालन, ३ दिनमा १ खर्ब ८४ अर्ब पुँजीगत खर्च गर्नुपर्ने दबाबमा सरकार

भाषणमै सीमिति पुँजीगत खर्च परिचालन, ३ दिनमा १ खर्ब ८४ अर्ब पुँजीगत खर्च गर्नुपर्ने दबाबमा सरकार



काठमाडौं । सरकारले भाषण र कार्यक्रमहरुमा पुँजीगत खर्च परिचालन तथा विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिएपनि व्यवहारमा भने न्यून प्राथमिकतामा पर्ने गरेको छ । सरकारले बजेट ल्याएसँगै अर्थ मन्त्रालयले हरेवर्ष पुँजीगत खर्च परिचालनलाई प्राथमिकता दिएर एक्सनमा गएपनि व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन ।

laxmi

चालू आर्थिक वर्षका लागि बजेट ल्याएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफु मातहतकका कर्मचारीलाई रहेर महिना १० प्रतिशतका दरले पुँजीगत खर्च निर्देशन दिएका थिए । तर चालू आर्थिक वर्ष सकिन ३ दिन मात्रै बाँकी रहँदा ५१.३४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।

सरकारलाई अहिलेकै गतिमा पुँजीगत खर्च परिचालन गर्नेहो भने लक्ष्यको ६० प्रतिशत पनि नपुग्ने देखिन्छ । पछिल्लो समय सरकारले भुक्तानीलाई उच्च प्राथमिकता दिँदै दैनिक २५ अर्ब रुपैयाँसम्म पुँजीगत खर्च गर्दै आएको छ । यहिँ गतिमा खर्च गर्ने हो भने पनि अबको ३ दिनमा ७५ अर्ब रुपैयाँ मात्रै खर्च हुने देखिन्छ । तर सरकार अबको ३ दिनमा ४९ प्रतिशत अर्थात १ खर्ब ८४ अर्ब पुँजीगत खर्च गर्नुपर्ने दबाबमा छ ।

खर्च भएको विल भौचरको समयमै भुक्तानी दिन आनाकानी गर्ने कर्मचारीको पुरातनबादी सोच र ठेकेदारहरुले पनि भुक्तानी लिनकै लागि मात्र असारमा गर्ने टालटुले विकास निर्माणका कामले गर्दा सोचेअनुरुप पुँजीगत खर्च हुन नसकेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कतिपय अवस्थामा कर्मचारीले पनि कमिशनको खेलमा समयमै काम भएपनि विल भुक्तानीका लागि रोकेर राखिदिन्छन्,’ एक ठेकेदारले भने, ‘साथै ठेकेदारहरुले पनि टेन्डर पारेर ठेक्का लिने अनि पेस्की पावतको रकम लिएर समयमै काम नगर्ने परिपाटी छ ।’ जसका कारण सरकारले लिएको लक्ष्य अनुरुप विकास गर्न हुन सकेको छैन ।

महालेखा नियन्त्रकको कार्यालयको असार २८ गतेसम्मको तथ्यांकलाई आधार मान्ने हो भने साधारणतर्फ ८९.६१ प्रतिशत बजेट खर्च भैसकेको छ । यसैगरी वित्तीयतर्फ ५२.७३ मात्रै खर्च भएको छ ।

सरकारले असार लागेसँगै राजस्व उठौतीलाई भने उच्च प्राथमिकता दिएर संकलन गर्दै आएको छ । पछिल्लो समय दैनिक कर र गैर कर गरी ६४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ । हालसम्म सरकारले कर राजस्व लक्ष्यको ८७. ८१ प्रतिशत संकलन गरेको छ । चालू आवको अन्तिम दिन शनिवारलाई समेत गणना गर्दा यहि अनुपातमा जाँदा सरकारले राजस्व उठौतीको लक्ष्य भने भेटाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL