Logo

प्रतिस्पर्धाले तय गर्दै इन्टरनेट शुल्क : उपभोक्तालाइ न्यून मूल्यमा धेरै स्पिडको इन्टरनेट, सस्ता प्याकेजको विकल्प भने हराउँदै

प्रतिस्पर्धाले तय गर्दै इन्टरनेट शुल्क : उपभोक्तालाइ न्यून मूल्यमा धेरै स्पिडको इन्टरनेट, सस्ता प्याकेजको विकल्प भने हराउँदै



काठमाडौं । माग अनुसारको आपुर्ति हुन नसके वस्तु वा सेवाको मूल्य बढ्ने र बढी भए घट्ने बजारको सिद्धान्त हो । अझ बजारमा आपूर्तिकर्ता धेरै र उपभोक्ता कम भएको खण्डमा आपुर्तिकर्ताबीच आफ्नो वस्तु वा सेवा विकाउन तीव्र प्रतिस्पर्धा हुन्छ । जसको प्रत्यक्ष लाभ उपभोक्तालाइ हुन्छ । यस्तै अवस्था पछिल्लो समय इन्टरनेट सेवामा पनि निम्तिएको छ । एक पछि अर्काे इन्टरनेट सेवाप्रदायकले आफ्नो सेवामा ग्राहकलाई आकर्षित तुल्याउन विभिन्न प्याकेजहरु सार्वजनिक गरिरहेका छन् । जसको प्रत्यक्ष फाईदा इन्टरनेटका उपभोक्तालाई परिरहेको छ ।

laxmi

केही बर्ष अघिसम्म न्यूननतम १० एमबीपीएस स्पिडको इन्टरनेट उच्चतम मूल्य अर्थात मासिक २ हजार रुपैयाँसम्म तिरेर उपभोग गरिरहेका सेवाग्राहीले हाल १ सय एमबीपीएसभन्दा बढी स्पिडको इन्टरनेटसमेत न्यूनतम मूल्यमा उपभोग गर्न पाईरहेका छन् । विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै इन्टरनेटमा आधारित डिभाईसको प्रयोग बढ्दो छ, जसका कारण इन्टरनेट अपरिहार्य भईसकेको छ ।

यस्तो बेलामा इन्टरनेट सेवा उपलब्ध गराउने सेवाप्रदायकको संख्या पनि बढ्दै छ । सोही अनुसार बजारमा इन्टरनेट सेवाको गति र मूल्यमा उच्च प्रतिस्पर्धा चल्दै गर्दा नेपाली सेवाप्रदायकले दिनप्रतिदिन आफुले भनेबमोजिमको इन्टरनेट स्पिड न्युनतम मूल्यमै उपभोग गर्न पाईरहेका छन् ।

बजारमा आएका नयाँ इन्टरनेट सेवाप्रदायकहरुले साविकका कम्पनीको तुलनामा दोब्बर सस्तोमा इन्टरनेट सेवा दिने घोषणा गरेपछि अन्य सेवाप्रदायकहरुले पनि बजारमा आफ्नो अस्तित्व बचाईराख्नकै लागि इन्टरनेटको शुल्क घटाउँदै आएका छन् । जसमध्ये हाल १ सय एमबीपीएसभन्दा बढी स्पिडका इन्टरनेट सेवा प्रदान गर्ने वल्डलिंक, भायानेट, सुविसु, क्लासिकटेकलगायतका कम्पनीहरुले बजारमा प्रतिश्पर्धि सेवाप्रदायकको तुलनामा कुनै न कुनै प्याकेज सार्वजनिक गरिरहेकै छन् ।

कसैले कम मूल्यमा बढी स्पिड दिएर, टेलिभिजन सेवा उपलब्ध गराउने, निशुल्क जडान गरिदिने, १ बर्षको प्याकेजमा धेरै सुविधा भएको गराउनेलगायतका सुविधाहरु उपलब्ध गराउँदै आएका छन् । जसका कारण उपभोक्तालाई सस्तो मूल्यमै बढी स्पिड र सुविधासहितको इन्टररनेट सेवा उपभोग गर्ने अवसर मिलेको छ । यसैको एक उदाहरण टोखा नगरपालिका २ मा बस्ने हिरामान डंगोल हुन् । उनले गत बर्ष बार्षिक १२ हजार रुपैयाँ शुल्क तिरेर २० एमबीपीएस स्पिडको टेकमाईन्ड नेटवर्ककको इन्टरनेट जडान गरेका थिए । यो बर्ष नविकरण गर्दा ४० एमबीपीएसको स्पिडमा नविकरण गरियो । अर्थात २० एमबीपीएस स्पिडकै मूल्यमा उनले हाल ४० एमबीपीएसको इन्टरनेट उपभोग गर्न पाईरहेका छन् । यो पनि प्रतिस्पर्धाकै देन हो ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायकबीच मूल्य र इन्टरनेटको गतिमै प्रतिस्पर्धा हुन थालेपनि साना सेवाप्रदायक बजारमा टिक्नै नसक्ने अवस्था आयो । त्यसो हुँदा साना इन्टरनेट सेवाप्रदायकले शुल्क घटाउनुको साटो इन्टरनेटको स्पिड नै बढाएर उपभोक्तालाई उपलब्ध गराउने गरेका छन् । तर गति वारकै बीच एक बर्ष पहिले इन्टरनेट सेवाप्रदायकले आफुखुसी इन्टरनेटको व्याण्डविथ बढाईदिएर बढी रकम असुल्नेसम्मका क्रियाकलापसमेत गरेका थिए ।

यस्ता एकाध सेवाप्रदायकलाई नेपाल दूरसंचार प्राधिकरणले अघिल्लो बर्ष मात्रै कारबाही अघि बढाएको थियो । सोपश्चात मात्रै सेवाप्रदायकले मूल्य र गतिमै प्रतिस्पर्धा गर्न पुरानै मूल्यमा नयाँ गतिको इन्टरनेट सेवा दिन थालेका हुन् । ग्राहकको अनुमति बेगर स्पिड बढाउने र सोही अनुसारको पैसा असुल्ने प्रवृत्ति इन्टरनेट सेवाप्रदायकहरुका लागि पछिल्लो समय सामान्य बनिसकेको भएपनि पुरानै मूल्यमा नयाँ थप स्पिड आउँदा ग्राहकलाई फाईदा हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

ग्राहकलाई थाहै नदिईकन स्पिड बढाउने र त्यो बाहेकका साना स्पिडका प्याकेज नभएको जवाफ दिनु गलत भएपनि पुरानो मूल्यमा थप स्पिड उपलब्ध गराउनु भने राम्रै भएको प्राधिकरणको अनुगमन महाशाखा प्रमुख बिजय कुमार रोय बताउँछन् । यता महाशाखाका उपनिर्देशक रेवतीराम पन्थले पनि पुरानै मूल्यमा ग्राहकले बढी स्पिड पाउने भएपछि झन ग्राहकलाई फाईदा हुने बताए । ‘यदि ग्राहकलाई केहि अप्ठ्यारो पर्याे वा समस्या उत्पन्न भएमा मात्रै हामीले एक्सन लिने हो,’ उनले भने,‘तर, पुरानै मूल्यमा ग्राहकले झन बढी स्पिडको इन्टरनेट पाईरहेका छन् भने त्यो त झन फाईदा भयो नी ?’

कम मूल्यको इन्टरनेट लिन पाउने विकल्प हरायो

पछिल्लो समय बजार प्रतिस्पर्धि बनिरहँदा इन्टरनेटको शुल्क दिनप्रतिदिन घटिरहेको छ । यसरी इन्टरनेट शुल्क घटिरहँदा इन्टरनेट सेवाप्रदायकले पुरानै मूल्यमा थप व्याण्डविथ उपलब्ध गराउन थालेका हुन् । यसो हुँदा उपभोक्ताले कम पैसा तिरेर कम स्पिडको इन्टरनेट चलाउँछु भन्न पाउने विकल्प भने हराएको छ ।

पछिल्लो समय एकाध बाहेक धेरैजसो इन्टरनेट सेवाप्रदायकहरुले कम स्पिडका प्याकेजहरु बेच्नै छोडेका छन् । यस्तो हुँदा कम युजर भएको कम व्याण्डविथ खपत हुने घरायसी प्रयोगकर्ताका लागि पनि बढी नै स्पिड भएको इन्टरनेट सेवा खरिद गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । अझ वल्र्डलिंक, भायनेट, सुबिसु, क्लासिकटेकलगायतका ठुला सेवाप्रदायकले त प्राधिकरणसँग अनुमति नै नलिईकन १ सय एमबीपीएस माथिका प्याकेज पनि बेचिरहेका छन् । यसरी सेवाप्रदायकले दिने बढी स्पिडका प्याकेजको स्पिड पुरानै प्याकेजसरहका भएपनि पैसा असुल्नकै लागि नाममात्रैको स्पिड तोक्ने गरिएको ग्राहकहरुले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL