Logo

विश्वव्यापी उर्जा संकट : नेपालका लागि उर्जा बजार विस्तार गर्ने मौका बन्न सक्ला ?

विश्वव्यापी उर्जा संकट : नेपालका लागि उर्जा बजार विस्तार गर्ने मौका बन्न सक्ला ?



काठमाडौं । गत फेब्रुअरीको अन्तिम हप्तादेखि सुरु भएको रुस–युक्रेन युद्धको प्रभाव विश्वभर देखिइरहेको छ । यो युद्धको अन्तराष्ट्रिय क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव भने धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उछाल, कोइलाको अभाव र मूल्यवृद्धि रहेको छ । नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो केही महिना यता नेपालमा इन्धन मात्रै नभई विद्युतको मूल्य र अभाव पनि उत्तिकै बढेको छ ।

laxmi

छिमेकी देश भारतकै कुरा गर्दा धेरै प्रान्तहरुमा अहिले लोडसेडिङ गरिएको छ । भारत मुख्यतः विजुलीका लागि कोइलामा निर्भर छ । भारतले उत्पादन गर्ने विद्युतमध्ये ७७ प्रतिशत विजुली कोईलाबाट उत्पादन हुन्छ । तर, रुस र युक्रेन द्वन्दसँगै कोइलाको मूल्य उच्च बढेपछि भारतले आवश्यक कोइलाको जुटाउन सकेको छैन् । भारतका धेरै प्रान्तहरुले समग्रमा करिव ६० अर्ब भारतीय रुपैयाँ कोल इन्डिया लिमिटेडलाई तिर्न बाँकी छ । जसका कारण कोल इन्डिया लिमिटेडले उर्जा उत्पादकहरुलाई कोइला उपलब्ध नगराएको र डिमान्ड अनुसार विजुली पुर्याउन नसकिएको बताईएको छ ।

यस्तै समस्या विश्वका अन्य देशहरुमा पनि छ । कोरोना महामारीको अन्त्यसँगै विश्वभर उर्जा खपत ह्वात्तै बढ्यो । जसका कारण यसको मूल्यमा ठूलो वृद्धि भयो र अभाव पनि सोहीअनुसार भएको देखिन्छ । यसको असर विश्वका सानादेखि विकसित राष्ट्रहरुमा देखिएको छ । नेपालले पनि विदेशबाटै इन्धन आयात गरेर उपभोग गर्ने गरेकाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका सामना गर्नुपर्याे ।

तर, विश्वबजारमा उर्जा संकट देखिएपनि नेपाल भने त्यसबाट कममात्र प्रभावित रहनसक्ने जानकारहरु बताउँछन् । नेपालले आफ्नै जलविद्युत उर्जाको खपत र उपभोग बढाइरहेकाले आगामी दिनमा आईपर्ने उर्जा संकटको सामना गर्न सकिने उर्जाविद् ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । उनका अनुसार नेपालले विजुली भारतबाट बर्षमा बढीमा २ महिना मात्रै आयात गर्ने हो र त्योपनि केही अंश मात्रै । तर, त्यसपछि भने नेपालमै उत्पादन हुने विजुली भरपुर हुने र हाल देखिएको विद्युत अभाव नहुने उनी बताउँछन् । बरु विश्व बजारमा उर्जा संकट निम्तिए नेपाली विद्युत बेच्ने बाटो खुल्ने उनको भनाई छ । ‘विश्वबजारमा उर्जा संकट देखिए भारतमा विजुलीको माग बढ्छ । यसले नेपाललाई फाईदा पुर्याउँछ,’ उनले भने, ‘तर, यसका लागि नेपालले पावर एक्सचेन्जका बाटोहरु खुलाइराख्नुपर्छ ।’

विश्वबजारमा उर्जा संकट देखिएपनि नेपालमा यसको खासै असर नपरेको नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘हामी त भाग्यमानी हौं, आफ्नै विजुली उपयोग गर्न पाईरहेका छौं,’ उनले भने, ‘तर, विश्वका धेरै देशहरुमा उर्जा उत्पादन गर्ने हाम्रोजस्तो स्रोत साधन छैन त्यस्ता देशमा संकट हुन्छ हामी यसबाट परै रहन्छौं ।’

नेपालले उत्पादन गर्ने विद्युतको ठूलो हिस्सा जलविद्युत आयोजनाबाट उत्पादन हुन्छ । नेपालमा बाह्रैमास बगिरहने नदीको पानीबाट विजुली निकालिने भएपछि नेपाल उर्जाका लागि अन्य मुलुकसँग भर पर्न नपर्ने अवस्था आगामी बर्षसम्म आउने उर्जाविद् प्रधान बताउँछन् । ‘धेरै आयोजना निर्माण सम्पन्न भएका छन्, केही निर्माणाधिन छन्,’ उनले भने, ‘निर्माण भएका आयोजनाको विजुली प्रणालीमा थपियो भने मात्रै पनि नेपालले हिउँद बर्षा दुवै याममा माग धान्न सक्ने विजुली उत्पादन गर्नेछ ।’ सरकारले यस्तै बेला ठुलो आयोजनाको पीपीए सम्झौता रोकिदिएको र ठुलो आयोजना बन्नमा बाधा पुर्याउको प्रति भने उनको गुनासो छ ।

नेपालमा धेरैजसो जलविद्युत आयोजना रन अफ रिभर मोडलमा बनेकाले बर्षायाममा धेरै विजुली उत्पादन हुँदा बढी भएर खेर जान्छ भने जाडोयाममा एकदमै न्यून विद्युत उत्पादन हुन्छ । त्यसका लागि प्राधिकरणले भारतबाट आयात गर्नुपर्ने अवस्था छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा उत्पादन भएको विजुली र भारतबाट आएको विजुलीसमेत जोड्दा हाल प्रणालीमा अझै करिव ३ हजार मेगावाट आवर विजुली अभाव छ । त्यसको पुर्तिका लागि प्राधिकरणले भारतबाट विजुली ल्याउँदै आएको थियो । तर, पछिल्लो समय विश्वबजारमा देखिएको उर्जा संकटका कारण भारतमा नै विजुली अभाव छ ।

भारतमा हिउँदमा विजुलीको माग ज्यादै न्यून हुन्छ नेपालमा भने उच्च । यस्तै नेपालमा बर्षायाममा विजुलीको माग न्यून हुन्छ उत्पादन उच्च । यही असन्तुलनतालाई चिर्न नेपाल सरकारले बंगलादेश, भारतलगायतका छिमेकी देशहरुसँग विद्युत व्यापार सम्झौता गरिरहेको छ । जुन नेपालमा बढी भएको विजुली बेच्ने प्रमुख आधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL