Logo

नेपालको कार्गाे व्यवसायमा चिनियाँको रहस्यमय आकर्षण, धमाधम चिनियाँ लगानीका कार्गो कम्पनी दर्ता

नेपालको कार्गाे व्यवसायमा चिनियाँको रहस्यमय आकर्षण, धमाधम चिनियाँ लगानीका कार्गो कम्पनी दर्ता



काठमाडौं । पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा कार्गाे ह्याण्डलिङ सेवामा आकर्षित भएको देखिन्छ । नेपालमा साना लगानीका उद्योगमा हात हाल्दै लगानीको वर्चस्व जमाउन खोजेको चीनले पछिल्लो समय भने कार्गाेसम्बन्धी व्यवसाय गर्नमा चाख राखेको देखिएको हो । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक बर्षमा मात्रै चीनबाट २३ ओटा परियोजना कार्गाे ह्याण्डलिङसँग सम्बन्धित दर्ता भएका छन् । गत साउनदेखि हालसम्म चीनबाट ५ करोडदेखि २० करोड रुपैयाँ लगानी प्रतिवद्धतासहितका कार्गाे कम्पनीहरु धमाधम दर्ता भईरहेका हुन् ।

चीनबाट मात्रै आएको कार्गाे क्षेत्रमा लगानीमार्फत १ हजार १ सय ९२ जनाले रोजगारी पाउने उल्लेख छ । चीनले पछिल्लो समय ठुला परियोजनामा लगानी प्रतिवद्धता नजनाई होटल रेष्टुरेन्ट, कार्गाे र निर्माणमुलक क्षेत्रमा सानो लगानी भित्र्याउन चाहेको विभागस्थित वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक सुरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय चीनले नेपालको कार्गाे व्यवसायमा अलि बढि नै इच्छा देखाएको छ ।

चीनीयाँ लगानीकर्ताले कार्गाे व्यवसायमा लगानी गर्नेइच्छा देखाईरहँदा नेपालमै कार्गाे व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले भने व्यवसाय नै नपाएको अवस्था छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारी र यसले निम्त्याएको संकटका कारण कार्गाे व्यवसायमा केहि मन्दी आएको नेपाल फ्रेट परवाडर्स एसोसीएसनका अध्यक्ष मनोज अधिकारी बताउँछन् । उनका अनुसार विश्वभर कार्गाे क्षेत्र मालामाल भएपनि नेपालका लागि विदेशी कार्गाे कम्पनीहरुले स्पेस नदिँदा अवस्था अप्ठ्यारोजस्तै छ । तर, पनि विदेशी लगानी यसै क्षेत्रमा आउनुको रहस्य भने गहिरो देखिन्छ ।

नेपालमै पर्याप्त कार्गाे कम्पनी

नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अनुसार हाल नेपालमा हुने र नेपालबाट हुने कार्गाे सेवाका लागि नेपाली कम्पनी नै पर्याप्त छन् । एसोसीएसनमै हाल १ सय २५ कम्पनी जोडिएका छन् । यी कम्पनीहरुमध्ये कतिपयले हवाई कार्गाे सेवा उपलब्ध गराउँछन् भने कतिपयले स्थल कार्गाे । तर, पछिल्लो समय आएका नयाँ कम्पनीहरुले कुन विजनेशलाई हेरेर वा देखेर आएका हुन् भन्नेमा प्रश्न पैदा भएको छ ।

पछिल्लो समय नेपालबाट बाहिर जानेभन्दा पनि अन्य देशबाट नेपालमा आउने सामानको चाप हुँदाहुँदै पनि कार्गाे जहाजहरुमा स्पेस नहुने समस्या आएकाले हाल कार्गाे व्यवसाय सुस्त रहेको एसोसिएसनका अध्यक्ष मनोज अधिकारी बताउँछन् । उनका अनुसार विदेशी कार्गाे कम्पनीहरुले नेपालका लागि भन्दा पनि अन्य देशका लागि वस्तु ओसारपसारमा गैरजिम्मेवारीपन देखाउँदै आएका छन् । त्यसैका कारण नेपालमा संचालित कार्गाे कम्पनीहरुको विजनेश सुस्त छ । यस्तो बेलामा थप कम्पनी थपिनु उचित नहुने उनले बताए ।

विदेशी लगानीका कार्गाे कम्पनी कति उचित ?

नेपालले साना विदेशी लगानीका परियोजना भित्र्याउन नीति अनुसार यस्ता कार्गाे कम्पनीहरुलाई आउन दिएपनि नेपालमा यसको औचित्य नभएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय नेपाली कार्गाे कम्पनीले नै विजनेश नपाईरहेको भन्ने गुनासो सुन्नमा आएको छ । यस्तो बेलामा नयाँ कम्पनी आएर के विजनेश गर्ने ? सरकारी नीति अनुसार पछिल्लो समय भित्रिएका साना लगानीले नेपाली उद्योग व्यवसायलाइ नै धरापमा पार्ने उनको भनाई छ । ‘ठुलो पुँजीको लगानी आउँदा सरकारलाई पनि अनुगमनलगायतका क्रियाकलापमा सजिलो हुन्छ,’ उनले भने, ‘तर, साना लगानीका धेरै परियोजना आउँदा देशभित्र हुने असाधारण क्रियाकलापहरु बढ्ने शंका गर्न सकिन्छ ।’ उनले विदेशबाट साना लगानी ल्याउन पाउने नीति नै गलत रहेको बताए ।

चीनबाट चालु आर्थिक बर्षमा मात्रै २३ अर्ब ७८ करोड रुपैयाँ बढिको लगानी प्रतिवद्धता आएको छ । यसमा साना परियोजनामार्फत आएको लगानी मात्रै १० अर्ब २३ करोड रुपैयाँ बराबरको छ । पछिल्लो समय विदेशबाट आउने साना लगानीले नेपाली उद्योगीको व्यवसाय नै धरापमा परेको उद्योगीहरु बताउँछन् । चीनले पछिल्लो करिव ७ महिनामा गरेको लगानी प्रतिवद्धतामा सबैभन्दा बढि सेवा क्षेत्रमा छ । अर्थात यो क्षेत्रमा चीनले पछिल्लो ७ महिनामा ११ अर्ब बढीको लगानी प्रतिवद्धता गरेको भएपनि त्यसमध्ये सबैभन्दा बढि लगानी होटल रेष्टुरेन्ट र त्यसपछि कार्गाे ह्याण्डलिंगमै छ ।

चालु आर्थिक बर्षको हालसम्म नेपालमा ३१ अर्ब १ करोड बढी विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो करिव ७ महिनामै आएको ३१ अर्ब बढिको लगानीमा सबैभन्दा ठुलो हिस्सा चिनको छ । त्यसमा पनि चीन सेवा र पर्यटन क्षेत्रमा आकर्षित हुँदा चीनबाट आउने सानो पुँजीका परियोजनाको संख्या उल्लेख्य छ । चीनबाट आएको लगानीमा सबैभन्दा बढि लगानी सेवा क्षेत्रमा देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार नेपालको सेवा क्षेत्रमा मात्रै १६ अर्ब बढिको लगानी प्रतिवद्धता आएको छ । यस्तै धेरै लगानी आउने दोस्रो क्षेत्र भनेको पर्यटन हो । यो क्षेत्रमा पनि चिनियाँ लगानीकर्ताहरुले साना होटल र रेष्टुरेन्टमा उल्लेख्य परियोजनाहरु भित्र्याएको विभागको तथ्यांकमा उल्लेख छ । चीनले पछिल्लो ७ महिनामा पर्यटन क्षेत्रमा ९ अर्ब २५ करोड रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गर्दा पूर्वाधार क्षेत्रमा २ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL