Logo

विश्व फाइभ जी इन्टरनेटको दौडमा, नेपालमा भने थ्रिजीका ग्राहक फोरजीमा सिफ्ट भएनन

विश्व फाइभ जी इन्टरनेटको दौडमा, नेपालमा भने थ्रिजीका ग्राहक फोरजीमा सिफ्ट भएनन



काठमाडौं । अहिले विश्व फाइभ जी इन्टरनेटको दौडमा छ । नेपालमा पनि फाइभ जी इन्टरनेट सेवा परीक्षणका लागि प्रक्रिया शुरु भइसकेको छ । तर, नेपालमा भने अहिले पनि फोरजी सेवा सञ्चालन भएपनि थ्रिजी सेवाका ग्राहक बढिरहेका छन् । पछिल्ला एक बर्षमा नेपालमा फोरजी सँगै थ्रिजीको विस्तार पनि क्रमिक रुपमा बढिरहेको देखिएको छ ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदनअनुसार नेपालमा फोरजी सेवाको विस्तारसँग थ्रिजी सेवाको विस्तार पनि सोही अनुसार भईरहेको देखिएको छ । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ४४ लाख ८३ हजार बढि पुगेका छन् । यो गत बर्षको मंसिर मसान्तको तुलनामा ७८ लाख ६१ हजारले बढि हो । अर्थात फोरजी प्रयोगकर्ता पछिल्लो १ बर्षमा नेपालभर ७८ लाख ६१ हजारले थपिए । यसबीचमा थ्रिजी सेवा प्रयोग गरिरहेका प्रयोगकर्ता फोरजीमा सिफ्ट हुने टेलिकम कम्पनीले बताएका थिए । तर, फोरजी सेवाको विश्वसनिय उपलब्धताको कमीका कारण थ्रिजीका प्रयोगकर्ता पनि सोही अनुसार बढिरहेको देखिन्छ ।

प्राधिकरणको प्रतिवेदन अनुसार पछिल्लो १ बर्षमा थ्रिजी सेवाका प्रयोगकर्ता पनि १२ लाख १४ हजार जना थपिएका छन् । गत बर्ष १ करोड १० लाखको हाराहारीमा रहेका थ्रिजी सेवाका प्रयोगकर्ता पछिल्लो १ बर्षमा १२ लाख १४ हजारले थपिँदा १ करोड २२ लाख पुगेको प्रतिवेदनमा देखिन्छ ।

प्राधिकरणको तथ्यांकअनुसार यसबीचमा नेपाल टेलिकमले आफ्ना फोरजी ग्राहक संख्या ५९ लाख १६ हजारले बढाउँदा थ्रिजी सेवा प्रयोगकर्ता भने १६ लाख १५ हजार जनाले बढाएको छ । अर्थात नेपाल टेलिकमले यस अवधिमा आफ्ना फोरजी ग्राहकसँख्या बढाईरहँदा थ्रिजी सेवा प्रयोगकर्ता पनि सोही अनुसार बढेको देखिन्छ । हालसम्म नेपाल टेलिकमले आफ्ना फोरजी प्रयोगकर्ता ८१ लाख ७४ हजार २६९ र थ्रिजी प्रयोगकर्ता १ करोड ८६ हजार पुर्याएको छ ।

यता दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक एनसेलले पनि पछिल्लो १ बर्षमा आफ्नो फोरजी ग्राहक संख्यामा उल्लेख्य वृद्धि गरेसँगै थ्रिजी ग्राहकसंख्या घटाएको छ । प्राधिकरणको तथ्यांकअनुसार मंसिर मसान्तसम्म एनसेलका थ्रिजी प्रयोगकर्ता २१ लाख ९७ हजार ५ सय २८ पुगेका छन् । यो संख्या गत बर्षको सोही अवधिको तुलनामा ४ लाख १ हजारले कम हो । गत बर्षको मंसिरसम्म एनसेलको थ्रिजी सेवा प्रयोगकर्ता २५ लाख ९९ हजार जना थिए । यता फोरजी सेवामा भने कम्पनीले फड्को मारेको छ । हालसम्म ६१ लाख ४८ हजार ५ सय ९१ पुगेका फोरजी प्रयोगकर्ता गत बर्षको सोही अवधिको तुलनामा १९ लाख ९५ हजार ४ सय १ जनाले बढीढ हो । गत बर्षको मंसिरसम्म एनसेलको फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० थियो ।

प्राधिकरणको तथ्यांकअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच १ सय १८ दशमलव ८६ प्रतिशत जनतासम्म पुगिसकेको छ । यस्तो पहुँच गत बर्ष मंसिरसम्म जम्मा ८१ दशमलव ४९ प्रतिशत थियो । यसबीचमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ्नुमा फोरजी सेवाको विस्तारलाई प्रमुख उपलब्धी मानिएपनि अझै नेपालका धेरै स्थानमा यसको पहुँच नपुगेको गुनासो भने आईरहन्छ ।

नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ्नुमा इन्टरनेट सेवाप्रदायक (आइएसपी) को पनि हात उत्तिकै रहेको देखिन्छ । हालसम्म नेपालमा आइएसपीको सेवा प्रयोग गर्नेको संख्या मात्रै ७६ लाख २५ हजार ७ सय ९७ जना पुगेको छ । यो गत बर्षको मंसिर मसान्तको तुलनामा २४ लाख १६ हजार ५ सयले बढी हो । गत बर्षको मंसिर मसान्तसम्म आइएसपीले प्रदान गरेको इन्टरनेट चलाउनेको संख्या ५२ लाख ९ हजार २ सय ५८ जना थियो ।

यता भ्वाईसतर्फको कुरा गर्दा हाल नेपालको कुल जनसंख्याभन्दा बढी अर्थात १ सय ३८ प्रतिशत जनसंख्यासम्म यसको पहुँच पुगिसकेको देखिन्छ । प्राधिकरणका अनुसार धेरैजसो सेवाग्राहीले एक वा एकभन्दा बढि सेवाप्रदायकको सेवा लिँदा जनसंख्याभन्दा बढिमा यसको पहँुच पुगेको देखिन्छ । तर, प्राधिकरणले एकिकृत तथ्यांक निर्माणको अभावको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL