Logo

सुनको मूल्यमा एक बर्षमा २ हजार रुपैयाँको गिरावट, के आधारमा हुन्छ मूल्य निर्धारण ?

सुनको मूल्यमा एक बर्षमा २ हजार रुपैयाँको गिरावट, के आधारमा हुन्छ मूल्य निर्धारण ?



काठमाडांै । विश्वव्यापी रुपमै सुनको मूल्यमा दैनिक उतारचढाव आइरहन्छ । विश्वव्यापी टे«न्डअनुसार नेपालमा पनि पहेलो धातु सुनको मूल्य दैनिक तय हुने गरेको छ । जसअनुसार नेपाली बजारमा पछिल्लो १ बर्षको अवधिमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँँ हाराहारीमा छ । गत बर्ष यही अवधिमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँँमा कारोबार भएको थियो । महासंघले सुनचाँदीको कारोबार मूल्य अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण गर्ने गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य भने लण्डनस्थित ‘बुलन मार्केट एसोसियसन’ नामक संस्थाको अनलाइन प्लेटफर्मबाट हुने कारोबारको आधारमा निर्धारण हुने गर्दछ । सुनमात्रै नभई अन्य बहुमूल्य धातुको मूल्य पनि यसै बजारको आधारमा तय हुने गर्दछ ।

अन्तरराष्ट्रिय बजारमा एक बर्षमा सुन प्रति औंस १ सय डलर बढीले घट्दा नेपाली बजारमा पनि यसको असर देखा परेको हो । केही समयअघि कोरोना महामारीका कारण अन्तरराष्ट्रिय ब्यापार प्रभावित भएसँगै विश्व बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । भाइरसको असर विश्वब्यापी ब्यापारमा परेसंगै लगानीकर्ताको ध्यान सुनतर्फ आकर्षण भएकाले उक्त समयमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । विस २०७७ साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

गत आर्थिक बर्षको मंसिरसम्म बैंकहरुले १ हजार ५० केजी सुन आयात गरेका थिए भने चालु आर्थिक बर्षको मंसिरसम्मको आयात २ हजार ७ सय ३४ दशमलव ५ केजी रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सुन आयातको अवस्था हेर्दा आव २०७५-७६ मा ३४ अर्ब, आव २०७६-७७ मा १३ अर्ब, आव २०७७-७८ मा २७ अर्ब रुपैयाँँ बरावरको सुन आयात भएको देखिन्छ ।

हाल नेपालमा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसारनै वाणिज्य बैंकहरुले सुन आयात गरिरहेका छन । अन्तरराष्ट्रिय बजारमा हालसम्म सुनको भाउ प्रति औस १८ सय डलर हाराहारीमा कारोबार भईरहेको छ । उक्त मूल्य गत बर्षको यही अवधिको तुलनामा प्रति आउन्स १ सय डलर भन्दा बढिले कम हो । सुनको मूल्य विश्वव्यापी रुपमा घटबढ हुनुमा मुख्य कारण लगानी र आम्दानीको अन्य स्रोतसँगको सम्बन्धले निर्धारण हुने गरेको पाईन्छ ।

नेपालमा सुनको मूल्य घटबढ हुनुका कारणबारे नेपाल सुनचाँदी व्यावसायी महासंघका विशिष्ट सदस्य मनिरत्न शाक्यका अनुसार सुनको मूल्य घटबढ हुनुमा विविध पक्षहरु हुन्छन् । जसमध्ये अन्तरराष्ट्रिय बजारमा हुने सुनको मूल्य फेरबदल नै मुख्य कारण भएता पनि मूल्यमा उतारचढाव आउनुमा अन्य कारणको भुमिका पनि उत्तिकै रहने गरेको छ । त्यस्तै मूल्य निर्धारण गर्ने तत्वका रुपमा नेपालको डलर विनिमय दर, अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा हुने फेरबदलका साथै नेपाली र भारतीय बजारमा हुने मागले पनि मूल्यमा तलमाथि हुने उनको भनाई छ । उनले बजारमा बिहेको सिजन नहुँदा पनि ब्यवसायीले आफ्नो पसलमा भएको गहना बिक्रिको अनुपातमा रेडीमेट स्टक रिप्लेसमेन्ट गर्न सुनको माग निरन्तर भैरहने जानकारी दिए । ‘मानिसले सुन गहनाकै लागि मात्र नभएर कतिपय अवस्थामा लगानीका हिसावले खरिद गर्ने गरेका हुन्छन,’ उनले भने, ‘यसले पनि बजारमा सुनको माग बढ्ने र मूल्यमा असर गर्ने गरेको छ ।’

नेपालभर सामान्य अवस्थामा दैनिक रुपमा सुनको बिक्रि कति भयो भनेर प्रष्ट तथ्यांक नभएपनि व्यवसायीहरुका अनुसार बजारको समग्र मागको आधारमा दैनिक ३० देखि ३५ केजी आवश्यक हुन्छ । यद्यपि सरकारमार्फत हुने आपूर्ति भने दैनिक २० केजीमात्र हुने राष्ट्र बैंकको प्राबधानले दैनिक रुपमा भैरहने ३५ केजी बराबरको मागअनुसारको आपूर्ति गर्न नसकिएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

राष्ट्र बैंकको प्राबधानअनुरुप दैनिक २० केजीमात्र सुन खरीद गर्न पाउने व्यबस्था छ । उक्त ब्यवस्थाले बजारको दैनिक ३० देखि ३५ केजीको माग को पुर्ति गर्न जहिले पनि संकट हुने गरेको व्यवसायी बताउँछन् । महासंघले उक्त कोटालाई बढाउन माग गर्दै दैनिक ३५ केजी पुर्याईदिए बजारको माग धान्न अलि सहज हुने उनको भनाई छ । सुन अभावको कारणले अवैध सुनको कारोबार भइरहेको व्यवसायी दाबी गर्छन । सुनको आपुर्तिलगायतका समस्या निराकरणका लागी महासंघले माग अनुसार नै सुन खरिद गर्न पाईने व्यवस्थाका लागी आवाज उठाईरहेको शाक्य बताउँछन् । उनले व्यवसायीको मागअनुसार सरकारले सुन आयातको कोटा नबढाईदिँदा सुन बजारमा ठूलो समस्या उत्पन्न हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL