Logo

धरापमा नेपालको निर्यात, भारतको एउटै कदमले जुनसुकै बेला चिप्लिन सक्छ तेलमा अडेको निर्यात

धरापमा नेपालको निर्यात, भारतको एउटै कदमले जुनसुकै बेला चिप्लिन सक्छ तेलमा अडेको निर्यात



काठमाडौं । सरकारको वेवास्ता, व्यापारीहरुको नाफामात्र कमाउने दाउ र सरकारको राजश्वमात्र उठाउने सोचका कारण नेपालको निर्यात व्यापार गम्भीर मोडमा पुगेको छ । कुनैबेला थोरै भएपनि नेपालकै मौलिक वस्तु निर्यातमा चलेको नेपालको निर्यात व्यापार पछिल्लो समय भने आयातित वस्तु नेपालबाट निर्यात गरेर चलिरहेको छ । जसका कारण पछिल्ला केही बर्षहरुमा नेपालको निर्यात व्यापार भारतमा निर्भर छ ।

भन्सार विभागकै तथ्यांकलाई हेर्ने हो भने पनि नेपालको कुल निर्यातको ७० देखि ८० प्रतिशत हिस्सा भारतको छ । अन्य तेस्रो मुलुकमा हुने निर्यात व्यापारले केहि हिस्सा ओगटेपनि नेपाली वस्तुजस्तै वस्तु अन्य देशले नै निर्यात गर्ने भएपछि यसको भविष्य नै अन्यौलमा रहेको व्यवसायीहरु बताउँछन् । भारतकेन्द्रित भएको नेपालको निर्यात व्यापारमा भारतीय पक्षले सानो नीतिगत कानुनमा कदम उठाउने हो भने मात्रै पनि नेपालको निर्यात व्यापार धरापमा पर्नेछ ।

बाँकी रहेको केही हिस्सा तेस्रो मुलुकको निर्यात पनि सिपिङ चार्ज, कम गुणस्तरको वस्तु उत्पादनलगायतका कारण केही बर्ष चलेपनि विस्तारै सुक्दै जाने देखिन्छ । यी विषयमा बेलैमा सरकारले ध्यान नपुर्याए नेपालले वैदेशिक मुद्रा संचितिमा केहि हिस्सा भएपनि ओगट्ने निर्यातको व्यापार नै धराशायी बन्ने निर्यात संघका सहकोषाध्यक्ष राजु बानियाँ बताउँछन् । ‘एकातिर बढ्दो सिपिङ मूल्य र न्युन गुणस्तरको नेपाली वस्तुका कारण तेस्रो मुलुकमा हुने निर्यात व्यापार घट्ने अवस्था आएको छ,’ उनले भने, ‘यता हवाई कार्गो पनि न्यून भएकाले निर्यातको भविष्य नै अन्यौलमा रहेको देख्न सकिन्छ ।’
हाल नेपालबाट समुद्री बाटो हुँदै जाने कन्टेनरका लागि खाली कन्टेनर तगारो बनेका छन् भने हवाई कार्गो न्यून छन् । हाल नेपालबाट कतारका लागि एउटा र टर्कीका लागि एउटा मात्रै कार्गो जहाज छन् । यी जहाजहरुमार्फत हप्तामा ४ देखि ६ उडान मात्रै हुने गरेको छ । यसरी नेपाली वस्तु विदेश लैजाँदा एकातिर महंगो हुने र त्यसमाथि गुणस्तरको प्रश्नले निर्यातको भविष्य नै अन्यौलग्रस्त बन्दै गएको हो ।

सरकारको वेवास्ता

पछिल्लो समय नेपालको निर्यात व्यापार एउटै वस्तु र एउटै देशमा केन्द्रित भइरहँदा पनि यसका बिषयमा सरकारले पुरै वेवास्ता गरिरहेको छ । तेस्रो मुलुक हुने निर्यातको वृद्धिदरमा आएको गिरावट नदेखेको सरकारले भारतमा तेल निकासी हुँदा बढेको निर्यात व्यापारको तथ्यांक देखाउने गरेको छ ।

व्यापारघाटा चुलिदो

चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालले वैदेशिक व्यापारमार्फत ५ खर्ब ६८ अर्ब बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले कुल गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढि व्यापारघाटा व्यहोरेको हो ।

नेपालले यस अवधिमा विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड १३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको हो । यसरी नेपालले आयात गर्ने वस्तुभन्दा निर्यात गर्ने वस्तुको मात्रा ज्यादै न्युन हुँदा वस्तु निर्यातबाट घाटा व्यहोर्नुपरेको हो ।

यस अवधिमा नेपालको आयात निर्यातको अनुपात ७ दशमलव ९२ प्रतिशत छ यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव ९१ प्रतिशतले कम हो । यस्तै पछिल्लो ४ महिनामा नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११ दशमलव २१ प्रतिशत हुँदा आयातको हिस्सा भने ८८ दशमलव ७९ प्रतिशत छ । यस अवधिमा भएको वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

आयात र निर्यातमा खाने तेलको हिस्सा बढ्दैं

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ३ महिना अर्थात साउनदेखि असोज महिनासम्म नेपालले ४ खर्ब ७८ अर्ब रुपैयाँ बढीको मालवस्तु विभिन्न देशहरुबाट आयात गरेको थियो । यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यही अवधिमा नेपालले विदेशका विभिन्न देशहरुबाट जम्मा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको थियो ।

चालु आर्थिक बर्षको ३ महिनामा नेपालले गत बर्षको तुलनामा आयात वृद्धि गरेका केही बस्तुहरुले यो बर्ष आयातको हिस्सा बढाएको देखिन्छ । राष्ट्र बैंकका अनुसार यो बर्षको ३ महिनामा नेपालको आयात वृद्धिमा प्रमुख हिस्सा कच्चा भटमासको तेल रहेको छ । प्रशोधन नगरिएको कच्चा भटमास नेपाललमा ल्याई प्रशोधन गरेर तेल उत्पादन गरी विदेशमा निर्यात गर्ने क्रियाकलाप बढेपछि चालु आवको ३ महिनामा गत आवको सोही अवधिको तुलनामा यसको आयात १५३ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ ।

चालु आवको साउनदेखि असोजसम्म नेपालले २० अर्ब ६१ करोड रुपैयाँ बराबरको कच्चा सोयावीन तेल आयात गरेको छ । यो पछिल्लो ३ महिनामा धेरै आयात हुने वस्तुको सूचीको चौथो स्थानमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै यो बर्ष धेरै निर्यात वृद्धि भएका वस्तुहरुको सूचिमा भने क्रमशः पीना, भटमासको तेल, सुनचाँदीका गहना, रोसीनलगायतका वस्तुहरु रहेका छन् । यी वस्तुहरुको आयात गत बर्षको तुलनामा क्रमशः २४४, १८९, १६१ र ६८ प्रतिशतले बढ्दा यो बर्ष नेपालले आयात व्यापारमा उल्लेख्य प्रगति गरेको हो । यो बर्ष धेरै निर्यात हुने वस्तुहरुको सूचीमा भने भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, उनको गलैँचालगायत रहेका छन् । चालु आवको ३ महिनामा नेपालले भटमासको तेल र पाम तेलमात्रै क्रमशः २२ अर्ब र १३ अर्बको निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL