Logo

धौबादीमा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान, नेपालले गर्ने खर्बौको फलाम आयात घटला ?

धौबादीमा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान, नेपालले गर्ने खर्बौको फलाम आयात घटला ?



काठमाडौं । पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीमा २० करोड मेट्रिकटन फलाम रहेको प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा भूगर्भ विभागले यसअघिका अध्ययनमा उक्त क्षेत्रमा १० करोड मेट्रिकटन फलाम भण्डारण रहेका अनुमान गरेपनि त्यस्तै अध्ययन पुनः गर्दा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान गरिएको धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पुनः गरिएको प्रारम्भिक अनुमानमा २० करोड मेट्रिकटन फलाम रहेको अनुमान गरिएको हो ।

laxmi

कम्पनीले धौवादीमा फलाम खानीको विस्तृत अध्ययनका लागि ड्रिलिङको काम अन्तिम चरणमा पुर्याएको छ । विस २०७६ सालको मंसिरमा ‘ईटेको आईसीजीएस नेपाल’ले फलाम खानी उपयुक्त हुने स्थानमा ३ सय मिटरसम्म ड्रिलिङ गर्नेगरी कामको जिम्मा पाएको थियो । सोहीअनुसार कम्पनीले गत बर्षदेखि मात्रै ड्रिलिङको काम अघि बढाएपनि हाल ड्रिलिङको काम अन्तिम चरणमा पुगेको सीईओ चन्द बताउँछन् ।

यसअघि अनुमानित अध्ययनका आधारमा फलामको परिमाण तथा धाउको परिमाणसमेत सार्वजनिक गरिँदै आएको अवस्था छ । चिनियाँ भूगर्भविद्हरुले उक्त क्षेत्रमा विभिन्न जिओलोजिकल सर्भे गरेर भरपुर मात्रामा फलाम रहेको बताइसकेका छन् । त्यसकै आधारमा अघिल्लो बर्षमात्रै उक्त क्षेत्रको फलाम चीनमा लगेर मेटालर्जिकल विश्लेषण गर्दा पनि फलामको मात्रा उत्साहजनक रहेको पाईएको थियो ।

यो पनि पढ्नुहोस : नेपालमै फलाम उत्पादनको काम अघि बढयो : धौवादी फलाम खानीको ड्रिलिङ शुरु, कारखाना निर्माणको तयारी

त्यसपश्चात नै खानी तथा भूगर्भ विभागले धौवादीमा यहाँ फलामको मात्रा, सम्भाब्यता लगायत पत्ता लगाउन विस्तृत अध्ययनको काम अघि बढाएको थियो । जसमा ड्रिलिङ सर्भे एक हो । यो सर्भेपश्चात हालसम्म गरिएका अनुमानित तथ्यांकहरु पुष्टि हुनेछन् । सोही अनुसार फलामको उत्खनन् थालिने कम्पनीका सीईओ चन्दले बिजखबरलाई बताए ।

‘ड्रिलिङका विभिन्न साईटहरुमध्ये डीडीएस २ र डीडीएस ३ मा केही प्राविधिक गडबढीका कारण काम रोकिएको भएपनि समग्रमा अब ड्रिलिङ गर्न २० देखि ३० मिटर मात्रै बाँकी छ,’ उनले भने, ‘यसको काम केहि दिनमा सकिएर हामी स्याम्पललाई पुनः केमिकल एनालाईसीसका लागि चीनमा पठाउने तयारी गरिरहेका छौं ।’ नेपाली कम्पनी ईटेको आईसीजीएसले गत बर्षको पुसमा महिनामै काम सुरु गर्ने र ६ महिनामै ड्रिलिङको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । दोस्रो चरणको लकडाउनका कारण काममा केही ढिलाई भएको कम्पनीले जानकारी दिएको छ ।

नेपालकै विद्युत प्रयोग

हाल अन्वेषणकै चरणमा रहेको उक्त क्षेत्रको फलाम प्रशोधनका लागि २ ओटा छुट्टै कारखाना बनाउने योजना छ । प्रारम्भिक अध्ययनअनुसार उक्त खानीबाट निस्किने फलामको धाउमा ३५ प्रतिशत मात्रै फलामको मात्रा रहनेछ । यदि यस्तो भएको खण्डमा त्यो धाउलाई विभिन्न प्रविधिबाट ५० देखि ६० प्रतिशत मात्रामा पुर्याउनुपर्छ त्यसपछि मात्रै फलाम प्रशोधनको काम अघि बढाउनुपर्छ । नेपालमा स्थापना हुने कारखानाले ५० प्रतिशत फलामको मात्रा भएको धाउको मात्रै प्रसोधन गर्नसक्ने क्षमता राख्नेछ । यस्तो भएको खण्डमा ३५ प्रतिशत मात्रै मात्रा भएको धाउलाई ५० प्रतिशतसम्म पुर्याउन पुनः छुट्टै कारखानाको आवश्यकता पर्नेछ ।

यो पनि पढ्नुहोस : धौवादी फलाम खानीमा दैनिक १ सय मेगावाट विद्युत खपत हुने, जलविद्युत क्षेत्रलाई सकारात्मक सन्देश

यसरी नेपालले फलाम प्रशोधन गरेको खण्डमा दैनिक ८ सय देखि १२ सय मेट्रिकटन फलाम उत्पादन गर्ने लक्ष्य लिएको छ जसका लागि दैनिक १ सय मेगावाट विजुलीको आवश्यकता पर्ने अनुमान गरिएको छ । खानीविज्ञसमेत रहेका खानी विभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार नेपालमा उत्खनन् गरिएको फलामको प्रशोधनका लागि एउटा धाउलाई प्रशोधनयोग्य बनाउन छुट्टै कारखाना र प्रशोधन गर्ने छुट्टै कारखानाको आवश्यकता पर्नेछ । त्यसैका लागि भरपुर विद्युतको आवश्यकता पर्नेछ । पछिल्लो समय नेपालमा विद्युतको उत्पादन बढिरहेपनि सोहीअनुसार खपत नबढेको भन्दै चिन्ताको रुपमा लिईएको छ । उक्त फलामखानी संचालनमा आएसँगै उक्त चिन्ता हट्ने बताईएको छ ।

नेपालमा फलाम आयातको अवस्था

भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा चालु आर्थिक बर्षको ४ महिना (साउनदेखि कार्तिक) मात्रै नेपालले विभिन्न देशहरुबाट ५५ अर्ब ६२ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिल आयात गरको छ । तथ्यांकअनुसार यो नेपालले धेरै आयात गर्ने बस्तुको तेस्रो स्थानमा परेको छ । यस्तै गत आर्थिक बर्ष २०७७/७८ मा यसको आयात १ खर्ब ५३ अर्ब १९ करोड २५ लाख रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।

उक्त बर्ष सबैभन्दा धेरै आयात भएको वस्तुको दोस्रो स्थानमा यो परेको छ । यसरी बार्षिक रुपमै नेपालमा फलाम र स्टिलको आयात उच्च भईरहँदा यसको असर नेपालको वैदेशिक व्यापारघाटामा देखिन्छ । यस्तै यसले नेपालको विदेशी मुद्रा संचितिमा समेत ठुलो गिरावट ल्याउनेगरेकाले नेपालमै यसको उत्पादन गरेर अघि बढ्न सकिए राम्रो हुने विज्ञहरु बताउँदै आएका छन् । धौवादी फलाम खानीबाट फलाम उत्पादन थालिए नेपालको वैदेशिक व्यापारघाटामा केही राहत हुने देखिन्छ ।

खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०६६/६७ मा सो क्षेत्रमा गरेको खनिज अन्वेषणका क्रममा सो फलाम खानी पत्ता लागेको थियो । पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरको दूरीमा रहेको गण्डकी प्रदेश नवलपुर जिल्ला होप्सेकोट गाउँपालिका अन्तर्गतको पश्चिममा नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म करिब १६० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डार अन्वेषणमा भेटिएको हो ।

यसअघि नै सो क्षेत्रमा विस्तृत भौगर्भिक अध्ययन तथा भौगर्भिक सर्भे (टोपोलोजिकल सर्भे) सम्पन्न भइसकेको छ । जसमार्फत हालसम्म उक्त क्षेत्रमा २० करोड मेट्रिकटन फलाम भण्डारण रहेको बताईँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL