Logo

नेपालमै फलाम उत्पादनको काम अघि बढयो : धौवादी फलाम खानीको ड्रिलिङ शुरु, कारखाना निर्माणको तयारी

नेपालमै फलाम उत्पादनको काम अघि बढयो : धौवादी फलाम खानीको ड्रिलिङ शुरु, कारखाना निर्माणको तयारी



काठमाडौं । पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीमा ड्रिलिङको काम सुरु भएको छ । गत असोजमा ड्रिलिङका लागि भएको टेण्डरमा नेपाली कम्पनी ईटेको आईसीजीएस नेपालले फलाम खानी उपयुक्त हुने स्थानमा ३ सय मिटरसम्म ड्रिलिङ गर्नेगरी आवेदन दिएको थियो ।

laxmi

सोहीअनुसार खानी तथा भूगर्भ विभागअन्तर्गतको धौवादी फलाम खानी कम्पनीले उक्त कम्पनीसँग मंसिरकै १६ गते सम्झौता गरेको धौवादी फलाम कम्पनीका निर्देशक तथा भूगर्भविद नारायण बाँस्कोटाले जानकारी दिए । उनका अनुसार उक्त कम्पनीले ३ सय मिटरको ड्रिलिङ कार्य सम्पन्न गरेपछि तथ्यांकलाई विश्लेषणपश्चात खानीमा फलामको परिमाण पत्ता लगाइनेछ । यससँगै नेपालमै फलाम उत्पादनको काम पनि अघि बढेो छ । हाल नेपालले वार्षिक अर्बौ रुपैयाँको फलाम बिदेशबाट आयात गर्दै आएको छ ।

हाल ड्रिलिङको जिम्मेवारी पाएको सो कमपनीले ड्रिलिङ गर्ने स्थानमा सम्याउने, बाटो बनाउनेलगायत पूर्वाधार निर्माणको कामहरु गरिरहेको छ । विभागका अनुसार विभिन्न स्थानमा ड्रिलिङ गरेर उक्त क्षेत्रमा फलामको वास्तविक परिमाण पत्ता लगाउन उक्त ड्रिलिङ गर्न लागिएको हो । निर्देशक बाँस्कोटाका अनुसार एउटा स्थानमा भने नेपालमा हालसम्मकै गहिरो अर्थात ३ सय मिटरसम्म ड्रिलिङ गर्नुपर्ने अवस्था छ । नेपालमा हालसम्म ३ सय मिटर गहिरो ड्रिलिङ सम्भवतः पहिलो भएको उनको भनाई छ ।

ड्रिलिङ गर्ने कम्पनीले पुष १ गतेदेखि ६ महिनाभित्र ड्रिलिङको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । त्यसपश्चात तथ्यांक विश्लेषणको तयारी हुनेछ ।
यसअघि चिनियाँ विज्ञहरुले उक्त क्षेत्रमा भरपुर मात्रामा फलाम रहेको प्रयोगशालाका प्रतिवेदन उपलब्ध गराएका थिए । सोहीअनुसार खानी तथा भूगर्भ विभागले यहाँ विभिन्न प्रकारका सर्भे अघि बढाएको थियो ।

अब उक्त क्षेत्रमा कति फला छ भन्ने यकिन परिमाण पत्ता लगाउनका लागि ड्रिलिङको कार्य अघि बढाईएको निर्देशक बाँस्कोटाले बताए । उनका अनुसार कुनैपनि खानीको उत्खनन् गर्नुपूर्व त्यो कत्तिको फिजिवल छ अर्थात उत्खनन्पश्चात बजार प्रतिस्पर्धा गर्न सक्छ या सक्दैन भन्ने कुरा यकिन गर्न फिजिविलिटी (सम्भाव्यता) सर्भेको आवश्यकता पर्दछ । सोही फिजिविलिटी प्रतिवेदनका लागि कम्पनीले हाल ड्रिलिङको काम अघि बढाएको हो ।

धौवादी फलाम कम्पनी लिमिटेडले खानी क्षेत्रमा २ ओटा फलाम प्रशोधन कारखाना र ल्याव राख्ने योजना बनाएको छ । जसको काम फिजिविलिटी प्रतिवेदनपश्चात लगत्तै सुरु गरिनेसमेत निर्देशक बाँस्कोटाले जानकारी दिए । हाल उक्त क्षेत्रमा पत्ता लागेको फलामको धाउमा करिव ४० प्रतिशतमात्रै फलाम छ ।

तर, फलाम प्रशोधन कारखानाले ५० प्रतिशत फलाम रहेको धाउमात्रै प्रशोधन गर्ने भएपछि यसका लागि छुट्टै प्रशोधन कारखाना बनाउने योजना बनाईएको छ । जसमा धौवादीको धाउलाई प्रशोधन गरेर धाउमा ५० प्रतिशतसम्म फलाम बनाउने र त्यसपश्चात अर्को प्रशोधन कारखानाबाट फलाम प्रशोधन गरिने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL