Logo

इन्टरनेटको तार धमाधम काट्दै विद्युत प्राधिकरण, देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने

इन्टरनेटको तार धमाधम काट्दै विद्युत प्राधिकरण, देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि विभिन्न इन्टरनेट तथा केबुल सेवाप्रदायकको तारहरु धमाधम काटिरहेको छ । धेरै सेवाप्रदायकहरुले प्राधिकरणलाई जानकारी नै नदिइकनै प्राधिकरणको पोलमा तारहरु तानेको र सम्पर्कमा समेत नआएको भन्दै प्राधिकरणले शनिबारदेखि नै तार काट्ने अभियान थालेको हो । यसअघि नेपाल विद्युत प्राधिकरणले पोल भाडा र तार तानेको जानकारी प्राधिकरणमा बुझाउन ताकेता गर्दै आइरहेको थियो ।

तर, सोही ताकेता अनुसार इन्टरनेट सेवाप्रदायक र केबुल सेवाप्रदायकहरु प्राधिकरणमा जानकारीसमेत दिन नआएपछि प्राधिकरणले तार काट्ने निर्णयअनुसार तार काटेको हो ।

विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै पोल भाडा, प्राधिकरणको ओपीजीडब्लु केबल प्रयोगको शुल्क, र तार तानेको जानकारी असोज १५ सम्म प्राधिकरणलाई बुझाउन भनेको थियो । प्राधिकरणले उक्त विवरण तथा शुल्क नबुझाए तार काटिदिने चेतावनिसमेत दिएको थियो ।

यसबीचमा ा इन्टरनेट सेवाप्रदायकले भने प्राधिकरणले ७ सय प्रतिशतसम्म पोल भाडा बढाएको, पहिले लिने पोलको भाडा छोडेर प्रतिकिलोमिटर र प्रतिकोर भन्दै भाडा तोकिएकोलगायतका बिषयमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यसै असन्तुष्टिका बीच उनीहरुले नेपाल दूरसंचार प्राधिकरणसमक्षा बढेको पोलभाडा ग्राहकसँग उठाउनुपर्ने अवस्था आएको भन्दै ग्रामीण भेगमा प्रतिग्राहक ३ सय र शहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपैयाँले इन्टरनेटको मूल्य वृद्धि स्विकृत गरिदिन माग गर्दै निवेदन दिएका छन् ।

यता दूरसंचार प्राधिकरणले भने इन्टरनेटको मूल्य बढाउन नसकिएपनि पोल भाडामा भने केही समायोजन गर्न पहल गरिदिन सूचना तथा संचार मन्त्रालयमा परिपत्र गरेको थियो । त्यसयता इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान), नेपाल केबुल टेलिभिजन व्यवसायी संघलगायतले उर्जामन्त्री, संचार सचिव, प्राधिकरणका अध्यक्षलगायतलाई भेटेर आफ्ना समस्या सुनाएका थिए ।

यसबीचमा उनीहरुलाई सबै क्षेत्रबाट सकारात्मक धारणा आएको नेपाल केबुल टेलिभिजन व्यवसायी संघका अध्यक्ष ध्रुब शर्माले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले तार काट्ने अभियान थालिसकेको भएपनि सरकारका माथिल्ला निकायहरुले भने सेवाप्रदायकको पक्षमा निर्णय गर्ने सकारात्मक आश्वासन दिएका छन् ।

हाल नेपाल विद्युत प्राधिकरणले सम्पर्कमै नआएका सेवाप्रदायकका तार मात्रै काटिरहेकाले आफुले बोल्न नमिल्ने उनको भनाई छ । ‘केही सेवाप्रदायकका कारण सबै सेवाप्रदायकले दुख पाउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘प्राधिकरणले सम्पर्कमै नआएको सेवाप्रदायकका मात्रै तार काटिरहेको जानकारी हामीलाई दिएको छ, यसमा हामीले भन्नुपर्ने केही बिषय छैन ।’

नेपाल दूरसंचार प्राधिकरणले भने अत्यावश्यक सेवालाई अनावश्यक सर्वसाधारणको पहुँचबाट छुटाउन नहुने भन्दै रुष्ट बनेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवामा अवरोध सिर्जना गर्नेलाई काुनुनी कारबाही गर्नुपर्ने बताएको हो । यस्तै, प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई सबै पक्षको छलफल बोलाएर काम अघि बढाउन आग्रह गरेको छ ।

इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष सुधिर पराजुली भने प्राधिकरणले दादागिरी देखाएको बताउँछन् । उनका अनुसार प्राधिकरणले भरतपुर, काठमाडौंका विभिन्न स्थान, ललितपुरलगायतका स्थानमा तार काटिदिएको छ । जसका कारण धेरै सेवाग्राहीहरु इन्टरनेटबाट बन्चित भएको र यसको जिम्मा प्राधिकरणले नै लिनुपर्ने उनी बताउँछन् ।

यता प्राधिकरणले भने धेरैपटक ताकेता गर्दा पनि अटेर गरिरहेका सेवाप्रदायकको तार काटिदिएको जानकारी दिएको छ । प्राधिकरण स्रोतका अनुसार बेलाबेलामा जानकारी गराउने, शुल्क तिरिराख्नेलगायत सेवाप्रदायकको तार भने केही गरिएको छैन । तर, यसबाट सेवाग्राहीमा पर्न गएको समस्याको जिम्मेवारी भने स्वयं सेवाप्रदायककै भएको स्रोतको भनाई छ । अहिले केही इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणले तार काटने काम जारी राखिराखे देशैभरको इन्टरनेट सेवा बन्द गर्नुुपर्ने पनि बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL