Logo

नेपालमै मोबाइल फोन एसेम्बलको सम्भावना कस्तो छ ? यस्तो छ अध्ययन समितिको निष्कर्ष

नेपालमै मोबाइल फोन एसेम्बलको सम्भावना कस्तो छ ? यस्तो छ अध्ययन समितिको निष्कर्ष



काठमाडौं । प्रविधिको उच्चतम प्रयोग र पहुँच विस्तारसँगै नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको छ । प्रयोग बढेसँगै नेपलमा मोबाइल फोनको व्यापार पनि वार्षिक रुपमा अर्बौ रुपैयाँले वृद्धि भइरहेको छ । हाल नेपालमा वार्षिक ५० अर्ब बढीको माोबाइल फोनको बजार रहेको व्यवसायीहरुको अनुमान छ । आवश्यकता र सौखका कारण मोबाइल प्रयोग गर्ने प्रयोगकर्ता बढ्दै जाँदा नेपालमा सस्तो मूल्यका सामान्यदेखि विश्वकै महँगो मूल्यका मोबाइल फोनहरु पनि बजारमा उपलब्ध भएको छ ।

laxmi

गत आर्थिक बर्षमा नेपालमा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको ७० लाख बढी मोबाइल फोन सेट आयात भएको सरकारी तथ्यांक छ । व्यवसायीहरु भने आयातको तथ्यांकभन्दा नेपालमा धेरैमाथिको अंकमा मोबाइलको व्यापार भएको दाबी गर्छन । दैनिक जीवनको आवश्यकता मानिएको मोबाइल फोनबाटै बार्षिक अर्बाै रकम बाहिरिने अवस्थाका बीच सरकारले नेपालमै मोबाइल एसेम्बल गर्नेगरि काम अघि बढाएको छ ।

नेपालको वैदेशिक व्यापारघाटा न्यूनीकरण र स्वदेशमै रोजगार सृजना गर्न नेपालमै मोबाइल एसेम्बल उद्योगको सम्भावना खोजी गरिएको हो । सो सम्बन्धमा अध्ययनका लागि भन्दै नेपाल दूरसंचार प्राधिकरणले गत फागुनमा निर्देशक मीनप्रसाद अर्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त अध्ययन समितिले प्राधिकरणमा अध्ययन विश्लेषण प्रतिवेदन पेश गरिसकेको छ ।

नेपालमा विदेशबाट पार्टपुर्जाहरु आयात गरी ब्राण्डेड मोबाइल फोन बनाउने र त्यसलाई नेपाली बजारमा र विदेश निर्यात पनि गर्न सकिने उक्त अध्ययन प्रतिवेदनले देखाएको छ । यदि नेपालमै मोबाइल फोन एसेम्बल गर्ने गरी चलेका ब्राण्डह जस्तै सामसङ, नोकिया, ओप्पोलगायतले पार्टपुर्जाहरु उपलब्ध गराएको अवस्थामा नेपालमै मोबाइल एसेम्बलको सम्भावना रहेको अध्धयन प्रतिवेदनमा छ । यसरी बाहिरबाट पार्टपुर्जा आयात गरी नेपालले फोन एसेम्बल गरेर विदेशमा मेड इन नेपालको लेबल राखेर निर्यात समेत गर्न सक्न प्रतिवेदनमा औंल्याइएको छ ।

अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा एसेम्बल प्लान्ट आन्तरिक बजारका लागि मात्रै गर्न सकिने अवस्था भने नरहेको बताइएको छ । आन्तरिक बजारले मात्रै लगानी प्रतिफल प्राप्त नहुने अवस्था रहेकाले निर्यात सम्भावनाको आधारमा एसेम्बल प्लान्ट स्थापना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । मोबाइल एसेम्बल प्लान्ट स्थापनका लागि ठूलो लगानी आवश्यकता हुने भएकाले सो अनुरुपको उत्पादन, बजार प्रतिफलका लागि स्वदेशी बजारलाई मात्रै हेरेर लगानीको सम्भावना कम रहेको उल्लेख छ ।

हाल भियतनाम, भारतलगायतका देशहरुले विदेशबाट पार्टपुर्जा आयात गरी विभिन्न देशमा मोबाइल फोन निर्यात गर्दै आएका छन् । भन्सार विभागको तथ्यांकलाई हेर्दा गत बर्षभरि नेपालले भारतबाट मात्रै साढे १२ अर्ब बराबरका साढे ९ लाख मोबाइल सेट आयात गरेको देखिन्छ । यस्तै नेपालले भियतनामबाट पनि उक्त अवधिमा करिव ३ लाख सेट मोबाइल आयात गरेको छ । नेपालले हंगकंग, चीन, इजरायल, इटाली, अफगानीस्तान, मलेसियालगायतका देशहरुबाट यस्ता मोबाइल सेटहरु आयात गर्ने गरेको छ ।

प्रतिवेदनमा नेपालमै मोबाइल सेट एसेम्बल गर्न विभिन्न नीतिनियमसँगै सरकारी सहयोग र सहुलियतको पनि आवश्यकता रहेकोे र सरकारले निर्यातमुखी नीति बनाउनुपर्नेे उल्लेख छ । विदेशमा निर्यातका लागि आवश्यक सहयोगी नीति नबन्दासम्म एसेम्बल उद्योग स्थापनामा समस्या रहेको अध्ययनमा उल्लेख छ । नयाँ फोन म्यानुफ्याक्चरर्सले बाइब्याक नीति अर्थात आफुले बेचेको वस्तु पुनः किन्ने नियम पनि गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । म्यानुफ्याक्चर्सले आफुले बेचेको मोबाइल सेट पुरानो भएपछि पुनः किन्ने नियम बनाउँदा नयाँ उत्पादनको बजार सुदृढ हुने उल्लेख छ ।

नेपालमै मोबाइल एसेम्बल उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई सरकारले करलगायतका सेवामा भरपुर सहुलियत दिनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । सरकार र सम्बन्धित निकायले उपयुक्त नीति र आवश्यक सहयोग पुर्उयाएको अवस्थामा नेपालमै मोबाइल फोनको एसेम्बल सफल हुने अध्ययन समितिका संयोजक मीनप्रसाद अर्यालले बताए । सो अध्ययन नेपालमा एसेम्बललाई दोस्रो र रिफर्बिसमेन्ट अर्थात पुरानो फोनलाई नवीकरणबारे गरिएको उनले बताए । ‘हामीले यो अध्ययनमा मोबाइल फोनको नवीकरणलाई प्राथमिकतामा राखेका छौं । यो भनेको कसैले चलाइरहेको फोनमा गडबडी आयो या बिग्र्यो भने त्यसलाई फाल्ने वा नष्ट गर्ने चलन छ । तर, त्यस्ता मोबाइलसेटलाई जम्मा गरी त्यसमा आवश्यक नयाँपन दिएर बजारमा पुनः विक्री गर्ने प्रक्रिया हो’, संयोजक अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL