Logo

नेपालमा कपडा आयातमा अवैधानिक बाटो फष्टाउँदै : छ खर्बको खपत, ४५ अर्बको आयात

नेपालमा कपडा आयातमा अवैधानिक बाटो फष्टाउँदै : छ खर्बको खपत, ४५ अर्बको आयात



काठमाडौं । गत आर्थिक बर्षमा नेपालमा ४५ अर्व बढीको कपडा तथा कपडाजन्य सामग्रीहरु आयात भएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो बर्षको तुलनामा झण्डै १५ अर्ब बढीको लत्ताकपडा बाहिरबाट नेपाल भित्रिएको छ । कपडा आयातमा यो वृद्धिदर ५० प्रतिशतको हो । अघिल्लो आर्थिक बर्षमा नेपालले विभिन्न देशबाट विभिन्न शीर्षकमा ३० अर्ब ४७ करोड ४५ लाख रुपैयाँ बढीको लत्ताकपडा आयात गरेको थियो । तर, गत आवमा आयात बढ्दा एकै बर्षमा ४५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ बढीको कपडा नेपाल भित्रिएको हो ।

laxmi

नेपाल कपडा उत्पादक संघले नेपालमा खपत हुनेभन्दा ज्यादै न्यून मात्रामा लत्ताकपडा आयातको तथ्यांक सरकारले सार्वजनिक गर्ने गरेको बताँछन । संघका अनुसार भारतको जनसंख्या र त्यहाँको कपडाको खपतको अनुपात हेर्दा नेपालमा बार्षिक ६ खर्ब बढीको कपडा तथा गार्मेन्ट खपत हुनुपर्छ । तर, नेपालमा कुल खपतको १० प्रतिशतमात्रै कपडा उत्पादन हुने हालको अवस्थामा विदेशबाट पनि धेरै कपडा आयात भएको नदेखिनु शंकास्पद भएको संघको भनाई छ ।

संघका उपाध्यक्ष जितेन्द्र लोहियाका अनुसार नेपालमा उत्पादित कपडा तथा गार्मेन्टले नेपाली खपतलाई धान्दैन । यस्तै बाहिरबाट आयात भएको कपडा जोड्दा पनि नेपालमा हुने कपडाको खपत नधान्ने अवस्था देखिन्छ । बाँकी खपत हुने कपडा तथा गार्मेन्ट अवैधानिक बाटोबाट नेपाल भित्रिने गरेको संघको दाबी छ । नेपाल भारत सिमा नजिकै पर्ने सिमावर्ती बजारहरुमा नेपालीहरुले सस्तो, सुलभ कपडा तथा गार्मेन्ट खरिद गर्न पाउँछन् । यस्तो बजारबाट नेपालीहरुले एक दुई थान, गोटा गरेर कपडा ल्याउँदै नेपालमा बेच्ने गरेको आरोप संघका छ । संघको तथ्यांकलाई आधार मान्दा नेपालमा खपत हुने करिव ५० प्रतिशत लुगाफाटो अबैधानिक रुपमा नेपालमा भित्रिने गरेको छ ।

गत आर्थिक बर्षमा भने नेपालमा उत्पादित कपडाको खपत केही हदसम्म घटेको अनुमान लगाउँछन् संघका उपाध्यक्ष लोहिया । उनका अनुसार कोरोना महामारीका कारण विद्यालय, कलेजलगायतका क्षेत्रहरु बन्द हुँदा र प्रायः मानिसहरुको चहलपहलमा समेत कमी आउँदा नेपाली कपडाको खपतमा गिरावट आएको छ । तर, विदेशबाट आयात हुने कपडा भने अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा विदेशबाट अर्थात सीमावर्ती बजारबाट अवैधानिक रुपमा कपडा भित्रनिे गरेको छ । जसका कारण सरकारलाई अर्बौ राजश्व घाटा हुँदै आएको छ । यस्तै अवैधानिक बाटोबाट कर नतिरिकनै भित्रिएका कपडाका कारण कच्चापदार्थमा कर तिरेर उत्पादन भएका नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता नै नरहने अवस्था छ । सरकारी नीतिमा नै खोट रहेको र यसैका कारण नेपाली उद्योगी धराशायी बन्नुपरेको संघको भनाई छ । विदेशबाट आयात हुने कपडामा भन्सार राजस्वसमेत नियमानुसार नउठेको नेपाली उद्योगी व्यवसायी बताउँछन् ।

नेपाली उद्योगहरुलाई प्रोत्साहन र अवैध आयातको बाटो बन्द भए नेपालकै उत्पादनले केही मात्रामा खपत धान्ने दावी संघको छ । ‘हामीसँग अन्तरराष्ट्रिय स्तरको कपडा बनाउनसक्ने क्षमता छ,’ उपाध्यक्ष लोहियाले भने, ‘सरकारी नीतिनियममा केही सुधार गर्दै उद्योगीहरुलाई सहुलियत र सहजीकरण गरेको खण्डमा नेपालमै उत्पादनले खपत धान्ने अवस्थाको सिर्जना हुने थियो ।’

कपडा उत्पादनकै कारण अर्थतन्त्रमा सुधार गरिरहेका आएका बंगलादेश जस्ता राष्ट्रहरुमा त्यहाँको सरकारले कपडा उद्योगहरुलाई दिएको सेवा सुविधालगायतले त्यो सम्भव भएको उनले बताए । नेपाल सरकारले भने नेपालका कपडा उद्योगीलाई सेवा, सुविधा, सहुलियतभन्दा पनि दुहुनो गाई सम्झेसम्म यस्तै अवस्था आउने उनी बताउँछन्छ । गत आर्थिक बर्षमा नेपालमा आयात भएको कपडा तथा कपडाजन्य बस्तुहरुमार्फत सरकारले १३ अर्ब ७१ करोड रुपैयाँ बढी भन्सार राजस्व उठाएको छ । यस्तै यस अवधिमा नेपालबाट पनि ११ अर्ब ३७ करोड रुपैयाँ बढीको कपडा तथा कपडाजन्य वस्तु निर्यात भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL