Logo

नेपालमा केएफसी चलाउने देवयानी इन्टरनेशनलले भारतमा ल्यायो आइपीओ, नेपालमा पनि ल्याउँला त आइपीओ ?

नेपालमा केएफसी चलाउने देवयानी इन्टरनेशनलले भारतमा ल्यायो आइपीओ, नेपालमा पनि ल्याउँला त आइपीओ ?



काठमाडौं । नेपालमा केएफसी र पिज्जा हट रेस्टुरेन्टहरु चलाइरहेको देवयानी इन्टरनेशनलले भारतमा कम्पनीको प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ । भारत, नेपाल र नाइजेरियामा केएफसी र पिज्जा हटको फ्रेन्चाइजी सञ्चालक रहेको देवयानी इन्टरनेशनलले भारतमा फास्टफूड रेस्टुरेन्ट चेनको सबैभन्दा ठूलो फ्रेंचाइजी चलाइरहेको छ । भारतमा कम्पनीले पिज्जा हट, केएफसी, कोस्टा कफीको फ्रेन्चाइजी चलाइरहेको छ । कम्पनीले आइपीओबाट आउने रकमबाट आफ्नो ऋण चुक्ता गर्ने र सामान्य कर्पोरेट आवश्यकताहरु पूरा गर्न उपयोग गर्ने बताएको छ ।

लगानीकर्ताहरुले आजदेखि शुक्रबारसम्म देवयानी इन्टरनेशनलको लागी आइपीओमा आवेदन दिन सक्छन् । कम्पनीे आईपीओको माध्यम बाट १८३८ करोड भारतीय रुपैयाँ जुटाउने आशामा छ । आईपीओ को लागी कम्पनीले ४४० करोडको नयाँ शेयर जारी गरेको छ भने कम्पनीका वर्तमान लगानीकर्ताहरुबाट ‘अफर फर सेल’ को माध्यमबाट लगभग १५ करोड ५३ लाख कित्ता शेयरहरु विक्रीमा ल्याएको छ ।

आईपीओ मा शेयर को मूल्य ८६–९० रुपैयाँ तोकिएको छ । साधारण लगानीकर्ताले कुल निष्काशित आइपीओको १० प्रतिशतमात्र शेयर पाउनेछन् । खुद्रा लगानीकर्ताले आईपीओमा २ लाख वा कम लगानी गर्न सक्नेछन् । यस्तै गैरसंस्थागत लगानीकर्ताहरु को लागी १५ प्रतिशत कोटा छुटयाइएको छ र उनीहरुले आईपीओमा २ लाख भन्दा बढी लगानी गर्न सक्नेछन् । कम्पनीको कुल निष्काशको ७५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताहरुको लागि राखिएको छ । योग्य संस्थागत लगानीकर्तामा म्युचुअल फंड, वित्तीय संस्थाहरु, वाणिज्य बैंकहरु, विदेशी पोर्टफोलियो लगानीकर्ताहरु पर्दछन् ।

कम्पनीले के गर्छ ?

देवयानी इन्टरनेशनल भारतामा फाष्टफुड फ्रेन्चाइजी चलाउने सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीका केएफसी, पिज्जा हट र टाको बेल, कोष्टा कफीजस्ता विश्वप्रसिद्ध ब्राण्डको भारतका १६६ शहरमा ६९६ वटा चेन रेष्टुरेन्टहरु रहेका छन् । कम्पनीले अहिले द्रुत गतिमा नयाँ शहरहरुमा आफ्नो प्रमुख फ्रेंचाइजीको स्टोरहरु खोलिरहेको छ । देवयानीले पछिल्लो ६ महिनामा यस्ता १०९ वटा स्टोर खोलेको छ ।

देवयानी भारतमा एकमात्र सबैभन्दा छिटो सेवा दिने रेस्टुरेन्ट अन्तरगत स्विगी र जोमाटोमा पनि आबद्ध छ । कम्पनीले देशभर कोस्टा कफीको ४४ वटा चेनहरु संचालन गर्दछ । देवयानी आफैंले धेरै ब्रान्डहरु चलाउछ जसमा प्रमुख नामहरुमा वांगो, फुड स्ट्रिट, मसाला ट्वीस्ट इले बार आदि छन् । तर कम्पनीको ९४ प्रतिशत व्यापार भने केएफसी, पिज्जा हट र कोष्टा कफीजस्ता फ्र्न्चाइजीबाट हुने गरेको छ । पछिल्लो वर्ष भारतमा वार्षिक ११३५ करोड रुपैयाँको व्यापार गरेको कम्पनी समग्रमा भने घाटामा रहेको छ । कम्पनीले वित्त वर्ष २०२० मा १२१ करोड रुपैयाँको नोकसानी बेहोरेको थियो भने २०२१ मा नोक्सानी घटाउँदै घाटा ६३ करोडमा झारेको छ ।

नेपालमा ल्याउँला त आइपीओ ?

नेपालमा पनि केएफसी, पिज्जा हटको फ्रेन्चाइजी चलाइरहेको कम्पनीले भारतमा आइपीओ ल्याएसँगै नेपालमा पनि आइपीओ ल्याउँला त भन्ने धेरैको प्रश्न छ । नेपालमा आइपीओ जारी गर्न पहिले कम्पनी पब्लिक लिमिटेडमा जानुपर्ने प्रावधान रहेको र अहिलेसम्म कम्पनीले त्यसको पहल नगरेकाले आइपीओ ल्याउने सम्भावना तत्काललाई भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL