Logo

१० महिनामा २९१ खर्ब बढीको विद्युतीय भुक्तानी, सबैभन्दा बढी आरटीजीएसबाट

१० महिनामा २९१ खर्ब बढीको विद्युतीय भुक्तानी, सबैभन्दा बढी आरटीजीएसबाट



काठमाडौं । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म नेपालमा विभिन्न माध्यमबाट २९१ खर्ब बढीको विद्युतीय भुक्तानी (इलेक्ट्रोनिक पेमेन्ट) भएको छ । रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस), नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को चेक भुक्तानी, कनेक्ट आईपीएस, आईपीएस, एटीएमलगायत गरी १५ माध्यममार्फत १० महिनामा २९१ खर्ब ५४ अर्ब ६६ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी कारोबार आरटीजीएस माध्यमबाट भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार गत बर्षको साउन महिनादेखि गत बैशाख मसान्तसम्म ४ लाख ७६ हजर ६०९ पटक कारोबार हुँदा यसको कारोबार रकम १६७ खर्ब १७ अर्ब १२ करोड रुपैयाँ बराबर पुगेको हो ।

यस्तै यस अवधिमा एटिएममार्फत भने ५ खर्ब ९२ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । यस्तै चेकमार्फत अर्थात एनसीएचएलको ईसीसीमार्फत भने ७४ खर्ब ७१ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा एनसीएचलकै बिभिन्न माध्यमबाट मात्रै १ सय ६ खब बढीको कारोबार भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् । उनका अनुसार एनसीएचएलका आईपीएस, ईसीसी र कनेक्ट आईपीएस माध्यमबाट यस्तो कारोबार (ट्रान्जेक्सन) हुने गरेको छ । यस्तै एनसीएचएलको आईपीएस माध्यमबाट मात्रै पछिल्लो १० महिनामा ९४ लाख १७ हजार ५५८ पटक २१ खर्ब ४८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । साथै कनेक्ट आईपीएसमार्फत पनि यस अवधिमा १० खर्ब १२ अर्ब बढीको कारोबार भएको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख मसान्तसम्म डेविट, प्रिपेड र क्रेडिट कार्डमार्फत मात्रै ६ खर्ब बढीको कारोबार भएको देखिन्छ । जसमा सबैभन्दा बढी डेविट कार्डमार्फत ७ करोड २२ लाख ८१ हजारभन्दा बढी पटक कारोबार हुँदा ९ खर्ब ९१ अर्ब २५ करोड रुपैयाँ बरारबरको भुक्तानी भएको हो । यता इन्टरनेट र मोबाईल बैंकिङको पनि कारोबार बढ्दैछ ।

पछिल्लो समय बढेको इन्टरनेट पहुँच र यसले निम्त्याएको डिजिटल भुक्तानी प्राथमिकताका कारण इन्टरनेट र मोबाईल बैंकिङमार्फत हुने कारोबार बढीरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । उनका अनुसार चालु आवको १० महिनामा मात्रै मोबाईल बैंकिङमार्फत ९ करोड २६ लाख ८२ हजार पटक ३ खर्ब ५१ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै यस अवधिमा इन्टरनेट बैंकिङमार्फत पनि ३२ लाख ६२ हजार ८ सय ४ पटक ९२ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । पछिल्लो समय आएका ईकमर्स, क्युआरलगायतका माध्यमबाट हुने कारोबारमा पनि पछिल्लो समय वृद्धि भएको देखिन्छ । जसअनुसार चालु आवको १० महिनामा ईकमर्सबाट मात्रै ८ अर्ब ६४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको देखिन्छ । जुन १० महिनामा १२ लाख ४५ हजार ६३६ पटक भएको हो । साथै पछिल्लो ३ देखि ४ महिनामा तीव्र विकास भईरहेको क्युआर पेमेन्टमार्फत १० महिनामा ४२ लाख २३ हजार ५ सय ४७ पटक कारोबार हुँदा १४ अर्ब ६६ करोड रुपैयाँको भुक्तानी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL