Logo

सरकारले नरोकेपनि निषेधाज्ञाले आयात-निर्यात प्रभावित, भन्सार राजस्वमा ठूलो गिरावट

सरकारले नरोकेपनि निषेधाज्ञाले आयात-निर्यात प्रभावित, भन्सार राजस्वमा ठूलो गिरावट



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाले नेपालको वैदेशिक व्यापार प्रभावित भएको छ । सरकारले आयात–निर्यात नरोकेपनि निषेधाज्ञका कारण नेपालले गर्ने वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार गत सोमबारदेखि भन्सारबाट हुने वैदेशिक व्यापारमा एक्कासी गिरावट आएको छ ।

laxmi

हाल कोारोना नियन्त्रण्का लागि ५१ जिल्लामा निषेधाज्ञाको आदेश जारी भइसकेको छ । निषेधाज्ञाका कारण विदेशबाट आयात हुने विभिन्न मालवस्तु र नेपालबाट विदेशमा हुने निर्यात पहिलेझैं हुन नसकेको अवस्था छ । विभाग भने आयातका लागि उत्तरतर्फका नाकाहरुमा केही समस्या भएपनि दक्षिणतर्फका नाकाहरुमा कुनै समस्या नभएको बताउँछ ।

विभागका निर्देशक तथा प्रवक्ता शिसिर घिमिरेका अनुसार हाल व्यवसायीहरुले भारततर्फका नाकाबाट आवश्यक कच्चापदार्थ तथा अन्य वस्तुहरु बिना रोकतोक आयात गरिरहेका छन् । तर, पछिल्लो ३ दिनदेखि आयातमा केही गिरावट आएको उनको भनाई छ । ‘भारततर्फका नाकाबाट लगातार सामान आइरहेपनि नाकामा थन्किएका सामान नेपाली व्यवसायी आफै लिन नगएका कारण आयातमा केही गिरावट आएको हो । हाल भारततर्फका नाकाबाट सामान आउन कुनै रोकतोक छैन, सामान लगातार आएकै छ,’ उनले भने,–‘तर पछिल्लो २ दिनदेखि भन्सार राजस्वमा एक्कासी ठूलो गिरावट आएको छ, के कारणले हो हामी अनुसन्धान गर्दैछौं ।’ अहिले भन्सार राजश्व कुन परिणाममा गिरावट आएको हो भन्नेबारे भने विस्तृत अध्ययनपछि मात्र बताउन सकिे उनले बताए ।

‘पछिल्लो समय कोरोना कहरका कारण व्यवसायीहरु डराएर पनि आफ्नो सामान ल्याउन जान नपाएको हुनसक्ने उनको अनुमान छ । तर यस बिषयमा अध्ययन नगरी केही भन्न नसकिने अवस्था छ’, उनले बताए । चीनतर्फका नाकाहरु भने विस २०७२ सालको भूकम्पपछि राम्रोसँग संचालनमा नआएका र पछिल्लो समय त झन् ठप्प जस्तै भएको उनले बताए । उत्तरतर्फका तातोपानी, रसुवागढी नाकाहरुबाट मालसामान एकदमै न्यून रुपमा आयात हुने गरेको भएपनि कोरोना महामारीपछि भने चीनतर्फका नाका ठप्पजस्तै छन् ।

यता व्यवसायीहरु भने काठमाडौंमा मात्रै वस्तुहरु आयात गर्न केही समस्या भएको बताउँछन् । नेपाल चेम्बर अफ कमर्सका वाणिज्य समितिका सभापति निरज राईले काठमाडौंमा राति मात्रै मालवस्तुका सामानहरु आयात गर्न दिने नियमसँगै व्यवसायीहरुलाई समस्या भएको छ । राति सामान आयात गर्दा सामान अनलोड गर्ने कामदार नपाइने समस्या रहेको राई बताउँछन् ।

भन्सारबाट सामान लगातार आइरहेको भएपनि अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकामा भने सामान आयात गर्न केही समस्या भएको उनले जानकारी दिए । ‘मोफसलमा त ठिकै छ सामान आएकै बेला अनलोड गर्न पाईछ,’ उनले भने, ‘तर काठमाडौं भित्रिने गाडीहरु भने दिउँसो नौविसेमा रोक्ने र राति मात्रै छोड्ने भएकालेसमस्या उत्पन्न भएको छ ।’ उनले भन्सारमा भन्सार एजेन्ट भएर बसेका व्यवसायीले पहिले नै एलसी खोलिएका सामान आएका छन् । तर, भन्सार एजेन्ट नभएका आफै सामान ल्याउनुपर्ने व्यवसायीहरुले भने सामान नल्याएको हुनसक्ने उनको अनुमान छ । भन्सार विभागले हाल कर्मचारीहरुलाई आलोपालो काममा राखेर र स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पूर्ण पालना गरेर भन्सार केन्द्रहरु संचालनमा ल्याइरहेको छ ।

नेपालमा निर्यात भन्दा पनि आयात हुने परिणाम निकै ठूलो भएकाले नेपालमा आयात प्रभावित हुँदा समग्र क्षेत्रमा त्यसको प्रभाव पर्ने गरेको छ । दैनिक उपभोग्य बस्तु, खाधान्न, तरकारी, फलफूलदेखि उद्योगका लागि कच्चपदार्थसमेत नेपालले आयत गर्दै आएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL