काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले जेनजी प्रदर्शनका क्रममा भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विज्ञप्तिमा कम्पनीले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति सम्मान प्रकट गरेको छ। तर, आन्दोलनका क्रममा भएका अवाञ्छनीय गतिविधिबाट सार्वजनिक कम्पनीका रूपमा सञ्चालित चन्द्रागिरि केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ।
‘चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन, यो लाखौँ सेयरधनीहरूको साझा लगानीमा बनेको राष्ट्रिय सम्पत्ति हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तोड़फोड र आगजनीले क्षति पुर्याए पनि हाम्रो पर्यटन प्रवर्द्धनको सपना विचलित भएको छैन। हामी छिट्टै पुनः उठ्नेछौँ र गुणस्तरीय सेवा सुचारु गर्नेछौँ।’
कम्पनीले आफूहरुसँग जोडिएका कर्मचारी, उनीहरूको परिवार र आम ग्राहकवर्गको अपेक्षा कायम राख्दै अझ सक्रिय हुने प्रतिबद्धता जनाएको छ। साथै व्यावसायिक वातावरण सहज बन्ने अपेक्षासहित थप लगानी र रोजगारी सिर्जनामा योगदान गर्ने अठोट दोहोर्याएको छ।
क्षति कम गर्न र आगजनी नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति कम्पनीले आभार प्रकट गरेको छ। साथै पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति क्षमा याचना गर्दै, आगामी दिनमा सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग आग्रह पनि गरेको छ।