काठमाडौं । निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने वतावरण सिर्जना गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सबिफिनले नवगठित नेपाल सरकारसँग उक्त माग गरेको हो । जेनजी युवाहरुको प्रद्धर्शनको कारण बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको जनाएको छ ।
‘अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको छ’ सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, सिबिफिनले अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
