Logo

सरकारसँग नाडाको माग : एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था होस

सरकारसँग नाडाको माग : एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था होस



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था गरिदिन माग गरेको छ । बुधबार अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडाको ६ सदस्यीय प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

भेटका क्रममा नाडाका प्रतिनिधिहरुले कोभिड–१९का कारण समस्यामा परेका व्यवसायीका गुनासोबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराउँदै, अटो मोबिलिटी, गाडी आयात, एजेन्टको सहजीकरणका साथै स्पेयर पार्ट, टायर, लुब्रिकेन्ट तथा एससोरिजहरुको आयातमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।

अटो स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जिम कोडको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्नुपर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका गरिदिन आग्रह गरेको हो ।

नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरूबारे वाणिज्य विभागलाई अवगत गराउँदै सहजीकरण गरिदिन आग्रह गरे । सो अवसरमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति समेत रहेका व्यवसायी करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरूबारे सहजिकरणका लागि विभागसँग आग्रह गरे भने, नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि महानिर्देशक पौडेलसँग आग्रह गरेका छन् ।

प्रतिउत्तरमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोबाइल क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरु छन् त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन र त्यसमा आफुहरुले अध्ययन गरेर उचित कदम चाल्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL