Logo

हकप्रद ल्याउन जुट्यो एचआईडीसीएल, सरकारले थपेको ५ अर्ब पुँजीकृत गर्ने संचालक समितिको निर्णय

हकप्रद ल्याउन जुट्यो एचआईडीसीएल, सरकारले थपेको ५ अर्ब पुँजीकृत गर्ने संचालक समितिको निर्णय



काठमाडौं । सेयर बजारमा कारोबार र मूल्य दुवै बढेर रेकर्ड कायम गरेपछि सरकारी स्वामित्वको विद्युत उत्पादक कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशनको तयारी थालेको छ । केही समय अघि सम्पन्न सो कम्पनीको सञ्चालक समितिको वैठकमा यस सम्बन्धमा सामान्य छलफल भएको र अर्को बैठकमा विस्तृत छलफल गरी अगाडि बढ्ने सहमति भएको छ ।

laxmi

कम्पनी सम्बद्ध सूत्रका अनुसार कुल १० अर्ब रुपैयाँको लगानीमा स्थापित यस संस्थाले जलविद्युतका लागि काम गर्न निकै ठूलो पुँजी आवश्यक पर्ने महसूस गरी हकप्रद सेयर जारी गरी पुँजी जुटाउने रणनीति लिएको हो । पहिला प्रवद्र्धकहरु राष्ट्रिय बीमा कम्पनी, कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषले कम चासो दिएका कारण हकप्रद निष्कासनमा ढिलाई भएको थियो । तर अहिले सेयर बजारमा आकर्षण देखिएपछि सञ्चयकोष र नागरिक लगानी कोष हकप्रदका लागि तयार भएका छन् भने राष्ट्रिय बीमा कम्पनीले पनि चासो दिन थालेको छ ।


सरकारको तर्फबाट पहिला नै १ः१ हकप्रदस्वरुप रु ५ अर्ब जम्मा भैसकेको छ भने मुख्यरुपमा बाँकी तीनवटा सरकारी कम्पनीहरु पनि तयार भएको अवस्थामा हकप्रद निष्कासन सहज हुने जानकारी दिइएको छ । कम्पनी सञ्चालक समितिको २०२ औं वैठकले सरकारको तर्फबाट जम्मा भैसकेको हकप्रद रकमलाई पुँजीकृत गर्ने निर्णय समेत गरिसकेको छ । कम्पनीमा सरकारको रु ५ अर्ब र बाँकी तीनवटा सरकारी कम्पनीको तीन अर्ब लगानी रहेको छ । बाँकी सर्वसाधारणको सेयर रहेको छ । कही लगानी नगरेपनि संस्थाले बैंकमा राखेको पैसाको ब्याजबाट झण्डै १० प्रतिशतजति प्रतिफल दिने क्षमता बनाएको छ ।

कम्पनी स्रोतले दिएको जानकारी अनुसार संस्थाले पुँजी वृद्धिको अपरिहार्य आवश्यकता महसूस गरी सोही अनुसार प्रतिफल वितरणको रणनीति बनाएको छ । अधिकृत पुँजी ५० अर्ब रहेको सो कम्पनीको चुक्ता पुँजी हाल रु १० अर्ब रहेको छ । गत असार मसान्तसम्ममा कम्पनीको सञ्चितकोषमा रु १ अर्ब १० करोड जम्मा देखिन्छ । कम्पनीले लगानी गरेको संस्थाबाट रु १ करोड लाभांश प्राप्त भएको देखाएको छ भने बैंकमा राखेको ब्याजबाट नै रु १ अर्ब ६५ करोड आम्दानी भएको र खूद नाफा रु १ अर्ब ५ करोड भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL