Logo

कार्यान्वयन भएन सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्देशन, सरकारी पत्र नआउँदा अन्यौलमा व्यवसायी

कार्यान्वयन भएन सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्देशन, सरकारी पत्र नआउँदा अन्यौलमा व्यवसायी



काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधनमा पूर्ण क्षमतामा यात्रु राखेर ओसारपसार गर्न पाउने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । मन्त्रिपरिषदको गतहप्ता बसेको बैंठकले बैठकले सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु राखेर बस चलाउनेगरी निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने उक्त निर्णयको अझैपनि कार्यान्वयमा ल्याएका छैनन ।

मन्त्रिपरिषद् बैंठकले निर्णय गरेपनि सरकारी तर्फबाट कुनै आधिकारिक पत्र नआएकाले हालसम्म उक्त निर्णय कार्यान्वयनमा ल्याउन नसकेको काठमाडौंको गोंगबूस्थित नयाँ बसपार्कको व्यवस्थापन जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रवन्धक सुनिल कुँवर बताउँछन् । उनका अनुसार हालसम्म पनि सरकारले तोकेको पहिलेको भाडादरमा ५० प्रतिशत थपेर सिट संख्याको ५० प्रतिशतमात्रै यात्रु बोकिरहेका छन् ।

यसअघि व्यवसायीहरुले सरकारले नै हवाईजहाज र सडकमा गुड्ने सार्वजनिक यातायातको भाडा र यात्रुसंख्यामा मतभेद गरेको बताउँदै आएका थिए । सरकारले सोहीअनुसार निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने उक्त निर्णयको कार्यान्वयन गरिसकेका छैनन् ।

लामो रुटमा खाली खाली बस गुड्दै

अघिल्ला बर्षहरुमा यस्तै समयमा अर्थात दशैंको मौकामा दैनिक ५ देखि ६ सय ओटा बसहरु काठमाडौंबाट बाहिर जानका लागि छुट्थे । तर हाल उक्त संख्या घटेर दैनिक १ सय ८० ओटा बसमात्रै छुटिरहेको ल्होत्सेका महाप्रबन्धक कुँवर बताउँछन । उनका अनुसार उक्त १ सय ८० ओटा बसमा पनि प्रतिबस ८ देखि १२ जना मात्रै बाहिर जाने गरेका छन् । ‘गत बर्षहरुमा यही समयमा प्रतिदिन ७ देखि ९ हजारसम्म मानिसहरु काठमाडौं छोडेर बाहिर जान्थे, अर्थात प्रतिदिन ५ देखि ७ सय गाडीले पनि पुग्दैन थियो,’ उनले भने, ‘तर यो बर्ष पुरै खडेरी लागेको जस्तै छ ।’

उनका अनुसार कलेज, स्कुलहरु पहिल्यै बन्द भएपछि लकडाउनका अवधिमै काठमाडौंमा बस्ने प्राय विद्यार्थिहरु र डेरामा बस्नेहरु पहिल्यै गईसकेका कारण हाल यात्रुको संख्या कम भएको हो ।

दशैंपछि अनलाईन टिकेटिङको व्यवस्था गरिँदै

यातायात व्यवस्था विभागले मंगलबार मात्रै यातायात व्यवसायीहरुले अनलाई टिकेटिङको व्यवस्था गर्नेगरी नयाँ निर्देशिका जारी गरेको छ । जसका लागि बसपार्क व्यवस्थापकले समेत लामो तथा मध्यम दुरीमा चल्ने सार्वजनिक यातायातका लागि अनलाईन टिकेटिङको व्यवस्था गर्न लागेको हो ।

बसपार्क व्यवस्थापक ल्होत्सेको महाप्रवन्धक कुँवरका अनुसार हाल कोरोनाका कारण सफ्टवेयर निर्माणमा केही समस्या आएको र व्यवस्थापनमा पनि केही समस्याका कारण दशैपछि लगत्तै सफ्टवेयरमार्फत अनलाईन टिकेटिङको व्यवस्था गरिनेछ ।

हाल ल्होत्सेले बसपार्कमा डिजिटल सुचनापार्टी तथा कोरोनाका बेलामा सम्पुर्ण व्यवास्थासमेत मिलाईसकेको छ । ल्होत्सेका महाप्रवन्धक कुँवरका अनुसार अनलाईन टिकेटिङको सबै व्यवस्था भईसकेको र अब सफ्टवेयर आउनेवित्तीकै यात्रुहरुले अनलाईनमार्फत टिकट लिन पाउने व्यवस्था हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL