Logo

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, कारोबार रकम १ अर्ब नजिक

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, कारोबार रकम १ अर्ब नजिक



काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ५ अंकले उकालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक मंगलबार ५ अंकले बढ्दै १३ सय ४७ विन्दुमा पुगेको छ ।

पछिल्लो समय प्रतिदिन झिनो अंकले बढिरहेको सेयर बजारमा मंगलबार ७ समुहको परिसुचक ओरालो लाग्दा ५ समुहको परिसुचक भने उकालो लागेको छ । जसमा सबैभन्दा बढी गिरावट उत्पादन मुलक समुहको परिसुचकमा आएको छ । मंगलबार उत्पादनमुलक समुहको परिसुचक करिव २४ अंकले ओरालो लाग्दा जिवन बीमा समुहको परिसुचक १९ अंकले घटेको छ । यस्तै व्यापार समुहको परिसुचकमा १४ अंकको गिरावट आउँदा फाइनान्स समुहको परिसुचकमा भने ४ अंकको गिरावट आएको छ । साथै निर्जिवन बीमा समुहको परिसुचकमा पनि मंगलबार ६ अंकको गिरावट आएको छ । यस्तै विकास बैंक र अन्य समुहका परिसुचकमा पनि मंगलबार पहिरो गएको छ ।

तर बजारमा धेरै प्रभुत्व रहेको बैंकिङलगायत होटल, हाईड्रोपावर, म्युचुल फण्ड तथा माईक्रोफाईनान्स समुहको परिसुचक भने उकालो लागेका छन् । मंगलबार बैंकिङ समुहको परिसुचक ४ अंकले उकालो लाग्दा होटल समुहको परिसुचकमा भने ५५ अंकको उछाल आएको छ । यस्तै माईक्रोफाईनान्स समुहको परिसुचक ६४ अंकले उकालो लाग्दा हाईड्रोपावर समुहको परिसुचक २ अंकले उकालो लागेको छ ।

दिनभर उत्तारचढावसहित बढेको बजारमा १ सय ८६ कम्पनीका २५ लाख ६८ हजार १ सय २४ कित्ता सेयर कारोबार भएको छ । आज दिनभर बजारमा ९९ करोड ४५ लाख ४५ हजार १ सय ९ रुपैयाँको सेयर कारोबार भएको छ । आज २ कम्पनीको सेयरमूल्य १० प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL